५ अर्ब पुँजीको स्टक डिलर कम्पनी खुल्ने, सर्वसाधारणलाई पनि शेयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 25, 2019 | 02:30:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोषले ५ अर्ब चुक्ता पुँजी भएको स्टक डिलर कम्पनी खोल्ने भएको छ । कोषले सर्वसाधारणको समेत लगानी रहने गरी स्टक डिलर कम्पनी खोल्ने तयारी गरेको हो । यसमा सरकारको स्वामित्व रहेका अन्य कम्पनीले समेत लगानी गर्ने छन् । 

नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालका अनुसार नयाँ बन्ने स्टक डिलर कम्पनीमा कोषको ५१ प्रतिशत स्वामित्व रहने छ । त्यस्तै नेपाल टेलिकम, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा संस्थान, नेपाल पुनर्बीमा कम्पनी, संचय कोष, र निक्षेप तथा कर्जा सुरक्षण कोषले यसमा लगानी गर्ने छन् । सर्वसाधारणको २० देखि ३० प्रतिशत स्वामित्व रहने गरि काम अगाडी बढाईएको र कोष बाहेकका अन्य कम्पनीले बढी लगानी गर्ने इच्छा देखाए सर्वसाधारणको स्वामित्व घट्ने उनले बताए ।  केहि दिन मै लगानी मोडालिटीको टुंगो लगाउने र त्यसपछि कसको कति लगानी रहने बारे यकिन जानकारी हुने उनले बताए । लगानी मोडालिटी टुङ्गो लागेपछि कम्पनी दर्ता गरेर काम सुरु गर्ने योजना रहेको उनले बताए। 

यस अघि १० अर्ब पुँजीको कम्पनी खोल्ने भए पनि तत्कालको सो सम्भव नहुने देखिएकोले ५ अर्बको कम्पनी खोलिने उनले जानकारी दिए । उनले भने 'पुँजी भन्दा पनि बास्केट फण्ड महत्वपूर्ण कुरा हो, बास्केट फण्ड ठुलो नै हुन्छ' । 

वित्तीय क्षेत्र विकास रणनीतिमा पूँजी बजारको विकासका लागि भएका कार्यक्रम कार्यान्वयनको क्रममा कोषले स्टक डिलर कम्पनी खोल्ने भएको हो । कम्पनीले शेयर बजारमा लगानी गर्ने गर्ने र बजारलाई सन्तुलनमा राख्ने विश्वास गरिएको छ। कम्पनीले  नाफा मात्रै आर्जन गर्ने भन्दा पनि बजारलाई सन्तुलनमा राख्नको लागि बजार धेरै घट्दा शेयर उठाउने र बजार धेरै बढ्दा शेयर बेच्ने गरी काम गर्ने बताईएको छ।

अर्थ मन्त्रालयले पनि कोषलाई स्टक डिलर कम्पनी खोल्न भन्दै आएको थियो । कोष आफैले मात्र नसक्ने भएपछि सरकारी स्वामित्व भएका अन्य कम्पनीको लगानीमा कम्पनी स्थापना हुने भएको हो । 

हालको धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०७४ मा स्टक डिलरको व्यवस्था छैन। यो व्यवस्था थप गरी नियमावली संसोधनको क्रममा छ ।  संसोधनको लागि धितोपत्र बोर्डले मन्त्रालयमा प्रस्ताव पेश गरेको छ । मन्त्रालय स्वीकृति दिएपछि स्टक डिलरलाई काम गर्ने बाटो खुल्ने छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved