अधिकांश जलविद्युत् कम्पनीका शेयरमूल्य ओरालो लाग्दै, नेशनलको अवस्था सबैभन्दा नाजुक

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 31, 2018 | 06:00:08 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नेपालको पानी जनताको लगानी, घर घरमा बिजुली, जन जनमा शेयरको अवधारणा लागू गरेर सबै नेपाली नागरिकलाई शेयर उपलब्ध गराउने योजना अगाडि बढाएको छ । सबै नागरिकलाई शेयर दिने र जलविद्युत् आयोजनाको स्वामित्व महसुस गराउने योजना बनाए पनि नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका १९ जलविद्युत् कम्पनीमध्ये एकाध कम्पनीको मात्रै शेयर मूल्य रु ५०० भन्दा माथि छ । धेरैजसो कम्पनीको शेयर मूल्य न्यूनतम बिन्दुमा छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार चिलिमे जलविद्युत् कम्पनीको मात्रै शेयर मूल्य रु ७४० छ । यस्तै बुटवल पावर कम्पनीको मूल्य रु ४३६ छ । बाँकी रहेका १६ वटा कम्पनीको शेयर मूल्य निरन्तर ओरालो लागिरहेको छ । 

गत फागुनमा थप शेयर निष्काशन गरेपछि बुटवल पावर कम्पनीको शेयरसमेत बजारमा निरन्तर ओरालो लागिरहेको छ । सरकारले सबै नागरिकलाई शेयर उपलब्ध गराउने बताइरहँदा शेयर बजारमा भने जलविद्युत् कम्पनीको उपस्थिति चिन्ता गर्नुपर्ने अवस्थामा पुगेको छ । नेशनल हाइड्रो पावर कम्पनीको शेयर त खरीद मूल्यभन्दा पनि तल झरेको छ । सो कम्पनीको प्रतिकित्ता शेयर रु ८६ मा खरीद बिक्री भइरहेको छ । गत वर्ष रु ६५६ मूल्यमा खरीद बिक्री भएको अपि पावर कम्पनीको शेयर हाल रु २७४ मा खरीद बिक्री भइरहेको छ । यस्तै अरुण कोबेलीको रु २५५, अरुण भ्यालीको रु १४०, बरुण हाइड्रोपावर कम्पनीको शेयर रु १४१ मूल्यमा खरीद बिक्री भइरहेको छ । 

निरन्तर ओरालो लागेको शेयर बजारमा अरु समूहजस्तै जलविद्युत् कम्पनीको शेयर मूल्य पनि ओरालो लागेको छ । यस्तो अवस्थाले ठूला लगानीकर्तालाई तत्काल बेफाइदा नभए पनि साना लगानीकर्तालाई भने समस्या पारेको छ । स्टकका अनुसार छ्याङ हाइड्रो पावरको शेयर रु १२८ मा खरीद बिक्री भइरहेको छ । हिमालयन पावर पार्टनरको रु २७४, खानीखोला हाइड्रो पावरको रु १०६ मा शेयर खरीद बिक्री भइरहेको छ । सो कम्पनीको शेयर गत वर्ष पनि रु २०५ बिक्री भएको थियो । यस्तै नेपाल हाइड्रो डेभलपमेन्टको रु १६५, न्यादी समूहको रु १६०, राधी विद्युत् कम्पनीको रु २३२, रैराङ हाइड्रोको रु १५५, रिडी हाइड्रो पावरको रु १२२, सानिम माइको रु ३१९, सिनर्जी पावरको रु ११८ र युनाइटेड मोदीको प्रतिकित्ता रु १६६ मा शेयर खरीद बिक्री भएको छ । 

शेयर बजारमा जलविद्युत् कम्पनीको शेयर नाजुक अवस्थामा नै छ । पछिल्लो समय विभिन्न बैंक तथा वित्तीय संस्थाले हकप्रद तथा बोनस शेयर वितरण गर्ने प्रक्रियालाई तीव्रता दिएका कारण पनि शेयर बजारमा दबाब परेको छ । शेयर बजारमा जलविद्युत् कम्पनीका शेयर लगातार गिरावट भइरहँदा नेपाल धितोपत्र बोर्डले विभिन्न १० वटा जलविद्युुत् कम्पनीलाई गत आवमा साधारण शेयर बिक्रीका लागि अनुमति दियो । यस्तै शेयर बिक्रीको तयारीमा रहेका कम्पनीको संख्या ११ छन् । शेयर बजारको नियामक निकाय उक्त बोर्डले भने लगानीकर्ताले आफ्नै विवेक प्रयोग गरेर कुन कम्पनीको शेयरमा लगानी गर्ने भन्ने निक्र्योल गर्दा राम्रो हुने सुझाव दिएको छ । 

बजार घट्दैमा आत्तिने र बजार बढ्दैमा मात्तिने अवस्था नरहेको भन्दै विवेक प्रयोग गरेर शेयर खरीद गर्दा उपयुक्त हुने र बजारले नै मूल्य निर्धारण गर्ने भएकाले लगानीकर्ता नै जिम्मेवार बन्नुपर्ने बोर्डका प्रवक्ता नीरज गिरीको भनाइ छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved