अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज भदौ २१ गते अन्तिम दिन रहेको छ । यस अघि स्थानीयवासी र दोलखा जिल्ला समन्वय समितिको आग्रहमा ७ दिन म्याद थप गरिएकोमा थपिएको म्यादको पनि आज अन्तिम दिन हो ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय दोलखावासीलाई असार १६ गते बुधबारदेखि आईपिओ निष्काशन गरेको हो । कम्पनीले प्रति साधारण शेयर १०० अंकित दरका कुल २ करोड ६४ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न लागेकोमा स्थानीयको लागि १ करोड ५ लाख ९० हजार कित्ता शेयर छुट्याइएको हो । नेपालको पुंजीबजारमा आएको यो नै (शेयर संख्या र रकमको हिसाबले) सबै भन्दा ठुलो आईपिओ हो ।
स्थानीयहरुले न्युनतम ३० कित्ता र अधिकतम ३ सय कित्ताको लागि आवेदन दिन सक्ने छन् । आईपिओको लागि नागरिक लगानी कोष र सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेका छन् ।
कम्पनीले आयोजना प्रभावित स्थानीयहरुलाई क , ख र ग गरी ३ वर्गमा बर्गिकरण गरेको छ । अति प्रभावितलाई क बर्ग , प्रभावितलाई ख वर्ग र कम प्रभावितलाई ग वर्ग गरी ३ तहको बर्गिकरण गरिएको हो । यसै अनुसार फरक फरक बर्गका आवेदकलाई छुट्टाछुट्टै फारमको ब्यबस्था गरिएको छ । अति प्रभावितहरुलाई हरियो रङ्गको आवेदन फारम, प्रभावितहरुलाई निलो रङ्गको आवेदन फारम र कम प्रभावितहरुको लागि कालो रङ्गको आवेदन फारम तोकिएको छ । आवेदकले आफ्नो साविकको गाविस वा नगरपालिकाको आधारमा बर्ग अनुसारको आवेदन फारम भर्नु पर्ने छ । सबैले न्युनतम ३० कित्ता र अधिकतम ३ सय कित्ताको लागि आवेदन दिन सक्ने भए भने शेयर बाँडफांड गर्दा क वर्ग , ख वर्ग र ग वर्गलाई क्रमश ३, १.४ र १ को अनुपातमा शेयर बाँडफांड हुनेछ ।
को कुन वर्गमा ?
क वर्गमा साविकका लामाबगर र गौरीशंकर गाविसमा बासिन्दाहरु ।
ख वर्गमा साविकका ओराङ, बुलुंङ, खारे, लादुक, लामिडाडा, सुनखानी, सुन्द्रावती, सुस्पाक्षमाक्ती, नाम्दु, गैरीमुदी, भिरकोट, जफे, मालु , शहर गाविस र भिमेश्वर नगरपालिकाका १,२,३,४, र ७ नम्बर वडाका बासिन्दाहरु ।
ग वर्गमा आलम्पु, बाबरे, भेड्पु, भूसाफेदा, बिगु, बोच, चंखु, क्षेत्रपा, चिलखा, च्यामा, डाँडाखर्क, ताम्चेतदुधपोखरी, फस्कु, झुले, हांवा, घ्यांगसुकाठोकर, झ्याकु, जुगु, काब्रे, लापिलाङ, खोपाचागु, काटाकुटी, कालिन्चोक, मागापौवा, मार्बु, शैलुंगेश्वर, लाकुरीडांडा, मिर्गे, पवटी, श्यामा, मैलुंग सुरी गाविस तथा जिरी नगरपालिका र भिमेश्वर नगरपालिकाका ५,६,८,९,१०,११,१२,र १३ नम्बर वडाका बासिन्दाहरु ।
स्थानीयको लागि शेयर निष्काशन गरेर बाँडफांड गरे लगत्तै सूचना निकालेर सर्बसाधारणलाई शेयर निष्काशन गर्ने कम्पनीले जनाएको छ । सर्वसाधारणको लागि १०० अंकित दरका १ करोड ५८ लाख ८५ हजार कित्ता शेयर छुट्याइएको छ । सर्वसाधारणले न्युनतम ५० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् ।
स्थानीयको लागि निष्काशन गरिएको शेयरमा पहिलो हप्ता नै माग भन्दा बढी आवेदन परिसकेको छ । सनराइज क्यापिटलले दिएको जानकारी अनुसार भदौ १२ गतेसम्ममा १ लाख ६६ हजार आवेदकबाट २ अर्ब ६९ करोडको आवेदन परेको छ ।
इक्रा नेपालले आईपिओलाई ग्रेड ४ को रेटिंङ दिएको छ । इक्रा नेपालले १ देखि ५ अंक स्केलमा ग्रेडीङ प्रदान गर्दछ, जसमा ग्रेड १ ले बलीयो आधारहरु जनाउछ भने ग्रेड ५ ले कम्जोर आधारहरु जनाउँछ। ग्रेड २,३,४ मा प्रयोग गरिने प्लस (+) चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थिलाई जनाउंछ।
कम्पनीले निर्माण गरिरहेको ४५६ मेगावाटको परियोजनामा कम प्रतिफल क्षमत रहेको, नाकाबन्दी, भूकम्प जस्ता कारणले निर्माणमा ढिलाई हुँदा लागत बढ्नु, निर्माणको लागि लागि लिएको ठुलो मात्राको ऋण चुक्ता हुन् समय लाग्ने कारणले गर्द औसत भन्दा कमजोर रेटिंङ् पाएको कम्पनीले जनाएको छ । दोलखाको गौरीशङ्कर गाउँपालिका १ लामाबगरमा निर्माण भइरहेको ४ सय ५६ मेगावाटको तामाकोशी आयोजनाकाे पूर्व स्वीकृत लागत ३५ अर्ब भएपनि बढेर ४९ अर्ब पुगेको छ । असार मसान्तसम्ममा सिभिलको काम सकेर विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य छ । डिसेम्बर २०१८ देखि नियमित उत्पादन शुरु भए पनि सबै निर्माण सक्न थप ६ महिना लाग्नेछ ।
आयोजनामा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको २–२ प्रतिशत, कर्मचारी सञ्चयकोषको १७.२८, स्थानीयबासीकाे १० प्रतिशत, सर्वसाधारणको १५, कर्मचारी सञ्चय कोषका कर्मचारीको २.८८, कम्पनी र प्राधिकरणका कर्मचारीको ३.८४ प्रतिशत शेयर स्वामित्व रहनेछ।