वाक्क दिक्क प्याक्क लाग्दो सेयरको अनलाइन कारोबार

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jan 20, 2019 | 04:19:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा आइतबाको सेयर कारोबारमा पनि समस्या दोहोरिएको छ। आइतबार नेप्सेमा ब्रोकरले लगईन गर्न नमिल्ने, लग इन गरेपनि अर्डर हाल्न नमिल्ने समस्या देखिएको हो ।  समस्या देखिएपछि नेप्सेले  १२ बजेर १४ मिनेटदेखि १२ बजेर ३९ मिनेटसम्म सम्पूर्ण कारोबार नै रोकेर समस्या समधान गर्यो । तर कारोबार रोकिंदा यस अघि थपिदै आएको समय भने नेप्सेले थपेन । यस अघि लामो समयसम्म कारोबार रोकिदा नेप्सेले सोहि अनुसार कारोबार समय थप गर्ने गरेको थियो । तर यस पटक भने यसो भएन। 

नेपाल इन्भेस्टर फोरमका उपाध्यक्ष छोटेलाल रौनियार नेप्सेले समय थप नगरेर गल्ती गरेको बताउछन्  । उनी भन्छन् 'पुरानै प्रचलन हो , कारोबार रोकिंदा समय थप हुनुपर्थ्यो'।  साथै उनले अनलाइन ट्रेडिङमा देखिएको समस्या सक्दो छिटो समाधान गर्न पनि आफुहरुले आग्रह गरिरहेको बताए  ।  

सेयर लगानीकर्ता दबाब समूहका वरिष्ठ उपाध्यक्ष दीपेन्द्र अग्रवाल नेप्सेले लगानीकर्ताको अधिकार हनन गरेको बताउछन्  । नेप्सेले अनलाइन ट्रेडिङ ल्याएपनि त्यसले राम्ररी काम गर्न नसकेकोले यसबारे लगानीकर्तालाई यथार्थ जानकारी गराउनु पर्ने उनको माग छ  । उनी भन्छन् 'यसबारे जानकारी पाउनु लगानीकर्ताको पूर्ण अधिकार हो, तर नेप्से मौन छ'  । नेप्से मात्र नभई नियामक धितोपत्र बोर्ड समेत मौन भएर बसेको उनको आरोप छ  । 

२५ मिनेट कारोबार रोकिंदा समय थप नगरिएकोमा उनले व्यंग्य गर्दै केहि समय भए पनि नेप्सेको तमाशा हेर्नु नपरेको बताए   । उनले भने 'समय थप नगरेर राम्रै गर्यो, फेरी तमाशा देखाउथ्यो, त्यो तमाशा हेर्नु परेन' ।  

शेयरबजारका जानकार दिलिप मुनकर्मी अनलाईन प्रणाली माथी भराेसा र विश्वासकाे संकट जन्मिएको बताउछन्  । बिगतको अभ्यास अनुरुप नै नेप्सेले आफ्नो प्राविधिक समस्याका कारण सिर्जना भएकाे समस्याकाे क्षतिपुर्तिका लागि समेत काराेवार समय थप गरिनु पर्ने उनको भनाई छ । उनी भन्छन् 'काराेवार समय नथप्नु मात्र गल्ति हाेईन, बीचमा आएकाे प्राविधिक समस्या तत्काल समाधान गरेर काराेवार नियमित गर्न नसक्नुले संचालित अनलाईन प्रणाली माथी भराेसा र विश्वासकाे संकट जन्माएकाे छ ।' 

नेप्सेका सीईओ चन्द्र सिंह साउद भने केहि केहि ब्रोकरको मात्र समस्या आएको दाबी गर्छन । नयाँ सिस्टम कै कारण बीचमा करोबार रोकिंदाको समय थप गर्न नसकेको उनले बताए । उनले भने 'नयाँ सिस्टममा बिहान नै कारोबार समयको टाइम सेट गर्नु पर्ने हुन्छ, ३ बजेसम्मको लागि मात्र समय सेट गरेकोले कारोबार समय थप गर्न नसकिएको हो' ।

नेप्सेमा तामाकोशीको शेयर सुचिकृत भएर कारोबार सुरु भएसंगै अनलाइन ट्रेडिङमा विभिन्न समस्या देखिदै आएको छ । तामाकोशीको कारोबार सुरु भएको दोस्रो दिन नै कम्पनीको शेयर एकै दिन ५० प्रतिशतले बढेको देखिएको थियो । नेप्सेले पछि गल्ति स्वीकार गर्दै त्यस दिनको २ वटा बाहेक सबै कारोबार रद्द गर्यो । त्यस्तै आज मार्केट डेप्थ नदेखिने समस्या आएको छ । मार्केट डेप्थ नदेखिंदा लगानीकर्ता शेयरको मूल्य बारे जानकारी पाउन बन्चित भएका छन् । 

लगानीकर्ताहरुले अनलाइन ट्रेडिङमा देखिएका सम्पूर्ण समस्या तत्काल समाधान गर्न बारम्बार आग्रह गर्दै आएका छन् । 

नोट: यस अघि समाचारमा नेपाल इन्भेस्टर फोरमका उपाध्यक्ष छोटेलाल रौनियार हुनु पर्नेमा अन्यथा भएकोले सच्चाईएको छ । यसबाट पाठक वर्गमा पर्न गएको असुबिधा प्रति क्षमाप्राथी छौ -सम्पादक 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved