कहाँ रोकियो मक ट्रेडिङ र ईडिआईएस ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 12, 2018 | 02:22:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पूँजीबजार लगानीकर्ता संघ साउन २७ गते आयोजना गरेको एक सार्बजनिक कार्यक्रममा नेपाल स्टक एक्चेन्ज नेप्सेका सीईओ चन्द्र सिंह साउदले २ साता भित्र मक ट्रेडिङ सुरु हुने घोषणा गरेका थिए । २ हप्तामा मक ट्रेडिङ सुरु भएन नै तर त्यसपछिको थप २ हप्ता बिती सक्दापनि मक ट्रेडिङ कहिले सुरु हुन्छ भन्ने बारे अन्योल नै छ  ।

महाप्रबन्धक साउद अहिले हार्डवेयर टेस्टीङको काम चलिरहेको बताउछन्  । उनका अनुसर डाटा सेन्टरले काम नगर्दा मक ट्रेडिङ सुरु गर्न ढिलाई भएको हो  । उनी भन्छन् 'पहिले डाटा सेन्टरसँग कनेक्सन भएको थिएँन, अहिले नेप्से मै डाटा सेन्टर राखिएको छ, कनेक्सन राम्रै भएको छ, टेस्ट सकिएपछि कन्फरमेशन लिएर मक ट्रेडिङ सुरु हुन्छ'  । 

तर नेप्से कै आईटी प्रमुख निरन्जन नायकको कुरा भने साउदको संग मेल खादैन  । नायकका अनुसार डाटा सेन्टरसंग कनेक्सन नभएपछि नेप्से मै ल्याएर राख्ने भन्ने बारेमा छलफल भएपनि नेप्सेमा ल्याएर नराखिएको बताए  । उनले भने 'अहिले ब्रोकरहरुको डाटा सेन्टरसंग नेप्सेको सिस्टमको कनेक्सन नहुँदा काम रोकिएको हो, यो समाधान हुना साथ मक ट्रेडिङको काम अगाडी बढ्छ' । आफुहरुले ३ हप्तासम्म कुरेको तर ब्रोकरहरुले वास्ता नगर्दा काम हुन् नसकेको उनले गुनासो गरे  । उनले भने 'जहाँ राखेर जसरी हुन्छ, ब्रोकरहरुले आफ्नो डाटा सेन्टरलाई नेप्सेको सिस्टमसंग कनेक्ट गराईदिनु पर्यो, त्यसपछि मक ट्रेडिङ सुरु भई हाल्छ'  । 

उता नेप्सेकै उच्च कर्मचारी भने मक ट्रेडिङमा खासै प्रगती हुननसकेको बताउछन्  ।

ब्रोकरका कारणले मक ट्रेडिङ ढिलाई भएकोबारे स्टक ब्रोकर एशोशियनका महासचिव सन्तोष मैनालीसंग बुझ्दा उनले यसलाई ठाडै अस्विकार गरे  । ब्रोकरको कारणले मक ट्रेडिङ ढिला भएको बिषय कसरी आयो भन्ने बारे नै आफु अचम्मित परेको बताए  । उनले भने 'हामी र नेप्सेबीच केहि मिस कम्युनिकेशन भएको रहेछ, हामीले नेप्सेसंग बसेर यसबारे छलफल गरी सक्यौ, अहिले सबै असमझदारी अन्त्य भएको छ'  । मैनालीले अहिले ५० वटै ब्रोकरको डाटाहरु मुख्य सिस्टममा इन्स्टल भइरहेको पनि जानकारी दिए  । इन्स्टलपछि सिस्टम परिक्षणको रुपमा रहेको बताउदै एक साता भित्र मक ट्रेडिङ आउने बिश्वास व्यक्त गरे  । साथै उनले ब्रोकरको डाटा सेन्टरको कारणले ढिलाई भएको भन्ने आरोपलाई खण्डन गर्दै भने 'अमेरिकामा भएको डाटा सेन्टरको कनेक्सन बिश्वभर हुन्छ, हाम्रो यहि भएको डाटा सेन्टर नेप्सेसंग कनेक्ट नहुने भन्ने हुदैन, त्यो गलत हो ' ।

उता सिडिएससीले तयार पारेको ईडिआईएसको कार्यविधि पनि संचालक समितिले केहि संसोधन गर्नु पर्ने भन्दै होल्डमा राखेको छ । बोर्डका एक सदस्यले कार्यविधिलाई थप प्रष्ट पार्ने गरी संशोधन गरेर पुन पेश गर्ने सहमति भएको बताए । सीडीएसका सीईओ देव प्रकाश गुप्ताले भने मक ट्रेडिङ र ईडिआईएसलाई एकै साथ ल्याउने निर्णय भएको बताए । 

नेप्सेले साउन १ गतेदेखि अनलाइन प्रणालीको परीक्षण गरिरहेको छ । यसमा लगानीकर्ताले आफ्नो आदेश के भईरहेको छ भनेर हेर्न मात्र मिल्छ, तर आफैले खरिद बिक्रि आदेश दिन भने मिल्दैन ।   तर मक ट्रेडिङमा भने खरिदबिक्री आदेश पनि दिन मिल्छ । यद्यपि  मक ट्रेडिङ पनि पूर्ण कारोबार प्रणाली नभई त्यसको परिक्षण मात्र हो  । यसबाट अनलाइन ट्रेडिङको कमीकमजोरी खुल्ने नेप्सेको बिश्वास छ। 

हाल समग्र अनलाइन ट्रेडिङको भारतीय कम्पनी एकेएस इन्फरमेसन टेक्नोलोजी एन्ड सर्भिसेजले युजर एसेप्टेन्स टेस्ट (यूएटी) गरिरहेको छ । यूएटीपछि कम्पनीले सुधार गर्नु पक्षबारे सफ्टवेयर निर्माता कम्पनी वाईकोलाई जानकारी गराउने छ। वाईकोले तोकिए अनुसार सिस्टममा सुधार गरेपछि सिस्टम नेप्सेलाई हस्तान्तरण गर्ने छ   । त्यसपछि नेप्सेले नेपाल धितोपत्र बोर्डको अनुमति लिएर अनलाइन ट्रेडिङ संचालनमा ल्याउने छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved