‘ए’ डिभिजन लिगमा २८ विदेशी खेलाडी (सुचीसहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 27, 2018 | 12:51:41 PM मा प्रकाशित

laxmi  sunrise bank

यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगमा नौ क्लबबाट २८ विदेशी खेलाडीले सहभागिता जनाउँदैछन् । 
लिगमा सहभागी १४ ‘ए’ डिभिजन क्लबमध्ये नौ टोलीले विदेशी खेलाडी अनुबन्ध गरेका छन् । तीन विभागीय टोलीबाहेक बाँकी ११ क्लबले विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान छ । अहिलेसम्म च्यासल युथ क्लब र मछिन्द्र क्लबले विदेशी खेलाडी अनुबन्ध गर्न सकेका छैनन् । लिगमा सहभागी २८ विदेशी खेलाडीमध्ये सबैभन्दा बढी नाइजेरियाका १२, क्यामरुनका पाँच, आइभरीकोस्टका चार, गिनीका दुई तथा माली, बुर्किना फासो, घाना र बङ्गलादेशका एक–एक खेलाडी ए डिभिजन लिगमा अनुबन्ध भएका छन् । 

थ्री स्टार, मनाङ मस्र्याङ्दी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, सरस्वती युथ क्लब, न्युरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले विदेशी खेलाडी अनुबन्ध गरेका हुन् । अहिलेसम्म सबैभन्दा बढी चार विदेशी खेलाडी फ्रेन्ड्स क्लबले अनुबन्ध गरेको छ । उसले करिम मोहम्मद नुरुल (बङ्गलादेश), सिल्ला सुलेमाने (गिनी), फोफाना ब्राहिमान (आइभरीकोस्ट) र ओडेह ओलुवासोगो ग्लोरी (नाइजेरिया)लाई क्लबमा भित्र्याएको छ । 

त्यसैगरी थ्री स्टारले अजाइ मार्टिन्स (नाइजेरिया) र पिटर सेगुन (नाइजेरिया), मनाङ मस्र्याङ्दीले ओजानीबुजे भिक्टर अमोबी (नाइजेरिया), अदेलाजा सोमिडे ओलुवाउम्नी (नाइजेरिया) र ओलादिपो अफिज ओलावाले (नाइजेरिया) तथा सङ्कटा क्लबले नोर्बट सेड्रिक अबा (क्यामरुन), अर्नेस्ट टाम्पी (क्यामरुन) र म्याक्सेल इलोन (क्यामरुन)लाई टिममा अनुबन्ध गरेको छ । ब्रिगेड ब्वाइजले काजिम अदेगोके बुसारी (नाइजेरिया), ताजुदिन अदेकुन्ले बुसारी (नाइजेरिया) र अबु करिम हामद सिया (घाना), हिमालयन शेर्पा क्लबले याकुबा सावादोगो (बुर्किना फासो), दादी जुनियर वाम्बा (क्यामरुन) र प्याट्रिक प्रिभाट गोहा (आइभरीकोस्ट), जावलाखेल युथ क्लबले ओलाकेन अफिज लावल (नाइजेरिया), अदामा डुम्बिया (माली) र फोफाना फेडे (गिनी), न्युरोड टीम एनआरटीले क्रिष्टियनवासीले कामिने (क्यामरुन), मसुद ओपेएमी अग्बोला (नाइजेरिया) र कुआसी जिन डिडियर इस्मेल योबोए (आइभरीकोस्ट) र सरस्वती युवा क्लबले सोलो (नाइजेरिया), कासी (नाइजेरिया) र कुलिबाल (आइभरीकोस्ट)लाई क्लबमा भित्र्याएका छन् । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ए डिभिजन क्लबलाई बढीमा चार विदेशी खेलाडी अनुबन्ध गर्ने मापदण्ड कायम गरेको छ । चारमध्ये एकजना सार्क देशको हुनुपर्ने प्रावधान छ । तीन विदेशी खेलाडी अनुबन्ध गरेको अवस्थामा भने उक्त नियम लागू हुने छैन । राउण्ड रोविन लिगको आधारमा हुने सो प्रतियोगितामा कूल ९१ खेल हुनेछन् । लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रोले रु २५ लाख, चौथो टोलीले रु १५ लाख, पाँचौँ टोलीले रु सात लाख र छैटौँले रु पाँच लाख पुरस्कार पाउने छन् । फेयर प्ले टिमले रु एक लाख पाउने छन् । प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई रु १० हजार दिनेछ । 

यस्तै लिग विजेता टोलीले एएफसी एशियन कप फुटबलमा सहभागिता जनाउन पाउने छ । ‘ए’ डिभिजन लिग चार वर्षपछि हुन् लागेको हो । पछिल्लो पटक २०७१ सालमा ‘ए’ डिभिजन लिग भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved