26 May, 2018 | १२ जेठ २०७५ | शनिवार






Bizpati Reporter

Follow us on

२४ प्रतिशतले घट्यो नेप्से सूचक, लगानीकर्ताले गुमाए ३ खर्ब ४४ अर्व

Posted on:May 17, 2018

citizen bank

चालु आर्थिक बर्षको ९ महिनाको अवधिमा नेप्से सूचक २४.७ प्रतिशतले घटेको छ भने कारोबार रकम ७१ प्रतिशतले घटेको छ । चालु आर्थिक बर्षको नौ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दे राष्ट्र बैकले यस्तो तथ्यांक सार्बजनिक गरेको हो ।

नेप्से सूचकाङ्क वार्षिक विन्दुगत आधारमा २४.७ प्रतिशतले ह्रास भई २०७४ चैत्र मसान्तमा १२७७.६ विन्दुमा सीमित भएको राष्ट्र बैंकले जनाएको छ । २०७३ चैत्र मसान्तमा उक्त सूचकाङ्क २२ प्रतिशतले वृद्धि भई १६९७.१ विन्दु पुगेको थियो । २०७४ असार मसान्तमा भने नेप्से सूचकाङ्क १,५८२.७ विन्दुकायम भएको थियो ।

त्यस्तै धितोपत्र बजार पूँंजीकरण वार्षिक विन्दुगत आधारमा २३.२ प्रतिशतले ह्रास भई २०७४ चैत्र मसान्तमा रु. १,४९७ अर्ब ८० करोड कायम भएको जनाएको छ । बजार पूँजीकरण अनुपात २०७३ चैत्र मसान्तमा ३०.४ प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष २०७४÷७५ को अनुमानित कुल गार्हस्थ्य उत्पादनसँग समीक्षा अवधिको बजार पूँजीकरणको अनुपात ४९.८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ७३.८ प्रतिशत रहेको थियो । बजार पूँजीकरणमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरुको अंश ८१.३ प्रतिशत रहेको छ भने जलविद्युत् क्षेत्रको ४.४ प्रतिशत, उत्पादन तथा प्रशोधन क्षेत्रको २.७ प्रतिशत, होटलहरूको १.६ प्रतिशत, व्यापारिक संस्थाहरूको ०.१ प्रतिशत र अन्यको ९.८ प्रतिशत रहेको छ ।

२०७४ चैत्रमा कुल शेयर कारोबार रकम ७१ प्रतिशतले ह्रास आई रु. ८ अर्ब ५० करोडमा सीमित भएको छ । यस्तो कारोबार रकम २०७३ चैत्र मा १०७.२ प्रतिशतले वृद्धि भई रु. २ अर्ब ९३ करोड पुगेको थियो । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७४ चैत्र मसान्तमा १९६ रहेको छ । २०७३ चैत्र मसान्तमा यस्तो संख्या २१० रहेको थियो । केही बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा मर्ज भएका कारण सूचीकृत कम्पनीहरुको संख्या घट्न गएको हो । सूचीकृत कम्पनीहरूमध्ये १४८ वटा बैंक तथा वित्तीय संस्था (बीमा कम्पनी समेत) रहेका छन्भने १८ वटा उत्पादन र प्रशोधन उद्योग, १८ वटा जलविद्युत्कम्पनी, ४÷४ वटा होटल तथा व्यापारिक संस्था र ४ वटा अन्य समूहका रहेका छन्।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत शेयरहरूको चुक्ता मूल्य वार्षिक विन्दुगत आधारमा २५.८ प्रतिशतले वृद्धि भई २०७४ चैत्र मसान्तमा रु. ३३९ अर्ब २९ करोड पुगेको छ । समीक्षा अवधिमा रु. ३० अर्ब २१ करोड बराबरको साधारण शेयर, रु. २७ अर्ब २४ करोड बराबरको हकप्रद शेयर, रु. २३ अर्ब ७३ करोड बराबरको बोनस शेयर र रु. ३६ अर्ब ४७ करोड बराबरको सरकारी ऋणपत्र गरी कुल रु. ११८ अर्ब २७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

Share your thoughts!

Loading...

Trending