नेप्सेमा सुचिकृत ११ कम्पनीको शेयर मूल्य सय रुपैयाँभन्दा कम

रासस

रासस

Feb 01, 2019 | 09:46:29 PM मा प्रकाशित

laxmi  sunrise bank

धितोपत्र बजारमा शेयरको मूल्यमा निरन्तर ओरालो लाग्दा सबैभन्दा बढी जलविद्युत् कम्पनीका लगानीकर्ता प्रभावित भएका छन् । नेपाल स्टक एक्सचेञ्जमा बिहीबार भएको कारोवारलाई मूल्याङ्कन गर्दा कूल ११ जलविद्युत् कम्पनीका शेयर आधार मूल्यभन्दा तल रहेका छन् । प्रतिकित्ता रु १०० मा खरीद गरेको शेयर अहिले १०० भन्दा तल पुगेको छ । कुनै समय धेरै नाफा हुने भन्दै शेयर लगानीकर्ताको आकर्षणको केन्द्रमा रहेको जलविद्युत् कम्पनी पछिल्लो दिनमा आकर्षणमा समेत पर्न छाडेको छ । बजारमा समेत शेयर घट्ने उपसमूहमध्ये कमजोर अवस्थामा समेत सोही उपसमूह परेको छ । 

स्टकमा पछिल्लोपटक माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयर सूचीकृत भएर कारोवार शुरु भएपछि २४ कम्पनी सूचीकृत छन् । ती कम्पनीमध्ये एकाधको मात्रै प्रतिकित्ता रु २०० भन्दामाथि छ । स्टकको कारोवारका आधारमा हेर्दा आँखु खोला जलविद्युत् कम्पनीको शेयर प्रतिकित्ता रु ८५ मा कारोवार भएको छ । 

यस्तै वरुण हाइड्रो पावर कम्पनीको शेयर प्रतिकित्ता रु १०३ मा खरीद बिक्री भएको छ । त्यस्तै अवस्थामा अरुण भ्याली हाइड्रो पावर कम्पनी पनि रहेको छ । सो कम्पनीको शेयर प्रतिकित्ता रु १०४ मा खरीद बिक्री भएको छ । बिहीबारको कारोवारको आधारमा छ्याङ्दी हाइड्रो पावर कम्पनीको शेयर आधरभूत मूल्यभन्दा तल घटेर रु ९८ मा झरेको छ । 

यस्तै दिव्येश्वरी हाइड्रो पावर कम्पनीको शेयर रु ९८ मा कारोवार भएको छ भने कालिका पावर कम्पनीको शेयर आधारभूत मूल्यभन्दा तल झरेर रु ९५ मा कारोवार भएको छ । आधारभूत मूल्यभन्दा तल रहेका जलविद्युत् कम्पनीमा खानीखोला हाइड्रो पावर कम्पनी पनि रहेको छ । सो कम्पनीको शेयर प्रतिकित्ता रु ९४ मा कारोवार भएको छ । 

यस्तै लगातार ओरालो लागेका नेशनल हाइड्रो पावर कम्पनीको शेयर रु ६७ मा कारोवार भएको छ । यस्तै रैराङ हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको शेयर रु ९९ मा कारोवार हुँदा रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको लगानीकर्ताले पनि आफूले खरीद गरेको प्रति शेयरमा रु चारले घाटा लागेको छ । सो कम्पनीको शेयर रु ९६ मा खरीद बिक्री भएको छ । 

यस्तै सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडका शेयरधनीलेसमेत प्रतिकित्ता रु पाँचले गुमाएका छन् । सो कम्पनीको शेयर प्रतिकित्ता रु ९५ मा कारोवार भएको छ । कुनै समय आकर्षक कम्पनीका रुपमा रहेको अपि पावर कम्पनी शेयरसमेत निरन्तर ओरालो लागेर प्रतिकित्ता रु १४१ मा सीमित भएको छ । 

बजार घट्दा अरुण काबेली पावर कम्पनीको रु १८७ मा कारोवार भएको छ । रु ५०१ मा थप सार्वजनिक निष्काशन गरेको बुटवल पावर कम्पनीको शेयरसमेत बिहीबार रु ३६० मा खरीद बिक्री भएको छ । नेपालको धितोपत्र बजारमा कुनै समय सबैभन्दा बढी आकर्षक कम्पनीका रुपमा रहेको चिलिमे जलविद्युत् कम्पनीसमेत बजार घट्दा मर्कामा परेको छ । सो कम्पनीको शेयर रु ५२४ मा खरीद बिक्री भएको छ । लगातार बजार घट्दा त्यसको सबैभन्दा बढी मारमा लगानीकर्ता परेका छन् । 

स्टकका अनुसार हिमालयन पावर पार्टनर लिमिटेड रु १८७, जोशी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी रु २२०, नेपाल हाइड्रो डेभलपर्स लिमिटेड रु १३३, ङादी ग्रुप पावर लिमिटेड रु १२८, पञ्चकन्या माई हाइड्रो पावर लिमिटेड रु १०७, राधी विद्युत् कम्पनी रु १६४, सानिमा माई हाइड्रो पावर कम्पनी रु २२९, युनाइटेड मोदी हाइड्रो पावर लिमिटेडका शेयर दोस्रो बजारमा प्रतिकित्ता रु ११६ मा खरीद बिक्री भएको छ । 

यस्तै बजार पूँजीकरणमा समेत उत्कृष्ट दशमा परेको माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयरसमेत ओरालो लागेर प्रतिकित्ता रु २५८ मा कारोवार भएको छ । शेयर सङ्ख्यामा आधारमा बढी शेयर भएको सो कम्पनीको शेयरसमेत एकाध साता बढे पनि पछिल्ला दिनमा क्रमशः घट्दै गएको छ ।  

धितोपत्र बजारको विश्लेषक प्रकाश तिवारी राम्रो प्रतिफल दिन नसक्ने जलविद्युत् कम्पनीको शेयर घट्नुलाई स्वभाविक घटनाका रुपमा टिप्पणी गर्छन। लागत बढी भएका, प्रतिफल दिन नसक्ने कम्पनीप्रति क्रमशः लगानीकर्ता समेत नकारात्मक बन्दै गएको उल्लेख गर्दै उनले नाफा हुन्छ भनेर लगानी गरेका लगानीकर्ता भने समस्यामा परेको उनको भनाइ छ । 

चिलिमे, बुटवल पावर कम्पनी जस्ता एकाध कम्पनीले मात्रै शेयर लगानीकर्तालाई प्रतिफल दिने गरेका छन् । तर अधिकांश कम्पनीले लगानीकर्तालाई कुनै नाफा दिन नसकेको, बजारसमेत ओरालो लाग्दा त्यसबाट लगानीकर्ता प्रभावित भएको तिवारीको भनाइ छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved