नाफा ब्यापक घटेपछि टेलिकमले दियो प्रष्टिकरण, लगानीकर्तालाई यस्तो संदेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2019 | 06:03:35 PM मा प्रकाशित

laxmi  sunrise bank

आफ्नो नाफा घटेपछि नेपाल टेलिकमले त्यस विषयमा प्रष्टीकरण दिएको छ ।  गत आर्थिक बर्ष टेलिकमले १० अर्ब २० करोड खुद नाफा गरेको थियो  । तर यो अघिल्लो बर्षको तुलनामा ४१ प्रतिशतले कमी हो । 

कम्पनीको कुल आम्दानी पनि घटेको छ ।  अघिल्लो आर्थिक बर्षमा टेलिकमको कुल आम्दानी ४५ अर्ब २६ करोड रहेकोमा गत आर्थिक बर्ष आम्दानी घटेर ४३ अर्ब ४८ करोड रहेको छ । ग्राहकबाट प्राप्त हुने रकम अर्थात मुख्य आम्दानी ३९ अर्ब बाट घटेर ३६ अर्ब ७८ करोड कायम भएको छ । ओभर दी टप सर्भिस(ओटीटी) को लोकप्रियताका कारण भ्वाइसबाट हुने आम्दानी घट्दा कम्पनीको नाफा घट्दै गएको देखिन्छ । 

कम्पनीको रिजर्भमा भने ८६ अर्ब ७३ करोड रहेको छ  । यस अवधिमा टेलिकमको मूल्य आम्दानी १०.९४, प्रति शेयर नेटवर्थ ६७८.२१ र प्रति शेयर आम्दानी ६८.०५ रहेको छ ।

आफ्नो आम्दानी सहितका सूचक घटेपछि कम्पनीले त्यसको प्रष्टीकरण दिएको हो । 

यस्तो छ कम्पनीको प्रष्टिकरण : 

कम्पनीको आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमासिक अवधिको अपरिस्कृत वित्तीय विवरणहरूमा कम्पनीका प्रमुख वित्तीय सूचकाङ्कहरूको अवस्थालाई प्रष्ट्याउन आवश्यक देखिएको छ । कम्पनीको स्थानीय टेलिफोन सेवाको राजस्वमा कमी आउनुमा उक्त सेवाबाट वायरलेस सेवामा ग्राहक रुपान्तरण हुने क्रम बढेकोले तारसहित सेवाको प्रयोगमा कमी आउनु प्रमुख कारण रहेको छ । तारसहितको ब्रोडव्याण्ड सेवा तर्फ एडिएसएल सेवाको रूपान्तरण गरी एफटिटिएच सेवा विस्तार गर्ने कार्यले हाल गति लिएकोले आगामी दिनहरूमा तारसहित सेवाको समष्टिगत राजस्व सुधार हुने अपेक्षा गरिएको छ । साथै नयाँ विस्तार हुने एफटिटिएच सेवामा परम्परागत टेलिफोन सेवाको साथसाथै इन्टरनेट एवम् टेलिभिजन सेवा पनि आइपि प्रविधि मार्फत प्रदान गरिने योजना रहेको हुँदा सोको विस्तारसँगै तारसहित सेवाको आम्दानी विविधिकरण तथा वृद्धि हुँदै जाने अपेक्षा गरिएको छ । 

उक्त अवधिमा कम्पनीको मुनाफा घट्नुमा मोबाइल सेवाको अनुमतिपत्र नविकरण बापत दोस्रो अवधि (२०७१–२०७६ सम्म) को दस्तुर रकम रू २० अर्ब मध्ये पहिलो किस्ताको रू ४ अर्बको खर्च तथा दूरसञ्चार सेवा प्रदायक कम्पनीको आयमा लाग्ने करको दर २५ प्रतिशतबाट ३० प्रतिशतमा वृद्धि हुनुको पनि अहम् भूमिका रहेको छ । 

त्यसैगरि इन्टरनेट प्रविधिमा आधारित OTT (जस्तै Viber, Whatsapp, Messenger आदि) सेवाहरूको व्यापक प्रयोगको कारण संसारभरका दुरसञ्चार सेवा प्रदायकहरूको अन्तर्राष्ट्रिय सेवाको भ्वाइस तर्फको आम्दानीमा नकारात्मक असर परेको छ । संसारभर देखिएको यस्तो परिस्थितिबाट नेपाल टेलिकमलाई पनि असर पर्नु स्वाभाविक हो । यस परिप्रेक्ष्यमा संसारका अन्य सेवा प्रदायकहरुले जस्तै डाटा सेवा, भ्यालू एडेड सेवा तथा अन्य नवीन सेवाहरुको विकास र विस्तार मार्फत आय वृद्धि गरी अन्तर्राष्ट्रिय सेवाको आयमा आएको कमी पूर्ति गर्ने तर्फ कम्पनी निरन्तर प्रयासरत छ र आगामी दिनहरूमा सो प्रयासलाई अझ तीब्र बनाइनेछ । उक्त प्रयासहरूको फलस्वरूप भविष्यमा सो कमीलाई पूर्ति गर्दै परम्परागत अन्तर्राष्ट्रिय कलको भ्वाइस तर्फको राजस्वमा निर्भरता कम गर्दै लगिनेछ । 

अनुमतिपत्र नविकरण दस्तुर र कर समायोजनले गर्दा बढेको खर्च तथा प्रविधिगत रूपमा आएका चुनौतीका कारण आम्दानीमा देखिएको कमीका बाबजुद पनि कम्पनीले अनुमतिपत्र दस्तुर सहित सरकारी कोषमा बुझाउने राजस्व अघिल्लो आर्थिक वर्षभन्दा करीव रू ४ अर्बले बढेको छ । यसका अतिरिक्त मोबाइल सेवाको फोरजी प्रविधिमा स्तरोन्नति तथा स्थानीय टेलिफोन सेवाको एफटिटिएच प्रविधिमा रुपान्तरणको कामले पनि यसै वर्षदेखि मात्र गति लिएकोले कम्पनीको आम्दानीमा सोको असर चालू आर्थिक वर्षदेखि मात्र देखिन थाल्नेछ । 

फोरजी सेवाको देशैभर विस्तार गर्ने कार्यक्रम अनुसार सञ्चालित परियोजनामध्ये हालसम्म कोर उपकरणको जडान तथा परीक्षण सम्पन्न भैसकेको र रेडियो नेटवर्क तर्फको काम देशभरि नै द्रुत गतिमा अगाडि बढिरहेको छ । निकट भविष्यमा देशभर फोरजी सेवाको व्यावसायिक सञ्चालन गर्ने योजना अनुरुप कार्यहरू अगाडि बढिरहेका छन् । 

त्यसैगरि विद्यमान परिस्थितिमा पनि नेपाल टेलिकमले आम्दानी र मुनाफा अभिवृद्धि गर्ने भन्दा आफ्ना देशभरका सेवाग्राही महानुभावहरूलाई सुपथ मुल्यमा सेवा दिने जिम्मेवारीलाई बढी महत्व दिएको छ । विगतदेखि नै कम्पनीले आफ्ना सेवाहरू देशका अति विकट क्षेत्रहरूमा पनि समान दररेटमा उपलब्ध गराउँदै आएको छ । दुर्गम स्थानमा सेवा बिस्तार गर्दा लगानी अत्यन्त बढी हुने तर आम्दानी न्यूनतम हुने गर्दछ । तथापि कम्पनीले सार्वजनिक र उत्तरदायी संस्थाको हैसियतले देशका अति दुर्गम र विकट स्थानमा पनि सेवा पु¥याउन निरन्तर लगानी गर्दै आएको छ । यस्तो कार्यमा कम्पनीले आम्दानी र मुनाफा वृद्धिलाई मात्र सेवा विस्तारको आधार बनाएको छैन । 

कम्पनीको मोबाइल डाटा सेवाको महसुल देशमै न्यूनतम रहेको छ । यसका अतिरिक्त ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै कम्पनीले गत आर्थिक वर्षको शुरुदेखि नेपाल सरकारले लागू गरेको डाटा सेवाको नयाँ कर पद्धति अनुसार स्वाभाविक रूपमा डाटा सेवाको बजार मूल्य बढ्ने भए तापनि सेवाको विक्री मूल्य नबढाई साबिककै महसुल दर कायम गरेको छ । सोबाट पनि समग्र राजस्वमा केही असर परेको छ । कर बढ्दा पनि विक्री मूल्य नबढाई कम्पनीले सुपथ मूल्यमा सेवा दिने आफ्नो प्रतिवद्धता पुनः प्रष्ट्याएको छ । 

कम्पनीले वित्तीय स्वास्थ्यलाई थप सुधार गर्न ताररहित तथा तारसहित सेवाहरुको आमूल रूपान्तरण सहितको विस्तार, नवीन भ्यालु एडेड सेवाहरू, रोमिङ्ग लगायत अन्तर्राष्ट्रिय सेवाहरुको आम्दानीमा सुधार, सेवाहरूको गुणस्तरमा सुधार लगायतका कार्यक्रमहरू मार्फत प्रति ग्राहक राजस्व वृद्धि समेतका प्रयासहरू शुरू भैसकेका छन् । सोही प्रयास स्वरूप गत आर्थिक वर्षभित्र कम्पनीको डाटा खपत १२१ प्रतिशतले, भ्वाइस सेवाको प्रयोग ४४ प्रतिशतले तथा सक्रिय प्रयोगकर्ता संख्या १० प्रतिशतले वृद्धि भएको छ । यसबाट कम्पनीले अवलम्बन गरेको व्यापार प्रवद्र्धन र सेवाको विविधिकरण योजनाहरू मार्फत आम्दानी वृद्धि गर्ने आधार तयार भएको छ । सो अनुरुप कम्पनीले चालू आर्थिक वर्षभित्र करीब १० प्रतिशतको आम्दानी तथा मुनाफा वृद्धिको लक्ष्य लिएको छ । आम्दानी वृद्धिका अतिरिक्त कम्पनीले हरेक वर्ष आफ्नो गैरसञ्चालन खर्च कटौति गर्दै लैजानको लागि पनि विभिन्न उपायहरू अवलम्बन गरेको छ । 

राजस्व वृद्धि तथा खर्च नियन्त्रणका उक्त प्रयासहरू मार्फत कम्पनीको समग्र आम्दानी वृद्धि गरी समग्र वित्तीय अवस्थालाई अझ उकास्न तथा लगानीकर्ताहरूको लगानीको प्रतिफल सुनिश्चित गर्दै  Wealth Maximization  गर्न कम्पनी कटिवद्ध भै लागिपरेको छ । यसमा सम्पूर्ण ग्राहकवर्ग, शेयरधनी एवम् अन्य सरोकारवालाहरूबाट कम्पनीले निरन्तर प्राप्त गरेको विश्वास, सद्भाव तथा सहयोग कायम रहनेछ भन्ने विश्वास कम्पनी परिवारको रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved