टुरिजमलाई गाभेर मेगा बन्यो तेस्रो ठुलो बाणिज्य बैंक, खुद मुनाफा ३ अर्ब नघाउने लक्ष्य

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 13, 2018 | 04:24:18 PM मा प्रकाशित

laxmi  sunrise bank

टुरिजम डेभलपमेन्ट बैंकलाई प्राप्त गरी आजदेखि एकीकृत कारोबार थालेको मेगा बैंकले बार्षिक ३ अर्ब खुद मुनाफा कमाउने लक्ष्य राखेको छ। मर्जर कार्यक्रममा सम्बोधनका क्रममा बैंकका अध्यक्ष भोजबहादुर शाहले बैंकले पाँच बर्षिय रणनीतिक योजना तयार गरिसकेको जानकारी दिंदै आर्थिक बर्ष २०७८-०७९ मा खुद मुनाफा ३ अर्ब नघाउने बैंकको लक्ष्य भएको बताए।

आर्थिक बर्ष २०७४-०७५ लाई प्रस्थान बिन्दु मानेर बनाइएको पन्च बर्षिय रणनीतिक योजनामा मेगा बैंकले ०७४-७५ मा खुद मुनाफा १ अर्ब १६ करोड गर्ने र अन्तिम बर्षमा १३० अर्ब निक्षेप संकलन गरि १११ अर्ब कर्जा प्रवाह गरि ३ अर्ब खुद मुनाफा नघाउने मेगा बैंकले लक्ष्य लिएको अध्यक्ष शाहले जानकारी गराएका छन। 

अध्यक्ष शाहका अनुसार बैंकले कृषि, जलबिद्युत, भौतिक पूर्वाधार र विकास मुलक क्षेत्रमा लगानी बढाउदै लैजाने भएको छ। बैंकको पाँच बर्षिय योजना सुनाउदै अध्यक्ष शाहले भने, 'मर्जर पश्चात मेगा बैंक ३२ बाट ४९ जिल्लामा पुगेको छ, पाँच बर्ष भित्र सातवटै प्रदेशमा  मेगा बैंकको हेडक्वार्टर हुनेछ, ७७ जिल्लामै मेगा बैंकको उपस्तिथी हुनेछ,आर्थिक सम्भावनाका नयाँ क्षेत्रहरु पहिल्याउँदै कृषि, पर्यटन र जलविद्युतको क्षेत्रमा प्राथमिकताका साथ बैंकको मुख्य व्यावसायलाई केन्द्रित गर्छौं'    

बैदेशिक रोजगारीका लागि नेपालीहरु भएका देशहरुलाई प्राथमिकतामा राखी मेगा रेमिट संजाललाई बिस्तार गर्ने र बैदेशिक साझेदार समेत भित्र्याउने लक्ष्य रहेको अध्यक्ष शाहले बताएका छन। 'मर्जर पश्चात मेगा बैंकले ठुला परियोजना बिट गर्ने अवस्था सृजना भएको छ' अध्यक्ष शाहले भने।  

अध्यक्ष शाहका अनुसार, टुरिज्म डेभलपमेण्ट बैंकको १ कित्ता शेयर हुने शेयरधनीलाई गाभिए पछि मेगा बैंकको ०.९५ कित्ता शेयर प्रदान गर्ने गरी शेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) निर्धारण भएको छ । मेगा बैंकको यो दोस्रो मर्जर हो । यसअघि मेगा बैंकसँग बुटवलमा केन्द्रिय कार्यालय रहेको पश्चिमाञ्चल डेभलपमेन्ट बैंक गाभिएको थियो । त्यस्तै टुरिजम डेभलपमेन्ट बैंकले कालिन्चोक र मातृभूमि डेभलपमेन्ट बैंकलाई प्राप्त गरेको थियो।

संयुक्त मर्जर समितिका संयोजक एवं मेगा बैंक संचालक समितिका सदस्य गोपाल खनालले मर्जरपछि पुँजी, सामथ्र्य, नेटवर्क र व्यावसायिक प्रतिस्पर्धाका आधारमा मेगा बैंक देशकै उत्कृष्ट बैंक बन्ने बताए। मेगालाई अरु बैंक भन्दा पृथक बैंक बनाउन आफूहरु लागिपरेको भन्दै उनले  सातवटै प्रदेशमा बैंकको नेटवर्क विस्तार गर्न सफल भएको बताए।

मेगा बैंकका सिइओ अनुपमा खुञ्जेलीले टुरिजमका ३६ वटा शाखा थपिएपछि मेगा बैंकका शाखा कार्यालय ९१ वटा पुगेको जानकारी दिईन। ‘सबै स्थानीय तहहरुमा वाणिज्य बैंकको शाखा विस्तार गर्ने नेपाल सरकारको नीति बमोजिम यसै आर्थिक वर्षमा थप १७ वटा शाखाहरु खोल्ने कार्य भइरहेकोमा यसै महिनामा ८ वटा शाखाहरु सञ्चालनमा आइसकेका छन् भने बाँकी शाखाहरु पनि यसै आर्थिक वर्ष भित्र खोलिने गरी कार्य अघि बढिरहेको छ । साथसाथै अन्य २ स्थानमा पनि शाखा खोल्ने तयारीमा बैंक रहेको छ । यो सबै गरेर बैंकको शाखा सञ्जाल वृहत भई १०२ कायम हुनेछ’-उनले भनिन। 

‘मेगामा अब बैंकिङ्गमा प्रत्यक्ष संलग्न कर्मचारीको संख्या ८८६ पुगेको छ । म समस्त नेपालीहरुलाई विश्वास दिलाउन चाहन्छु यहाँहरुको वित्तीय आवश्यकतालाई परिपूर्ति गर्न बैंकका हरेक कर्मचारी सदैव तत्पर रहनेछन । जसको मूल उद्देश्य ग्राहकवर्गहरुको वित्तीय आवश्यकता पूरा गर्नु नै हुनेछ ।’– सिइओ खुञ्जेलीले भनिन।  

मर्जरअघि मेगा बैंकको चुक्ता पुँजी ७ अर्ब ३७ करोड र टुरिजम डेभलपमेन्ट बैंकको २ अर्ब १ करोड रहेको थियो । तर, शेयर आदानप्रदान अनुपात समायोजनपछि थप भएको १ अर्ब ९१ करोडको चुक्ता पुँजीसहित मर्जरपछि मेगाको चुक्ता पुँजी ९ अर्ब २९ करोड कायम भएको छ । १० करोड रुपैँया पुँजीगत जगेडामा थप भएको छ ।

यसैगरी, मर्जरपछि मेगा बैंक चुक्ता पुंजीको हिसाबले तेस्रो ठुलो बाणिज्य बैंक बनेको छ भने बैंकको निक्षेप ५७ अर्ब ५५ करोड रुपैँया पुगेको छ। त्यस्तै कर्जा ५५ अर्ब ७० करोड रुपैँया कायम भएको छ । अब मेगा बैंक वाणिज्य बैंकहरु मध्ये निक्षेपमा २४औं र कर्जामा २२औं स्थानमा रहेको छ । यसअघि बैंकको स्थान क्रमशः २६औं र २७औं रहेको थियो । 

मेगा बैंकको देशभर ९१ वटा शाखा, ७४ वटा एटीएम सञ्जाल र १८ सयभन्दा बढी मेगा रेमिट एजेण्ट छन् । मेगाका ५८ वटा शाखारहित केन्द्रहरु सञ्चालनमा रहेका छन् भने थप ६१ वटा केन्द्रहरु स्थापना गर्ने प्रक्रियामा रहेको छ । यसैगरी, मर्जरपछि एक्सटेन्सन काउन्टरको संख्या ८ पुगेको छ भने थप १२ वटा एक्सटेन्सन काउन्टर खोल्ने प्रक्रिया अघि बढाइएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved