एनएमबि बैंकले जेठ ३० गतेदेखि फर्थर पब्लिक अफरिंङ (एफपीओ) निष्काशन गर्ने भएको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा २ सय ३३ रुपैया प्रिमियम थप गरी प्रति शेयर ३ सय ३३ रुपैयाँमा एफपिओ निष्काशन गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले गत शुक्रबार बैंकलाई एफपिओ निष्काशनको अनुमति दिएको थियो ।
बैंकले अब एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ निष्काशन गर्ने छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५७ हजार ७० कित्तासम्म आबेदन दिन सक्ने बिक्रि प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ। एफपिओमा छिटोमा असार ३ गतेसम्म आवेदन दिन सकिने छ। यदि उक्त अवधिमा आवश्यक आवेदन नपरेको खण्डमा असार २८ गतेसम्म आवेदन दिन सकिने छ ।
लगानीकर्ताले सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखाबाट आवेदन दिन सक्ने छन् । त्यस्तै मेरो शेयरमार्फत अनलाइनबाट समेत आवेदन दिन सकिने छ ।
हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ४६ करोड १७ लाख ७४ हजार रुपैयाँ छ । एफपीओ निष्काशन पश्चात बैंकको चुक्ता पूँजी ७ अर्ब ६० करोड ३२ लाख ९० हजार रुपैयाँ पुग्छ । एफपिओ बिक्रिबाट बैंकले प्रिमियम वापत २ अर्ब ६५ करोड रुपैयाँ जम्म गर्ने छ । हाल कायम भएको जगेडा कोषमा प्रिमियमबाट उठेको रकम थप गरी बोनस दिएर बैंकले चुक्ता पुंजी ८ अर्ब पुर्याउने छ । यसको लागि बैंकले न्यूनतम ६ प्रतिशत बोनस दिनु पर्ने छ ।