सेबोन अध्यक्षको कार्यक्षमतामा प्रश्न, सेयरबजारलाई अनिर्णयको बन्दी बनाएको आरोप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2020 | 04:21:01 PM मा प्रकाशित

laxmi  sunrise bank

बिगतमा झैं सहि समयमा उचित निर्णय लिन नसक्दा सेयरबजार अनिर्णयको बन्दी मा फसेको छ। सेयरबजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्डले सहि समयमा उचित निर्णय लिन नसक्दा त्यसको नकरात्मक असर सिंगो सेयरबजारमा देखिएको छ। 

सरकारले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथामका लागि चैत ९ देखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गर्यो। त्यसलगत्तै सेयरकारोबार खुला हुन्छ हुदैन भन्ने चाँसो सेयर लगानीकर्तामा देखियो। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बेलुका ६ बजेतिर देशबासीको नाममा विशेष सम्बोधन गर्दै अत्यावश्यक बाहेकका सबै सेवा चैत ९ देखि २१ सम्म बन्द गर्ने निर्णय गरेको घोषणा गरे। 

प्रधानमन्त्रीको घोषणा लगत्तै सेयरबजार खुला राख्ने कि बन्द गर्ने निर्णय लिनलाई आइतबार बिहान अर्थात ४०  घण्टा सम्म नियामक नेपाल धितोपत्र बोर्डसँग प्रशस्त समय थियो। तर बोर्डले आइतबार बिहान बैठक डाकेपनि निर्णय लिन नसक्दा लगानीकर्तामा अन्यौलता छायो भने लगानीकर्ताका संगठनका नेताहरु नेप्सेको प्राङ्गणमा जान बाध्य भए। 

नियामकको हैसियतले बजार सुचारु गर्ने वा नगर्ने भन्नेबारे ठोस निर्णय लिएर नेप्से लगायतका सरोकारवालालाई निर्देशन दिनुपर्ने धितोपत्र बोर्डले नै आइतबार झारो टार्ने गरि संचालक समितिको बैठक डाक्यो। 

धितोपत्र बोर्डको संचालक समितिको बैठकले बजार बन्द गर्ने वा सुचारु राख्ने भन्ने केहि निर्णय नलिई डिप्लोम्याट बन्दै 'क्लोज मनिटरिङ' गर्न सेबोनको व्यवस्थापनलाई निर्देशन दियो। तर नेप्सेलाई न त कुनै निर्देशन दियो न त सुझाब नै। जसले गर्दा नियामकको निर्णयको पर्खाईमा रहेको नेप्सेले अन्तंत सेयरकारोबार रोक्न सकेन र नियमित तालिकाअनुसार नै आइतबार अन्योलका विचमा सेयर कारोबार भयो। 

बोर्डका अध्यक्ष ढुंगानाले सरकारले शुक्रबार बेलुका घोषणा गरेको निर्णयलाई देखाएर नेप्सेलाई निर्देशन नदिएको तर्क सारेपनि उनको तर्कमा दम नभएको स्वयम धितोपत्र बोर्डका कर्मचारी बताउँछन। बोर्डका एक कर्मचारी भन्छन, 'सरकारको निर्णय नै सर्वोपरी थियो भने आइतबार संचालक समितिको बैठक किन डाकेको,  क्लोज मनिटरिङ गर्नलाई बोर्ड व्यवस्थापनलाई निर्देशन किन दिएको, यो सबै अरुलाई नराम्रो देखाएर आफु राम्रो बन्ने नकारात्मक सोच मात्र हो। '

नेप्सेले कारोबार रोक्न नसकेपछि सेयर कारोबार बन्द गर्नुपर्ने माग राखेर नेप्से पुगेका लगानीकर्ताका संगठनहरु नेप्सेसँग रुष्ट बने र थप छलफल गर्न अर्थमन्त्रालय पुगे। त्यहीं धितोपत्र बोर्डबाट कुनै निर्णय नआएकाले नेप्सेका सीईओ साउद समेत अर्थमन्त्रालय पुगे। 

लगानीकर्ताका नेताहरुले अर्थमन्त्रालयका कामू राजस्व सचिव रामशरण पुडासैनीसँग भेट गरेर त्यहाँबाट सिधै धितोपत्र बोर्ड पुगे भने नेप्सेका सीईओ साउद अर्थमन्त्रीसँग भेटेर त्यहाँबाट सिधै धितोपत्र बोर्ड पुगे। 

सरकारले शुक्रबार बेलुका नै अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको र सेयरबजार अत्यावश्यक नभएको तर्क गरेर धितोपत्र बोर्डका अध्यक्ष भिष्म राज ढुंगानाले सेयर कारोबार गर्ने नगर्ने निर्णय लिएनन्।  तर अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय भएपनि अत्यावश्यक सेवा समेत बन्द भएको भन्ने कुरा अध्यक्ष ढुंगानाले नबुझ्दा उनि आफु त चुकेका छन, त्यसले सिङ्गो सेयरबजार र लगानीकर्तामा अन्यौलको माहोल बनाएको छ। धितोपत्र बोर्डको यस्तो कदमले आम सर्वसाधारणमा सेयरबजार माथिको बिश्वास गुम्ने खतरा उत्तिकै रहन्छ। 

यति मात्र नभई सेयर कारोबार सुचारुको बिषयलाई लिएर शेयर दलालहरु समेत दुई पक्षमा विभाजन भए। ३५ शेयर दलालहरुले ब्रोकर कार्यालय पूर्ण रुपमा बन्द गरिसके भने १५ ले कार्यालय तथा कारोबार प्रणाली सुचारु राखे। यो अवस्थामा भएको कारोबारको राफसाफ अनि गत साता बुधबार र बिहीबार भएको कारोबारको राफसाफ नहुने चिन्ताले सबैजसो शेयर दलालहरु नियामक निकाय धितोपत्र बोर्ड तथा फ्रण्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज धाइरहे र धितोपत्र बोर्डले यसो नै गर्नु भन्ने ठोस निर्णय गर्न नसक्दा अन्यौलतानै रह्यो। 

बजारलाई कुन मोड दिने भन्नेमा धितोपत्र बोर्डको निर्णय पर्खिएर बसिरहेपनि कुनै निर्देशन नआएपछि नियमित झैं सेयर कारोबार सुचारु राख्न बाध्य भएको नेप्सेका कर्मचारीको गुनासो छ। 

सेयरबजारलाई अन्यौलमा राखेर लगानीकर्ता तथा सरोकारवालाबीच विवाद बढाउने काम गरेको भन्दै बोर्डका अध्यक्ष ढुंगानाको कामप्रति अर्थमन्त्री डा. युवराज खतिवडाले असन्तुष्टि जनाएको स्रोतको भनाई छ। ४० घण्टासम्म पनि बजारको प्रमुख निकायका रुपमा रहेर ठोस निर्णय लिन नसकेको भन्दै धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाको कार्यक्षमतामाथि अर्थमन्त्रालयले प्रश्न उठाएको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved