बिजपाटी सम्बाददाता     Feb 20, 2020 | 09:09:52 PM


tansen

बिहिबार नेपालको पुँजीबजारको इतिहास मै सबैभन्दा बढी रकमको कारोबार भएको छ । बिहिबार २३ हजार ९ सय कारोबारमा २ अर्ब ७८ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ । 

नेप्सेका अनुसार पछिल्लो समय अनलाइन मार्फत हुने कारोबार बढेको छ । नेप्से प्रबक्ता मुराहरी पराजुलीका अनुसार पछिल्लो ७ कारोबार दिनमा ३३ प्रतिशत कारोबार अनलाइन मार्फत भएको छ । गत वर्ष दैनिक औसत कारोबार ३० करोड हाराहारीमा रहेकोमा अहिले त्यो बढेर दैनिक औसत कारोबार रकम १ अर्ब ४२ करोड पुगेको नेप्सेले जनाएको छ । 

कसरि भयो यति धेरै कारोबार ?

बजारमा उत्साह आउनुमा एउटा मात्र कारण नभई विभिन्न कारण रहेको जानकारहरु बताउछन् ।  नेपाल इनभेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार बजारमा नयाँ लगानीकर्ता थपिएको र ठुला र संस्थागत लगानीकर्ता पनि पछि परिएला भनेर अहिले सक्रिय भएकोले बजारमा उत्साह थपिएको बताउछन् ।   

लामो समयदेखि लगानीकर्तामा उत्साह नरहेको र उनीहरुको मनोविज्ञान सकारात्मक नभएको बेला कम्पनीहरुको रिपोर्ट राम्रो आएको, बजार सुधारका प्रयासहरु पनि सुरु भएको, लगायतका कारणले पनि बजारमा उत्साह थपिएको उनको भनाई छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष आएसंगै बजार सुधारका कार्यक्रम बढेको, विभिन्न नियामावलीहरु संशोधन भएको लगायतका कारणले पनि बजारमा उत्साह थपिएको अध्यक्ष रौनियार बताउछन् 

तर सबै भन्दा माथि कम्पनीको अवस्था हुने र कम्पनीहरुको दोस्रो त्रैमाससम्मको रिपोर्ट राम्रो आएकोले पनि लगानीकर्ताहरु राम्रो राम्रो कम्पनी छानेर लगानी बढाउदै गएको उनी बताउछन् । तर सबै कम्पनी राम्रो नभएको भन्दै उनी लगानी गर्दा सोच विचार गर्न आग्रह गर्छन । उनी भन्छन् 'अहिले लघुवित्तहरुमा उत्साह देखिएको छ तर सबै लघुवित्त राम्रो छैन, बजार बढ्यो भन्दैमा हौसिएर लगानी गर्नु भन्दा कम्पनीको बारेमा बुझेर लगानी गर्नु पर्छ ' । उनले धेरै हौसिएर वा धेरै आत्तिएर भन्दा पनि बुझेर गुण र दोषको विश्लेषण गरी राम्रो योजना बनाएर मात्र लगानी गर्न सुझाव दिएका छन्। उनी आउने समय शेयर बजारको लागि राम्रो रहेको पनि दाबी गर्छन  

उता नेपाल स्टक ब्रोकर संघका अध्यक्ष भरत रानाभाट संस्थागत र ठुला लगानीकर्ता बजार प्रवेश गर्न थालेको र यहि संदेशले अन्य लगानीकर्ता पनि उत्साहित भएको बताउछन्  । अनलाइनले पनि कारोबार गर्न सहज बनाएको, लगानी गर्नलाई बैंकहरुले पनि सहज कारोबारको ब्यबस्था गरेको र किन्नेलाई पनि सहज भएकोले बजार बढेको उनी बताउछन्  । त्यस्तै अहिले लगानीकर्ताको आत्माविश्वास बढेकोले समग्र बजार सकारात्मक देखिएको उनको भनाई छ  

यता बजारका कारोबारी अर्थात सेयर ट्रेडरहरु बैंक बाहेकका क्षेत्रमा प्रवेश गरेर छोटो अवधिका लागि लगानी बढाउने क्रम बढेकाले कारोबार भोलुम बढेको फरक विश्लेषण छ।  कारोबारी हाबी हुँदा इन्डेक्स र कारोबार भोलुम बढ्दा राम्रो देखिएपनि उनिहरुको लहडमा लाग्ने नयाँ लगानीकर्तामा भने जोखिम बढ्ने भएकाले सतर्क भएर लगानी गर्नलाई समेत उनीहरुको सुझाब छ। 

उनीहरुकाअनुसार कारोबारीहरुलाई बजार बढ्दा कहाँबाट निस्किने थाहा हुन्छ तर आम सर्वसाधारण लगानीकर्तालाई हुदैन, त्यसैले उनीहरुको पछि लागेर लगानी गर्दा उनीहरुसँगै निस्किने नसक्नेहरुको लगानी जोखिममा पर्न सक्छ, त्यसैले लगानी गर्दा सतर्कताको खाँचो हुन्छ। 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका