शिब धिताल/बिजपाटी     Mar 10, 2020 | 11:23:00 PM


tansen

मंगलबार शेयरबजार परिसूचक नेप्से ६ प्रतिशतले घटेपछि लगानीकर्ताहरु झस्किएका छन् । दुई वटा लगानीकर्ता संघले संयुक्त विज्ञप्ति जारि गर्दै बजारप्रतिको निराशाले गम्भीर भएर सोच्न बाध्य बनाएको भन्दै लगानीकर्तालाई अत्यन्त संयमित र धैर्य भई स्वविवेक प्रयोग गरेर लगानी गर्न आग्रह गरेका छन् । यी संघले कोरोना भाइरस लगायतका अफवाहको पछाडी नलाग्न समेत आग्रह गरेका छन् । 

मंगलबारको बजारलाई धेरैले कोरोना भाइरससँग जोडेर विश्लेषण गरेका छन् । तर जानकारहरु भने कोरोना र बजार घट्नुको सम्बन्ध नरहेको बताउछन् । हेर्नुस कसले के भने ?

मात्तिएर किन्नेहरु आत्तिए : छोटेलाल रौनियार, अध्यक्ष, नेपाल इन्भेस्टर फोरम

नेपालमा अन्य देशमा जस्तो कोरोनाको भयावह रुप छैन, सरकारले आफ्नो दायित्व स्वरुप सावधानी अपनाएको छ । कोरोनाले हाम्रो बजारलाई केहि क्षति गरेको छैन । नेपालको बजारमा सूचिकृत सबै यहिका कम्पनी हुन् । कोरोनाका कारण कम्पनीहरु बन्द हुने, विदेशी लगानी पैसा झिकेर बाहिर जाने अवस्था छैन । बहु राष्ट्रिय कम्पनीहरु छैनन् । बजारमा नेपाल कै बैंक, वित्तीय संस्था र बीमा बाहुल्यता छ ।  होटेल समुहमा केहि ब्यापार कम भएर त्यसले प्रभाव पार्न सक्ला तर चीनमा भाइरस नियन्त्रण तर्फ  गएकोले अन्य स्थानमा ढिलो चांडो नियन्त्रण हुने नै छ । 

कोरोनाले नेपालमा आपत विपत ल्याउने जस्तो पनि देखिदैन । तेलको मूल्य घटेको छ, यदि नेपालले तेल उत्पादन गरेर बाहिर बेच्ने भएको भए तेलको मूल्य घट्दा नेपाललाई घाटा हुने थियो । त्यो अवस्था छैन । सस्तोमा तेल पाउँदा नेपाललाई फाइदा नै छ । हामी कोरोना भनेर आत्तिनु पर्ने अवस्था थिएँन । विश्व बजारमा गिरावट आएको छ । तर त्यहाँ बहु राष्ट्रिय कम्पनी थिए, उनीहरुलाई अप्ठेरो पर्यो । नेपालमा त्यो छैन । 

शेयर बढेको बेलामा तछाडमछाड गरेर मात्तिएर शेयर किन्नेहरु अहिले घटेको बेलामा आत्तिएर बेच्न थाले । केहि लगानीकर्ताले नाफा बुक गरेर बाहिरिए ।  नयाँ लगानीकर्ता डराएर भागे । केहि समुह नराम्रो कुराको प्रचार गरिरहेका छन् । दुष्प्रचार गरेर सस्तोमा शेयर उठाउने खेलमा पनि केहि लागेका छन् ।  आत्तिनु पर्ने कारण केहि छैन ।  नीतिगत ब्यबस्थामा केहि परिवर्तन भएको छैन ।  आज घटेको शेयर मूल्य भोली बढ्छ, केहि दिन मै रिकभर हुन्छ । हतारमा बेच्नेहरु पछुताउने छन् ।  बजार बढेको बेलामा कम्पनीको विश्लेषण नै नगरी मात्तिएर किन्ने हरु बढी मारमा पर्छन ।  मात्तिएर किन्ने, आत्तिएर बेच्ने काम गर्नु हुदैन । शेयर किन्दा होसियारपुर्वक गर्नु पर्छ । बजार बढेको बेलामा ब्रोकर हाउसमा खुट्टा राख्ने ठाउँ हुदैन ।  त्यहि बेलमा किन्छन् ।  घटेर रातो हुँदा किन्ने गरौ । 

 

मनोविज्ञानमा असर परेको छ, त्यो क्षणिक हुनेछ : अम्बिका पौडेल, पुर्व अध्यक्ष, नेपाल इन्भेस्टर फोरम

बिगतको ट्रेन्ड हेर्दा नेपालको पुंजी बजारले विश्व बजारलाइ पछ्याएको देखिदैन । विदेशी लगानी र लगानीकर्तासँग नजोडिएकाले विश्व सेयर बजारमा देखिएको गिरावटको असर नेपालको सेयर बजारमा नपर्नु पर्ने हो।  लगानीकर्ताको मनोविज्ञानमा केहि असर परेको छ, यो क्षणिक हुनेछ।  विश्वको सेयरबजारमा देखिएको कोरोना र तेलको फ्याक्टर नेपाली बजारमा नदेखिएकाले सेयरबजारमा त्यसको असर पर्नु पर्ने कारण छैन ।

 

भरत रानाभाट: अध्यक्ष, ब्रोकर संघ

४ दिनको अवधिमा खुलेको बजारमा कोरोनाको प्रभाव परेको देखिन्छ । ४ दिनको अवधिमा विश्वका विभिन्न शेयर बजारमा आएको गिरावट लगानीकर्ताले देखेका छन् त्यसको असर नेपालमा पर्ने त्रासमा लगानीकर्तालेएकै पटक शेयर फ्याल्न खोजे त्यसैले लगातार सर्किट लाग्यो अलिकति सम्हालिएको भए यस्तो प्रभाव हुने थिएँन

कोरोनाले नेपालमा त्यस्तो ठुलो असर गर्ला जस्तो लाग्दैन सूचकमा गिरावट आएपनि कम्पनीहरुको नाफामा भने गिरावट आउने देखिदैन लगानीकर्तामा त्रास देखिएको हो, तर यति धेरै त्रसित हुनु पर्ने अवस्था भने छैन । सामाजिक संजालले पनि त्रास बनाउने वातवरण बनाएको जस्तो देखिन्छ ।


कोरोना बहाना मात्र हो: विष्णु प्रसाद बस्याल, प्राविधिक विश्लेषक

कोरोना बजारको लागि एउटा बहाना मात्र हो कोरोनाले बजारलाई असर गरेको छैन बजार करेक्सन हुने बेलामा कहिले अर्थमन्त्रीलाई दोष दिईन्छ, अहिले कोरोनालाई दिईदैछ लघुवित्त र बीमामा ‘पम्प एण्ड डम्प’ देखिएको थियो, पम्प गरेर माथि लगिएका कम्पनीमा गिरावट आउनु स्वभाविक नै थियो त्यसैको सेन्टिमेन्टले बैंकिंग समुहमा पनि गिरावट आयो लघुवित्त र बीमाको गिरावट आवश्यक थियो र स्वभाविक पनि थियो

सूचकमा आएको गिरावट एक डेढ महिनापछि आएको भए स्वभाविक मान्न सकिने अवस्था थियो । तर छिट्टै आएकोले त्रासको वातावरण बनेको छ । तर हामीले बुल मार्केटको यात्रा सुरु गरिसकेका छौ बजार घट्नुलाई खरिद गर्ने अवसरको रुपमा लिनु पर्छ आउने ३-४ वर्ष बुल मार्केट नै छ चिन्ता गर्नु पर्ने अवस्था छैन

विश्व बजारमा सेन्टिमेन्ट खस्केको छ नेपालमा त्यहि सेन्टिमेन्टले केहि काम गरेको छ विश्व बजारमा पनि घटेका बजारहरु बढ्न थालिसकेका छन् हाम्रो बजारमा पनि रिकभरी आउने सम्भावना छ

नेपाल र विश्व बजारको कुनै लिंक छैन: डा. गोपाल भट्ट , पुँजीबजार विज्ञ   

केहि समय अगाडी अर्थमन्त्रीको बहिर्गमनको कुराले लगानीकर्ता हौसिएका थिए । उहाँको निरन्तरताले लगानीकर्ताले केहि हच्किएका हुन् सक्छन् विश्व बजार र नेपालको बजारको कुनै लिंक नै छैन भारतीय बजारसँग पनि नेपाली बजारको सम्बन्ध छैन भारतमा तिब्र गिरावट आउँदा नेपालमा बढेको थियो खेलाडीहरुले खेलेका छन् । घटेको बेलामा किनेर बढ्दा बेचेका छन् । फेरी खरिद गर्नको लागि घटाएका छन् । नेपालको बजार यहिका लगानीकर्ताको वरिपरी र राजनितिक विषयको वरिपरी घुम्ने हो

Share your thoughts!

शिब धिताल/बिजपाटी

Shiva Dhital