१० महिनामा लगानीकर्ताले गुमाए ३ खर्ब ५६ अर्ब, १९ प्रतिशतले घट्यो सूचक

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 10, 2018 | 03:15:57 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक बर्षको दश महिनाको अवधिमा शेयरबजारका लगानीकर्ताले ३ खर्ब ५६ अर्ब गुमाएका छन् । नेपाल राष्ट्र बैंकले बैशाखसम्म चालु आर्थिक बर्षको १० महिनासम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दे यस्तो तथ्य सार्बजनिक गरेको हो  । राष्ट्र बैंकका अनुसार धितोपत्र बजार पूँंजीकरण वार्षिक विन्दुगत आधारमा १८.५ प्रतिशतले ह्रास आई २०७५ बैशाख मसान्तमा रु.१,५७० अर्ब २७ करोड कायम भएको छ । बजार पूँजीकरण २०७४ वैशाख मसान्तमा २०.५ प्रतिशतले वृद्धि भएको थियो । 

आर्थिक वर्ष २०७४÷७५ को कुल गार्हस्थ्य  उत्पादनसँग समीक्षा अवधिको बजार पूँजीकरणको अनुपात ५२.२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ७२.९ प्रतिशत रहेको थियो । बजार पूँजीकरणमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरुको अंश ८१.२ प्रतिशत रहेको छ भने जलविद्युत् क्षेत्रको ४.६ प्रतिशत, उत्पादन तथा प्रशोधन क्षेत्रको २.६ प्रतिशत, होटलहरूको १.७ प्रतिशत, व्यापारिक संस्थाहरूको ०.१ प्रतिशत र अन्यको ९.९ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा नेप्से सूचकाङ्क १९.३ प्रतिशतले घटेको छ । नेप्से सूचकाङ्कमा वार्षिक विन्दुगत आधारमा १९.३ प्रतिशतले ह्रास भई २०७५ बैशाख मसान्तमा १३३८.२ विन्दुमा सीमित भएको हो।  २०७४ बैशाख मसान्तमा उक्त सूचकाङ्क १२ प्रतिशतले वृद्धि भई १६५८.६ विन्दु पुगेको थियो । २०७४ असार मसान्तमा भने नेप्से सूचकाङ्क १,५८२.७ विन्दु कायम भएको थियो । 

२०७५ वैशाखमा कुल शेयर कारोबार रकम २५.२ प्रतिशतले ह्रास भई रु.१२ अर्ब ७८ करोड कायम भएको छ । यस्तो कारोबार रकम २०७४ वैशाखमा ५ प्रतिशतले ह्रास भई रु.१७ अर्ब ८ करोड रहेको थियो । 

प्रतिवेदन अनुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७५ वैशाख मसान्तमा १९६ रहेको छ । २०७४ वैशाख मसान्तमा यस्तो संख्या २१० रहेको थियो । केही बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा मर्ज भएका कारण सूचीकृत कम्पनीहरुको संख्या घट्न गएको हो । सूचीकृत कम्पनीहरूमध्ये १४८ वटा बैंक तथा वित्तीय संस्था (बीमा कम्पनी समेत) रहेका छन् भने १८ वटा उत्पादन र प्रशोधन उद्योग, १८ वटा जलविद्यु कम्पनी , ४÷४ वटा होटल तथा व्यापारिक संस्था र ४ वटा अन्य समूहका रहेका छन्।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत शेयरहरूको चुक्ता मूल्य वार्षिक विन्दुगत आधारमा २३.७ प्रतिशतले वृद्धि भई २०७५ वैशाख मसान्तमा रु.३४० अर्ब ८६ करोड पुगेको छ । समीक्षा अवधिमा रु.४७ अर्ब ४७ करोड बराबरको साधारण शेयर, रु.२९ अर्ब २६ करोड बराबरको हकप्रद शेयर, रु.३० अर्ब १२ करोड बराबरको बोनस शेयर र रु.३६ अर्ब ४७ करोड बराबरको सरकारी ऋणपत्र समेत गरी कुल रु.१४३ अर्ब ९४ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved