८ महिनापछि हिमाल दोलखाले निष्काशन गरेको आईपिओ सुचिकृत भएको छ । सोमबार नेप्सेमा कम्पनीको १ करोड ६० लाख कित्ता शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसंगै मंगलबारबाट कम्पनीको कारोबार सुरु हुने छ । नेप्सेले पहिलो कारोबारको लागि ६५.३३ देखि १९५.९९ सम्मको रेन्ज तोकेको छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीइको नेटवर्थको आधारमा ३ गुणासम्म सुरुवाती रेन्ज तोक्ने गरेको छ ।
शेयर प्रत्याभूतकर्तासँगको विवाद भएपछि ढिलो गरी कम्पनीको आईपिओ सुचिकृत भएको हो । कम्पनीले गत असार २५ गतेदेखि आईपिओ निष्काशन गरेकोमा फागुन महिनामा बल्ल शेयर सूचीकरण भएको हो । लामो समयसम्म शेयर सूचिकृत नहुँदा लगानीकर्ताको सम्पति बन्धक भएको थियो ।
कम्पनीले ७६ लाख ७२ हजार २ सय १० कित्ता आईपिओ निष्काशन गरेको थियो । आईपिओमा ७२ हजार २ सय ५५ आवेदकले ३० लाख ९३ हजार २ सय ५० कित्ताको लागि आवेदन दिएका थिए । निष्काशन गरिए भन्दा कम शेयरको लागि आवेदन परेकोले सबै आवेदकले माग बमोजिम कै शेयर पाएका थिए ।
बिक्रि नभएको ४५ लाख ५३ हजार ९ सय ६० कित्ता शेयर भने अन्डरराईटरहरुले किन्नु पर्ने भएको थियो । कम्पनीको शेयरको लक्ष्मी क्यापिटल, नबिल इन्भेस्टमेन्ट बैंकिंङ, बिओके क्यापिटल र नेपाल बंगलादेश क्यापिटलले प्रत्याभूत गरेका थिए । ति कम्पनीले आफुले प्रत्याभूत गरेको शेयरको अनुपातमा बाँकि शेयर खरिद गर्नु पर्ने थियो ।
कम्पनीको शेयरको ३३.७० प्रतिशत नबिलले, ३२.८६ प्रतिशतले बैंक अफ काठमांडूले, २५ प्रतिशत लक्ष्मीले र ८.४२ प्रतिशत नेपाल बंगलादेश क्यापिटलले गरेका थिए । यी मध्ये लक्ष्मीले पुरै शेयर खरिद गरेपनि अन्यले भने शेयर खरिद गर्न आनाकानी गर्दा लामो समयसम्म शेयर सूचीकरण हुन् सकेको थिएँन। बाँकि ३ क्यापिटलले ५ लाख कित्ताको रकम दिन आनाकानी गर्दा शेयर सूचीकरणमा ढिलाई भएको थियो ।
यी ३ क्यापिटलले कम आईपिओ सुचिकृत गराउने प्रयास गरेका थिए तर त्यो प्रयास बोर्डले असफल पारिदिएको थियो । ति क्यापिटलले यस बारेको सूचना मिडियालाई नदिन 'दबाब' दिएको समाचार समेत बिजपाटीले प्रकाशित गरेको थियो । धितोपत्र बोर्डले ति क्यापिटललाई शेयर खरिद नगरे कारवाही गर्ने चेतावनी दिएपछि क्यापिटलले बाँकि शेयर खरिद गरेका हुन् ।
हिमाल दोलखाले विभिन्न जलविद्युत आयोजनाहरु निर्माण तथा संचालन गर्ने विभिन्न कम्पनीहरुमा लगानी गरेको छ। कम्पनीको ४.५ मेगावाट क्षमताको माई खोला साना जलविद्युत आयोजना र ईलाम नगरपालिका स्थित ८ मेगावाट क्षमताको माई साना क्यास्केड जलविद्युत आयोजनाले बिद्युत उत्पादन थालिसकेको छ। दुवै आयोजनाको लागत क्रमशः ७२ करोड ५३ लाख र १ अर्ब ३४ करोड ५७ लाख छ। त्यस्तै कम्पनीको १९ प्रतिशत लगानी संखुवासभामा रहेको ९७.२ मेगावाटको इशुवा खोलामा रहेको छ । यस आयोजनाको प्रति मेगावाट लागत १० करोड मात्र रहेको छ ।