मकवानपुरवासीका लागि शिबम सिमेन्टको आइपीओमा लगानी कति प्रतिफलमुलक ? (विश्लेषण)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 30, 2018 | 11:00:39 AM मा प्रकाशित

laxmi  sunrise bank

शिवम सिमेन्टले आयोजना प्रभावित मकवानपुरका स्थानीयलाई साउन १३ गतेदेखि अंकित मुल्यमा २०० रुपैयाँ थपेर प्रतिकित्ता ३०० रुपैयाँमा साधारण सेयर बिक्रि खुला गरेको छ। स्थानीयलाई आइपीओ बाँडफाँड पश्चात सर्वसाधारणका लागि प्रति कित्ता ४०० रुपैयाँमा आइपीओ जारि हुनेछ। 

सन २००३ मा स्थापना भई २०११ देखि उत्पादन थालेको शिबम सिमेन्ट २०१५ मा पब्लिक कम्पनीमा रुपान्तरण भएको कम्पनी हो। पब्लिक कम्पनीमा रुपान्तरण भएको करिब ३ बर्षपछि स्थानीयबासी तथा सर्वसाधारणका लागि बिक्रि खुला गरिएको शिबमको आइपीओ चर्चाको बिषय बनेको छ। हाललाई स्थानीयबासिका लागि बिक्रि खुला गरिएको आइपीओमा लगानी गर्ने नगर्नेबारे मकवानपुरबासिहरुमा एक किसिमको अन्यौलता देखिएको छ।

मकवानपुरबासिले अंकित मुल्य १०० रुपैयाँमा नै शिबम सिमेन्टको सेयर पाउने अपेक्षा गरेका थिए। यद्दपी कम्पनीले बिगत लामो बर्षदेखि उत्पादन थालेर मुनाफा समेत कमाउदै आएकाले नेपाल धितोपत्र बोर्डको मापदण्ड पुरा गरि अंकित मुल्यमा २०० थपेर मकवानपुरबासिलाई प्रति कित्ता ३०० रुपैयाँमा शेयर बिक्रि गरिरहेको छ।  

अपेक्षा भन्दा प्रति कित्ता २०० बढी तिर्नुपर्दा मकवानपुरबासिले नाफा र घाटाको हिसाब गर्नु स्वाभाविक नै देखिन्छ। प्रिमियममा किनेको शेयर बाँडफाँड भएको तीन बर्षसम्म दोस्रो बजारमा बिक्री गर्न नपाईने र त्यसलाई धितो राखेर कर्जा लिन पनि नपाईने धितोपत्र सम्बन्धी नियमका कारण मकवानपुरबासिका लागि यो लगानी कति प्रतिफलमुलक छ त ?

शिबम सिमेन्टले जारि गरेको विवरणपत्रलाई आधार मान्ने हो भने आगामी तीन बर्षसम्म चुक्ता पुंजी वृद्धि नहुने कम्पनीको विवरणपत्रमा उल्लेख छ।  अाईपिओ बाँडफाँडपछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ हुनेछ भने आर्थिक बर्ष ०७६-०७७ मा पनि कम्पनीको चुक्ता पुंजी ४ अर्ब ४० करोड हुने उल्लेख छ। 

यस तथ्यलाई आधार मान्ने हो भने कम्पनीले आगामी तीन बर्षसम्म नगद लाभांशलाई जोड दिएको छ। कम्पनीले आईपीओ बिक्री गरेको बर्षमा १० प्रतिशत, दोस्रो बर्ष १५ प्रतिशत र तेस्रो बर्ष २० प्रतिशतका दरले नगद लाभांश दिनसक्ने सम्भावना ब्यक्त गरेको छ।  विवरणपत्र अनुसार कम्पनीले तीन बर्षमा ४५ प्रतिशतसम्म नगद लाभांश दिने घोषणा गरेको छ। यद्दपी कम्पनीले अहिले प्रिमियममा प्राप्त रकमलाई पुंजिकृत गर्नुपर्ने हुँदा उसले मिश्रित लाभांश (बोनस र नगद) दिन सक्नेछ। 

प्रतिफलका हिसाबले तुलना गर्ने हो भने आजका दिनमा २० प्रतिशत नगद लाभांश दिनसक्ने कम्पनीको शेयर दोस्रो बजारमा २०० रुपैयाँमा   छानीछानी किन्न पाइने अवस्था छ। तर क्षेत्रगत हिसाबले हेर्ने हो भने शेयर बजारमा शिबम सिमेन्टको प्रकृतिसंग मिल्दा कम्पनी बोटलर्स नेपाल र युनिलिभर नेपालको शेयर मुल्य महंगा छन, भोलिका दिनमा शिबमको शेयर मुल्य पनि त्यो उचाईमा पुग्न सक्ने कुरालाई नकार्न सकिन्न।

ईक्रा नेपालले शिवमको शेयरलाई ग्रेड थ्री प्लस रेटिङ्ग दिएको छ। यसले कम्पनीको वित्तीय अवस्था औषत छ भन्ने जनाउँछ। कम्पनीले आफ्नो स्थापनाकाल देखि अहिलेसम्म गरेको प्रगतिलाई हेर्ने हो भने उसले आगामी दिनमा उल्लेख प्रगति गर्न सक्ने कुरालाई नकार्न सकिदैन। २०७१-७२ मा चुक्ता पुंजी १ अर्ब २५ करोड रहेकोमा अहिले कम्पनीको चुक्ता पुंजी ३ अर्ब ८७ करोड रहेको छ। त्यस्तै कम्पनीले  ०७१-०७२ मा ४१ करोड १५ लाख खुद मुनाफा गरेको छ भने ०७३-७४ मा ८१ करोड १३ लाख खुद मुनाफा गरेको छ। त्यस्तै कम्पनीले आफ्नो ब्यापार बिस्तार र उत्पादनलाई समेत उल्लेख्य प्रगति हासिल गरेको छ। सुरुमा ७०० मेट्रिक टन (प्रति दिन) सिमेन्ट र १२०० मेट्रिक टन क्लिन्कर उत्पादन गरेको कम्पनीले आजको दिनमा ३००० मेट्रिक टन सिमेन्ट र १९०० मेट्रिक टन क्लिन्कर उत्पादन गर्छ।    

आफ्नो ब्यापार बिस्तारका लागि कम्पनीले नवलपरासीमा चीनको होङ्सी सिमेन्टसँगको साझेदारीमा ठूलो कारखाना स्थापना गर्दा ३० प्रतिशत हिस्सेदारी हालेको छ र त्यहाँपनि उसले आफ्नो लगानी बढाउने लैजाने अपेक्षा छ। ठूलो लगानीमा सञ्चालित होङ्सीको प्रतिफल आउन ३–४ वर्ष अझै लाग्ने देखिएपनि भोलिका दिनमा त्यसको प्रतिफलको केहि हिस्सा (अहिलेलाई ३० प्रतिशत) शिबम सिमेन्टमा आउनेछ।

स्थानीयहरुले न्युनतम १० कित्ता र अधिक्तं १० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन। लगानीकर्ताले भदौ ११ सम्म आवेदन दिन सक्ने छन्  ।  तर सीआश्वाको अनलाइन बाट भने आवेदन दिन पाइने छैन। कम्पनीले तोकेको केन्द्रबाट आवेदन फारम लिएर त्यहि बुझाउनु पर्ने छ। 

आाधारभूत पक्षहरुको विश्लेषण:

१) प्रतिशेयर आम्दानी (इपिएस) — विगत तीन वर्षको औसत प्रतिशेयर आम्दानी ३४.८५ रुपैयाँ देखिन्छ भने चालु आवमा २६ रुपैयाँ तथा यस पछि पनि ३० रुपैयाँभन्दा बढी प्रति शेयर आय हुने अनुमान गरिएको छ ।

२) नेटवर्थ — कम्पनीले आम्दानीको ठूलो हिस्सा संचित जगेडामा राख्ने गरेको उसको नेटवर्थले देखाएको छ । यसको विगतको औसत नेटवर्थ रु १५० माथि रहेकोमा आगामी दिनमा अझ बढेर रु. २०० माथि हुने अनुमान कम्पनीले गरेको छ।

३) मूल्यआम्दानी अनुपात (पिई) — कम्पनीको शेयर धितोपत्र बजारमा कारोवार भईनसकेको आधारमा यसको वास्तविक मूल्यआम्दानी अनुपात निस्कदैन । तर सार्वजनिक निष्कासनको मूल्यको आधारमा पिई गणना गर्दा स्थानीयको लागि ११.५४ र सर्वसाधारणको लागि १५.३८ हुने देखिन्छ । सामान्यरुपमा हेर्दा तोकिएको मूल्य ठिकै देखिन्छ । सामान्यतः पिई १० सम्मलाई सस्तो, ११ देखि १५ लाई ठिकै मान्ने प्रचलन रहेको छ ।

४) लाभांस भुक्तानी — कम्पनीले आम्दानीको ठूलो हिस्सा संचितकोषमा राख्ने गरेको हुँदा उसको विगतको लाभांस भुक्तानी अनुपात (डिभिडेण्ड पेआउट रेसियो) करिव ३० प्रतिशत हाराहारी रहेको देखिन्छ भने आव २०७४÷७५ को लागि प्रस्तावित लाभांस १०.५३ को आधारमा यस्तो अनुपात ४० प्रतिशत रहने देखिन्छ । यस पछिको वर्षमा भने प्रतिशेयर आम्दानीको ४५ प्रतिशत भन्दा बढी लाभांसको रुपमा बाँड्ने जनाएको छ ।

५) लगानीमा प्रतिफल — डिभिडेण्ड यिल्ड अर्थात् लागतको आधारमा वास्तविमा भुक्तानी प्राप्त प्रतिफल स्थानीयले ४ प्रतिशत र सर्वसाधारणले ३ प्रतिशतको दरमा पाउने देखिन्छ । यो भने केही कम हो, तर कम्पनीको वास्तविक आम्दानी र आवश्यकताका आधारमा लाभांस दरमा परिवर्तन भएसँगै प्रतिफल दर समेत घटबढ हुने संभावना रहन्छ ।

निष्कर्ष:

विगतको र प्रक्षेपित आधारभूत पक्षहरुलाई मनन गर्दा शिवम् सिमेन्टको शेयर खरिद गर्न उपयुक्त नै देखिन्छ। तर बलियो नियामक नभएको र पब्लिक कम्पनीहरुले सुशासन र वित्तिय पारदर्शिताको सन्दर्भमा विगतमा निकै प्रश्न उठेको मात्र होइन, कैयौं ख्याति कमाएका कम्पनीहरु समेत हराएका वा डुबाइएको सन्दर्भमा यस कम्पनीमा समेत सुशासन, वित्तिय पारदर्शिता र बजारमा उपस्थितिको प्रश्न र आशंका स्वाभाविक मान्न सकिन्छ । यसैले कम्पनीको शेयर किन्ने वा नकिन्ने कम्पनी प्रतिको विश्वास, आफ्नो जोखिम वहन क्षमता, लगानी रकमको स्रोतको आधारमा निर्णय लिनु उपयुक्त हुनेछ ।

  


 








Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved