सेयरलगानीकर्ताका नेताबाटै अनलाइनलाई असहयोग, फेरी 'बखेडा' झिक्दै दबाब समुह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 31, 2018 | 01:08:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले भोली (पुष १७) देखि बैंक इन्टीग्रेसन सहितको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली लागू गर्ने भएको छ। यसका लागि सम्पूर्ण तयारी पुरा गरिसकिएको नेप्सेको भनाई छ। 

गत मङ्सिर २० गते अर्थमन्त्री ड़ा युबराज खतिवडाले औपचारिक उद्घाटन गरेसंगै आजभन्दा करिब अढाई बर्षअघि २०७४ बैशाख ६ गतेदेखि थालिएको अनलाइन कारोबार प्रणाली सेयरबजारमा औपचारिक रुपमै लागू भयो। 

औपचारिक उद्घाटन भन्दा पहिले नेप्सेले गत साउन १ देखि अनलाइनको परिक्षण कारोबार सुरु गर्यो। त्यसबीचमा सर्वसाधारण लगानीकर्तालाई युजरनेम र पासवर्ड प्रदान गरि नेप्सेले लगानीकर्तालाई मोक ट्रेडिङमा सहभागि बनायो। काठमाडौं तथा उपत्यका बाहिर बिभिन्न संघसंस्थासंगको सहकार्यमा नेप्सेले नयाँ प्रणालीको डेमो प्रदशन गर्यो र नेप्सेले आफ्नै कार्यालयमा एक हप्ता अनलाइन कारोबारबारे लगानीकर्तालाई कक्षा दियो। 

नेप्सेले साउन १ देखि अनलाइनको परीक्षण कारोबार गर्न सेयर ब्रोकरहरुलाई मोक ट्रेडिङमा सहभागी हुन भनेपनि करिब दर्जनजति ब्रोकरले लग इन समेत नगरेको पाइयो। केहि ब्रोकरले नियतबस नै अनलाइनलाई असहयोग गर्न मोक ट्रेडिङमा सहभागी नभएको बताइएको छ। 

सुरुदेखि नै अनलाइन प्रणालीमा असहयोग हुँदै आएकोमा अहिले सेयर लगानीकर्ताका नेताहरुबाट अनलाइन कारोबार प्रणालीलाई असहयोग भएको पाइएको छ। भोलि (पुष १७) देखि अनलाइन कारोबार प्रणाली लागू हुने भनीएपनि पुष १५ सम्म ७०० लगानीकर्ताले मात्र युजर नेम र पासवर्ड लिएको नेप्सेले जनाएको छ। ७०० मध्ये कुनै न कुनै बेला गरि १०० जनाले मात्र अनलाइन मार्फत सेयर किनबेच गरेका छन।  

इन्भेष्टर फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडेल बाहेक कसैले पनि अनलाइन कारोबार प्रणालीको लागी युजर नेम र पासवर्ड नलिएको पाइएको छ। पौडेलले युजर नेम र पासवर्ड लिएपनि पुष १५ सम्मको तथ्यांक अनुसार उनले अनलाइन मार्फत कुनै कारोबार नै गरेका छैनन। 

सेयरबजार प्रविधिमैत्री भएन भनेर पटक पटक आन्दोलन गर्ने र आन्दोलनको नेतृत्त्वको होडबाजी गर्ने बिभिन्न संघसंगठनका नेताहरुले युजर नेम र पासवर्ड नलिएर अनलाइन कारोबार प्रणालीलाई असहयोग गरेका छन। युजर नेम र पासवर्ड लिएर कारोबार गरि त्यसमा भएको कमि कमजोरीबारे बताएर सघाउनुपर्ने नेताहरुले नै अनलाइन कारोबार प्रणाली ठिक छैन भन्दै प्रविधि मैत्री सेयरबजार बन्नलाई असहयोग गरेको देखिन्छ।

अनलाइन भनीएपनि अहिलेपनि ब्रोकर अफिस नै धाउनुपर्ने, वास्तविक समयमा नै सेयर किनबेच नहुने, तुरुन्तै भुक्तानी र प्राप्ति नहुने, सुरक्षित नभएको, लिमिट राख्नुपर्ने बाध्यता जस्ता कारणले आफुहरुले अनलाइन प्रणालीको लागि युजर नेम र पासवर्ड नलिएको नेताहरुको दाबि छ। 

तर नेताहरुले भनेजस्तै तुरुन्तै भुक्तानी हुन र प्राप्ति गर्नका लागि नेपाल राष्ट्र बैंकले अहिलेको भुक्तानी सम्बन्धि व्यवस्थालाई नीतिगत र प्राविधिगत बिषयमा सुधार गर्नुपर्ने हुन्छ। वास्तविक समयमै भुक्तानी र प्राप्ति गर्नका लागि नेपाल राष्ट्र बैंकले २०१९ सेप्टेम्बरमा मात्रै 'आरटिजीएस' रियल टाइमर ग्रोसर सिस्टम लागू गर्ने जनाएको छ, त्यो पनि सम्पूर्ण प्रकृया योजनाअनुरुप अघि बढेमा।

अहिले वास्तविक समयमै भुक्तानी र प्राप्तिका लागि नेप्सेले एनसीएचएल संग दुई पटक छलफल गरिसकेको नेप्सेले जनाएको छ। तर त्यसका लागि पनि राष्ट्र बैंकले बाधा फुकाउनुपर्ने हुन्छ।  

बखेडा झिक्दै दबाब समुह 

अर्थमन्त्री खतिवडाको मुख्य राजिनामाको माग अघि सारेर रिले अनसन र त्यसपछि आमरण अनसन बसेको लगानीकर्ता दबाब समुहले बैंकमा धितोमा रहेको वा रोक्का रहेको सेयर अनलाइनबाट बिक्रि गर्न मिल्ने व्यवस्था नभएको भन्दै अनलाइन कारोबार प्रणालीप्रती आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। 

धितो वा रोक्का रहेको सेयर पनि किन्न पाउनुपर्छ भन्दै अनलाइन कारोबार प्रणालीप्रति असन्तुष्टि जनाउनेले नै जानुन धितोमा राखेको सम्पति कसरि कुन प्राबधानले कारोबार गर्न मिल्छ भनेर। तर हिजो 'अफलाइन' कारोबार प्रणाली हुँदा समेत धितो वा रोक्कामा रहेको सेयर किनबेच गर्न पाइने व्यवस्था थिएन। 

बिजपाटी डटकमलाई प्राप्त जानकारी अनुसार लगानीकर्ता दबाब समुहका केहि व्यक्तिहरुसंग १३ देखि २० करोडको पोर्टफोलियो छ र त्यसमध्ये ठुलो हिस्साको सेयर बैंकमा धितो राखेको अवस्था छ । यस कारणले नै धितोमा राखेको वा रोक्का रहेको सेयर किनबेच गर्नपाउनुपर्ने माग उठेको आशंका गरिएको छ।

अनलाइन प्रणालीमा सर्वसाधारण कसरि सहभागी हुने 

नेप्सेले भोलिदेखि लागू गर्ने अनलाइन कारोबार प्रणाली मार्फत सेयर कारोबार गर्नका लागि लगानीकर्तासंग युजर नेम र पासवर्ड हुनु अनिवार्य छ। त्यसका लागि आफुले जुन ब्रोकरबाट कारोबार गर्ने हो त्यो ब्रोकरसंग सम्झौता गर्नुपर्छ। ब्रोकरसंग संझौता पश्चात उक्त युजर नेम र पासवर्ड नेप्सेले प्रमाणीकरण गरे पश्चात लगानीकर्ता अनलाइनबाट कारोबार गर्न योग्य हुन्छन। तर ब्रोकरसंग सम्झौता गर्नुपुर्व लगानीकर्तासंग अहिले तोकिएका चारवटा क्लियरिंग बैंक (नेपाल इन्भेष्टमेन्ट, प्रभु, ग्लोबल आइएमई र सिद्दार्थ बैंक) मा खाता हुनुपर्छ।   

अहिलेको व्यवस्था अनुसार अनलाइन मार्फत सेयर किन्नका लागि ब्रोकरसंग भएको सम्झौता ब्रोकरलाई तोकिएको रकम अग्रिम रुपमा भुक्तानी गर्नुपर्छ। यस्तो अग्रिम रकम सम्झौता अनुसार फरक फरक हुन सक्छ। कुनै लगानीकर्ताले २५ प्रतिशत अग्रिम रकम तिरेपनि हुन्छ भने कसैले शतप्रतिशत पनि तिर्नुपर्ने हुन्छ। लिमिट रकम नसकीएसम्ममा लगानीकर्ताले सेयर किन्न सक्ने प्राबधान छ। 

किनेको सेयर भने तुरुन्तै लगानीकर्ताको खातामा जानेछैन। अहिलेकै व्यवस्था अनुसार टि प्लस ३ को दिन लगानीकर्ताको खातामा किनेको सेयर थपिन्छ। सेयर बेच्दा पनि बेच्ने वित्तीकै लगानीकर्ताको खातामा पैसा जम्मा हुदैन। यसका लागि पनि लगानीकर्ताले टि प्लस ३ दिन नै पर्खनुपर्छ। तर सेयर किन्दा भने सेटलमेन्ट प्रक्रियामा जानेबित्तिकै लगानीकर्ताको खाताबाट किनेको सेयर बराबरको रकम काटिनेछ। 

अहिलेको व्यवस्था अनुसार एउटा लगानीकर्ताले बढीमा दुईवटा ब्रोकरको मार्फत कारोबार गर्न पाउँछन तर त्यसका लागि लगानीकर्तासंग दुईवटा अलग अलग बिओआईडी को आवश्यकता हुन्छ। एकै लगानीकर्ताले धेरै ब्रोकर मार्फत कारोबार गर्न पाउने व्यवस्था हुनुपर्छ भन्दै मल्टिपल बिओआईडी को व्यवस्था गर्नका लागि नेप्सेले नियामक धितोपत्र बोर्डलाई पत्र पठाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved