सेयरबजारमा शाहको म्याच फिक्सिङ !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2019 | 05:57:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हप्ता दिनअघि एनआईसी एशिया बैकले चमत्कारिक प्रगति गरेको अभिव्यक्ति दिए। बिजपाटी लगायतका संस्थामा आबद्द पत्रकारहरुसंगको अनौपचारिक कुराकानीमा शाहले नबिल बैंकको प्रतिस्पर्धा अब एनआईसी एशियासंग हुन्छ भन्ने प्रतिकृया दिए। 

शाहले एनआईसी एसियाको बारेमा खुलेर गरेको प्रशसालाई केहि मिडियाले समाचार बनाएर सम्प्रेषण समेत गरे। नबिलका बहालवाला सीईओले प्रतिस्पर्धी एनआईसीको बारेमा गरेको सकारात्मक टिप्पणी आफैंमा नौलो र अनौठो थियो। मेगा बैंकमा सीईओ रहंदा तत्कालिन टुरिजम डेभलपमेन्ट बैंकको समेत शाहले कुनै बेला यस्तै टिप्पणी गरेका थिए। 

मेगा बैंकमा सीईओ रहँदै सेन्चुरी कमर्शियल बैकको सीईओ बन्ने तयारिमा थिए शाह। तलबको बिषय नमिलेपछि सीईओ बन्ने सर्तमा डिपुटी सीईओ हुँदै नबिल फर्केने क्रममा समेत शाहले राष्ट्र बैंकको बैंक तथा वित्तीय सम्बन्धि ऐन 'बाफिया' लाई 'चुनौती' दिएका थिए।  त्यसैले पनि शाहलाई 'चतुर सेलिब्रिटी' बैंकरका रुपमा समेत चिनिने गरिन्छ।

संचार माध्यम र सोसियल मिडियामा शाहको अभिव्यक्ति 'भाईरल' भएसंगै एनआईसी एसियाको सेयर मुल्य निरन्तर उकालो लागिरहेको छ। गत सातामात्रै नेप्सेमा एनआइसी एशिया बैंकको शेयर मूल्य प्रति कित्ता ४२ रुपैयाँले बढेको छ भने यो साताको पहिलो दिन चैत २४ को सेयर कारोबारमा समेत एनआईसी एसियाको सेयर मुल्य प्रति कित्ता २८ रुपैयाँले बढेको छ। सेयर बजारका बिज्ञहरुले यसलाई संयोगमात्र मान्न नसकिने दाबि गरेका छन।         

शाहको अभिव्यक्ति संयोग वा 'इनसाइड ट्रेडिङ' को पाटो 

बिजपाटीलाई प्राप्त जानकारीअनुसार नविल बैंकको सहायक कम्पनी नविल इन्भेष्टमेन्ट बैंकिङले आफ्ना दुई वटा म्युचुअल फण्डमार्फत एनआइसी एशियाको शेयरमा ठुलो लगानी गरेको छ। माघ मसान्तसम्मको तथ्यांकलाई हेर्दा नबिल म्युचुअल फन्डद्वारा संचालित 'नबिल इक्विटी फन्ड' ले एनआईसीको २५ हजार ६९९ कित्ता खरिद गरेको छ।

नविल इन्भेष्टमेन्ट बैंकिङले हालै ठुलो मात्रामा शेयर खरिद गरेको र बजारलाई प्रभावित पार्न शाहले योजनाअनुसार नै बोलेको स्रोतको दाबि छ। कुनै अमुख कम्पनीको सेयर मुल्य प्रभावित पार्ने गरि कुनै कार्य गर्नु वा बोल्नुलाई 'म्यानुपुलेशन' मानिन्छ।  शेयर बजारका विश्लेषक डा. गोपाल भट्टले वास्तविक र नैतिक हिसाबले एउटा बैंकका सिइओले अर्को बैंकको विषयमा तारिफ गर्न नहुने बताएका छन्। उनले यसरी बोल्नुलाई खेलकुदमा हुने म्याच फिक्सिङ जस्तै भएको उनको भनाई छ। 

उनले अश्वाभाविक रुपमा ग्रोथ गरिरहेको बैंकमाथि नियामक निकायको निगरानी हुनुपर्ने अवस्थामा अर्को ठुलो बैंकका सिइओले तारिफ गर्नु म्याच फिक्सिङ सरह भएको बताए।

शेयर बजारका अर्का विश्लेषक रुक्मागत काफ्लेले एउटा ठुलो कम्पनीले अर्को कम्पनीको विषयका विषयमा बोल्दा शेयर बजारमा इन्साइड कारोबार हुन सक्ने र बजारलाई प्रभावित पारी नाफा गर्ने हुन सक्छ। उनकाअनुसार यसलाई बजारलाई म्यानिपुलेट गर्न खोजेको भनिन्छ । उनले यसमा नियामक निकायहरु मुखदर्शक भएर बसेको समेत बताए । उनले अमेरिकामा पनि नियामक निकायको अनुमति पाएर मात्रै वारेन बफेटले बोल्न पाउने उल्लेख गर्दै नेपालमा पनि संस्थागत नैतिकताका विषयमा बैंक सञ्चालकहरु सचेत रहनुपर्ने बताए ।

अनुसन्धान जारि 

शाहले 'म्याच फिक्सिंग' गरे नगरेको पत्ता लगाउन नेपाल धितोपत्र वोर्डले तेजप्रसाद देवकोटाको नेत्रीत्वमा गोप्य रुपमा अनुसन्धान गरिरहेको बोर्डको विषेश स्रोतले जानकारी दिएको छ। 

तर बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरिले धितोपत्र बोर्डले कुनै पनि कम्पनीको सेयर मुल्य निरन्तर बढिरहेकोबारे आफुहरुले नजिकबाट नियाल्ने र आवश्यक भए काम कारबाही अघि बढाउने बताए। 'एनआइसी एसियाको सेयर मुल्य बढ्न हुन्न भन्ने केहि छैन तर पम्पिङ एण्ड डम्पिङ गर्ने कसैको नियत र नियति हो भने बोर्डले अनुसन्धान गरि कारबाही थाल्छ' गिरिले बताए। 

 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved