रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्बसाधारणको लागि निष्काशन गरेको आईपिओ आज बुधबार बाँडफांड भएको छ । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले बुधबार बिहान ८ :३० बजे क्यापिटल कै कार्यालयमा शेयर बाँडफांड गरेको हो ।
कम्पनीले बैशाख ३१ गतेदेखि ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता आइपिओ निष्काशन गरेको हो । जस मध्ये ३३ हजार ६ सय कित्ता कर्मचारीलाई सुरक्षित गरिएको थियो भने म्युचल फण्डलाई ४२ हजार कित्ता सुरक्षित गरिएको थियो । बाँकि ७ लाख ६४ हजार ४ सय ४० कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका थिए ।
सर्बसाधारणलाई छुट्याइएको ७ लाख ६४ हजार ४ सय ४० कित्ताको लागि १ लाख ७५ हजार ४ सय ७२ जनाले आवेदन दिएका थिए । जसमा १ सय ९४ आवेदन रद्द भई १ लाख ७५ हजार २ सय ७८ आवेदन मात्र योग्य भएका थिए । कुल आवेदक मध्ये गोलाप्रथाबाट ७६ हजार ४ सय ४० जनाले १० कित्ताको दरले शेयर पाएका छन् ।
आइपिओमा १७ गुणा भन्दा बढी आवेदन परेकाले आवेदन दिएका ९९ हजार ३२ जना खाली हात भएका छन् । आईपिओको नतिजा केहि समयपछि बिजपाटीमा प्रकाशित हुनेछ ।
कम्पनीले यस अघि गत जेठमा आयोजना प्रभावित पाँचथर र ताप्लेजुङका स्थानीयबासीका लागि ५ लाख ६० हजार कित्ता आइपीओ जारी गरेर बाँडफाँड समेत गरिसकेको छ ।रैराङले पाँचथर र ताप्लेजुङको सिमा क्षेत्रमा ९.९ मेगावाटको इवाखोला जलविद्युत आयोजना निमार्ण गरेको छ ।
कम्पनीको अधिकृत पुंजी १ अर्ब रहेको छ भने चुक्ता पुंजी ४२ करोड रहेको छ । सर्बसाधारणलाई आईपियो निष्काशनपछि कम्पनीको चुक्ता पुंजी ५६ करोड पुग्ने छ भने संस्थापक र सर्बसाधारणको शेयर स्वामित्व ७५:२५ पुग्ने छ ।