पुंजीबजारमा देखिएको समस्या पहिचान गरी सुझाव पेश गर्न गठित समितिको पहिलो बैठक आइतबार बसेको छ । अर्थ मन्त्रालयले गत बिहिबार मुद्रा तथा पुँजी बजारमा देखिएका समग्र प्रवृत्ति अध्ययन गरी समस्याको पहिचान गर्न र तिनको समाधानका लागि ७ दिनभित्र सुझाव दिन भन्दै समिति गठन गरेको थियो । समिति गतःन भएको चौथो दिन बल्ल समितिको पहिलो बैठक बसेको हो ।
समितिको संयोजकमा राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ रहेका छन्। समिति सदस्यमा धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्की, बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, लगानीकर्ता संघका प्रतिनिधी र मन्त्रालयका वित्तीय क्षेत्र व्यवस्थापन सहसचिव सम्मिलित छन्।
बैठकमा नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना र इन्भेस्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले हालको समस्याको बारेमा संक्षिप्त धारणा राखेका थिए। त्यसपछि बैठकले सबै पक्षलाई आफ्नो आफ्नो क्षेत्रका समस्या र तिनको समाधानका लागि उपाय सहितको सुझाव संकलन गरी आगामी बैठकमा पेश गर्ने जिम्मेवारी दिएको छ।
यस संगै इन्भेस्टर फोरमले फेसबुक मार्फत आफुले बुझाउन तयार पारेको सुझावको सुची सार्बजनिक गर्दै अन्य केहि सुझाव भए टिपाउन आग्रह गरेको छ । त्यस्तै धितोपत्र बोर्डले पनि आज सोमबार सुझाव संकलनको लागि सरोकारवाला समक्ष आह्वान गरेको छ ।
समितिको अर्को बैठक मंगलबार बस्दै छ । मंगलबारको बैठकमा बैंकर्स संघ, धितोपत्र बोर्ड र लगानीकर्ताका प्रतिनिधिले आआफ्नो समस्या र समाधानका उपाय सहितको सुझाव पेश गर्ने छन् । त्यसैका आधारमा समितिले आफ्नो सुझाव सहितको प्रतिवेदन अर्थमन्त्री डा. युवराज खतिवडालाई पेश गर्नेछ।