के कारणले कारोबार भयो सुस्त ? यस्तो छ बोर्ड, ब्रोकर र लगानीकर्ताको धारणा

अनलाइनबाट केवाईसी भर्न मिल्ने ब्यबस्था गर्न लगानीकर्ताको माग
शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 15, 2018 | 04:18:30 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबारको शेयर बजारमा कारोबारमा सुस्त रहनुको कारणबारे ब्रोकर र लगानीकर्ताको धारणा बाझिएको छ । आज बजारमा  १४ करोड ९२ लाख रुपैयाँको मात्र कारोबार भएको छ। कारोबार रकम निकै सुस्त भएपछि ग्राहक पहिचान विवरण (KYC) को बिषयले अत्यधिक चर्चा पाएको छ ।  

नेपाल धितोपत्र बोर्डले फागुन ७ गते निर्देशन जारी गर्दै ग्राहक पहिचान विवरण (KYC) नविकरण गर्नेले मात्र कारोबार गर्न पाउने व्यवस्था लागु गर्ने निर्णय गरेको थियो । जस अनुसार बोर्डले २ साताअघि केवाईसी नवीकरण नगराउने लगानीकर्तालाई सेयर कारोबारमा संलग्न नगराउन सेयर दलाल व्यवसायीलाई निर्देशन दिएको थियो । बोर्डले वैशाख मसान्तभित्र ग्राहक पहिचान विवरण नविकरण गराउनेले मात्र जेठ १ गतेदेखि कारोबार गर्न पाउने ब्यबस्था गर्न निर्देशन दिएको थियो ।

बजारमा हाल १२ लाख भन्दा बढी लगानीकर्ताभए पनि केहि हजारले मात्र केवाईसी भरेको र नभर्ने लाखौ लगानीकर्ताले कारोबार गर्नै नपाएको बुझिएको छ । लगानीकर्ताले बोर्डले केवाईसी भर्नको लागि बोर्डले एकदमै छोटो समय छुट्याएको गुनासो गरेका छन् । तर बोर्डका सहायक प्रवक्ता निरंजय घिमिरेले बोर्डले दिएको समय पर्याप्त भएको दाबी गरेका छन् । घिमिरेले भने 'बोर्डले दिएको समय पर्याप्त थियो, तर लगानीकर्ताले समयमा नगर्ने र अन्तिम समयलाई नै कुरेर बस्दा समस्या भएको हुन सक्छ, आज मात्रै १० हजार भन्दा बढीले विवरण भरेर कारोबार गरेका छन्' । 

नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मी पनि घिमिरेको भनाईमा सहमत छन् ।  उनले भने 'बोर्डले दिएको समय पर्याप्त थियो,  केवाईसी कै कारणले कारोबार रोकिएको  होइन' । त्यस्तै उनले बोर्डले निर्देशन दिए लगत्तै आफुहरुले एसएमएस, फोन , इमेल, नोटिस लगायतका माध्यमबाट यस बिषयमा लगानीकर्तालाई जानकारी गराएको र आज पनि केवाईसी भर्दै कारोबार गर्नेको संख्या ठुलो रहेको बताएका छन् ।

नेपाल इनभेस्टर फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडेल पनि आफुहरुले निरन्तर लगानीकर्तालाई यस बिषयमा जानकारी गराएको बताउछन् । उनले भने 'हामीले जानकारी गराईरहेका थियौ, लगानीकर्ताहरुले म्याद थपको आशामा समय मै विवरण नभरेका हुन्' ।

पौडेलले बजार केहि दिन मै लयमा फर्कने र अहिले केवाईसीको कारणले भन्दा पनि लगानीकर्ता नीति तथा कार्यक्रमलाई पर्खेर बसेकाले बजार सुस्त देखिएको बताए ।

पुंजीबजार लगानीकर्ता संघका संयोजक नवराज सुवेदीले भने यस बिषयमा फरक धारणा राखेका छन् । उनी भन्छन 'बोर्डले विवरण अद्यावधिक गर्नको लागि दिएको समय एकदमै कम भयो, कम्तिमा पनि चालु आर्थिक बर्षभरी नै लगानीकर्ताले विवरण भर्न पाउनुपर्थ्यो'। उनका अनुसार धेरै सक्रिय लगानीकर्ताहरु ब्रोकर अफिसको पहुच भन्दा बाहिर ।    राजधानीमा केन्द्रित रहेका ब्रोकर अफिसमा आएर विवरण भर्नको लागि बोर्डले दिएको समय लगानीकर्ताको लागि पर्याप्त नभएको सुबेदी बताउछन् । उनले बोर्डसंग दिर्घकालिन योजना बनाउदै अनलाइनबाट पनि विवरण भर्न पाउने ब्यबस्था ल्याउन माग समेत गरेका छन्  । केवाईसीको कारण र लगानीकर्ताले नीति तथा कार्यक्रमलाई पर्खेर बसेको कारणले कारोबार सुस्त भएको सुवेदीको भनाई छ । 

बोर्डले केवाईसीको बिषयमा लगानीकर्तालाई जानकारी गराउने क्रममा लापरबाही गरेको सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालको आरोप छ । अर्याल भन्छन 'बोर्डले सूचना प्रवाहमा तदारुकता देखाएँन, सरोकारवालाले लगानीकर्तालाई सुसुचित गराउने काममा चुकेका छन्' ।  

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved