सेयर बजारको परिसूचकसंगै कारोबार रकम उकालो लाग्न थालेपछि बजारले नयाँ उचाई लिने विश्लेषण सुरु भएको छ। कारोबार रकम र परिसूचक बढ्नुको कारणबारे अनेक चर्चा र बहसको सुरु भएको छ।
बजारले नयाँ उचाई लिने विश्लेषणसंगै केहि आर्थिक पोर्टलले ब्रोकरको मध्यस्तकर्तामा लगानीकर्ताले ऋण लिएर खरिद बढाएकाले कारोबार रकम बढेको समाचार सम्प्रेषण भएको छ। यस्तो समाचार बाहिर आएसंगै आम सर्वसाधारणमा ब्रोकर मार्फत मार्जिन कारोबारको सुरुवात भए नभएको जिज्ञासा बढेको छ।
संचार माध्यममा ब्रोकर मार्फत मार्जिन कारोबार सुरु भएको भनीएपनि बजारको फ्रन्ट लाइन नियामक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अहिलेसम्म कुनै पनि ब्रोकरले मार्जिन कारोबारलाई अनुमति नपाएको बताएको छ।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले अहिलेसम्म ५० नम्बर ब्रोकरले मात्रै मार्जिन कारोबारको लागि राष्ट्र बैंकबाट अनुमति लिई नेप्सेमा आएको र ३४ र ३६ नम्बर ब्रोकर अनुमतिका लागि राष्ट्र बैंक पुगेको बताएका छन। 'मार्जिन कारोबारको लागि अहिलेसम्म अन्तिम अनुमति कुनै पनि ब्रोकरले पाएको छैन' उनले भने। ब्रोकरले मार्जिन कारोबारको अनुमति पाएपछि मापदण्ड पुरा गरेका लगानीकर्ताले ब्रोकर मार्फत नै ऋण पाउनेछन।
बैंकहरुमा तरलताको सहजता भएसंगै केहि ब्रोकरले आफ्नो मध्यस्ततामा सेयर धितोमा राखेर बैंकबाट ऋण लिएका छन। जसले गर्दा सेयरबजारको दोस्रो बजारमा कारोबार रकम बिगतको तुलनामा बढ्न थालेको हो।
सोमबार बजार परिसूचक नेप्से ७.२६ अंकले करेक्सन भएर १२५६.९४ को बिन्दुमा ओर्लिएको छ। कारोबार रकम भने एक अर्ब तीन करोडको भएको छ। आइतबार पनि एक अर्ब दुई करोड रुपैयाँको करोबार भएको थियो। जसमा नेपाल बैंकको अधिकतम ९ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ।