बजार बढ्दा पनि किन ब्रोकरबाट ऋण लिन आएनन् लगानीकर्ता ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2020 | 02:36:51 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर बजार बढ्दा पनि लगानीकर्ताहरु मार्जिन कारोबारमा आकर्षित नभएको पाईएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेबाट मार्जिन कारोबारको लागि अनुमति पाएका २१ ब्रोकर मध्ये हालसम्म २ वटाले मात्र कारोबार गरेका छन् । हालसम्म  ५० नम्बर र ३३ नम्बरको ब्रोकरबाट मात्र मार्जिन लोनको कारोबार भएको हो ।

अन्य १९ ब्रोकर पनि मार्जिन ऋण दिनको लागि योग्य भएपनि लगानीकर्ताहरुले ऋण लिन चासो नदिएका हुन् । कारोबार गरेका २ वटा ब्रोकरको पनि कारोबार भने न्यून  रहेको ब्रोकरहरुले आफै स्वीकार गरेका छन् । 

नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार ब्रोकरले भन्दा बैंक मै सस्तो ब्याजदर ऋण पाइने भएकोले ब्रोकरमा आकर्षण नबढेको बताउछन् । पहिला बैंकमा ऋण लिन झन्झट हुने भएपनि अहिले सहज भएको र ब्रोकरभन्दा सस्तो मै ऋण पाएकोले मार्जिन लोन प्रभावकारी हुन् नसकेको बताउछन् । साथै ब्रोकरले सबै लगानीकर्तालाई नभई आफुले विश्वास गरेकालाई मात्र ऋण दिने भएकोले पनि लगानीकर्ताहरुले बैंक नै रोजेको उनी बताउछन् । 

नेपाल स्टक ब्रोकर एसोसिएसनका संघका अध्यक्ष भरत रानाभाट पनि लगानीकर्ताहरुलाई ब्रोकरबाट भन्दा बैंकबाट सेयर कर्जा लिन सजिलो भएकाले मार्जिन कर्जामा लगानीकर्ता आकर्षित नभएको बताउँछन् ।  मार्जिन कारोबार कार्यान्वयनमा केहि प्राविधिक बिषय चुनौतीको रुपमा देखिएकाले सोचे जस्तो काम हुन नसकेको उनी बताउछन् । उनले मार्जिन लोनमा भएका केहि व्यवस्था संंशोधन गर्न लागिएको समेत बताए । 

एउटा कम्पनीमा १० प्रतिशत भन्दा बढी लगानी गर्न नपाउने व्यवस्था, योग्य कम्पनी छनौट मापदण्ड, र ऋण लिन पाउने ५० प्रतिशतको सिमालाई संशोधन गर्न नेप्सेमा निवदेन दिएको उनले बताए । मार्जिन कारोबारमा लगानीकर्ताको आकर्षण कम परेपछि ब्रोकरले त्यसमा भएको विधिहरु संशोधन गर्न माग गरेको हो । मार्जिन कर्जा ५० प्रतिशतको सिमालाई संशोधन गरी ७० प्रतिशतसम्म पु¥याउन सके लगानीकर्ताहरुको आकर्षण बढ्ने उनको विश्वास छ । 

त्यस्तै धितोपत्रको बजार मूल्यको ५० प्रतिशतले हुन आउने रकम लगानीकर्तासंग आदेश दिनु पूर्व नै सुरु मार्जिन को रुपमा लिनु पर्ने व्यवस्थालाई संसोधन माग गरिएको छ। यी बाहेक बीमा कम्पनीहरु पनि मार्जिनको लागि योग्य हुने गरी संसोधन माग गरिएको छ ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलिले मार्जिन लोनको कार्यविधि संशोधन गर्न नेपाल धितोपत्र बोर्डमा प्रस्ताव पठाई सकिएको बताए । बोर्डले भने यस विषयमा केहि निर्णय गरेको छैन । बोर्डका सह प्रवक्ता रुपेश के.सीले कार्यविधि संशोधन गर्ने बारे छलफल भएको र निर्णय भइनसकेको बताएका छन् । अन्तर्राष्ट्रिय स्तरमा मार्जिन लोनको अभ्यास कस्तो छ हेरेर मात्र संशोधन गर्ने उनले बताए । ‘५० प्रतिशतको ऋण  संशोधन हुन पनि सक्छ नहुन पनि सक्छ।’ उनले भने । 


मार्जिन कारोबार सेवा के हो ?

शेयर खरिद गर्दा ब्रोकरले ग्राहकलाई दिने ऋण नै मार्जिन कारोबार हो। लगानीकर्ताले आफुले किन्न खोजेको सेयरको आधा पैसा आफै व्यहोर्ने र बाँकी आधा ब्रोकर मार्फत ऋण लिने प्रक्रिया नै मार्जिन कारोबार हो। 

यसरि ब्रोकरबाट ऋण लिए बापत लगानीकर्ताले निश्चित ब्याज तिर्नुपर्छ। यसरि लिईने ऋणको ब्याजदरबारे नेप्सेले केहि नबोलेपनि लगानीकर्ता र ब्रोकरको आपसी सहमतीमा यस्तो ब्याजदर तोकिने प्रावधान छ। 

ब्रोकर मार्फत मार्जिन कारोबारको सुविधा लिएर खरिद गरिएको सेयरको लागि लगानीकर्तासंग अलग्गै डिम्याट, केवाईसी खाता हुनुपर्छ। अहिलेको अवस्थामा ब्रोकरको मार्जिन लेन्डिंङ खाता भएको ठाउँबाट नै ऋण लिने ग्राहकले डिम्याट खाता खोल्नुपर्छ। 

सबै प्रक्रिया पुरागरे पश्चात ब्रोकरबाट प्राप्त हुने मार्जिन लोन लगानीकर्ताले व्याजसहित निश्चित अवधिमा भुक्तानी गर्नु पर्छ। यदी ग्राहकले सो रकम नतिरेमा धितोपत्र बेचेर ब्रोकर कम्पनीले अशुल्न सक्ने अधिकार दिइएको हुन्छ। आफ्नो रकम अशुलेपछि बाँकी रकम भने सम्बद्ध ग्राहकलाई दिनुपर्दछ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved