कसरी 'यु-टर्न' भए सेवा बन्द घोषणा गरेका सेयर ब्रोकर ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 22, 2020 | 06:18:10 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार ब्रोकरहरुले शेयर कारोबार नगर्ने घोषणा गरेपनि १९ करोड ४६ लाख बराबरको कारोबार भएको छ । ब्रोकरहरुले शनिवार नै शेयर कारोबार नगर्ने घोषणा गरेका थिए । सरकारले चैत ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्न निर्देशन दिएको र आफ्नो सेवा अत्यावश्यक भित्र नपर्ने भन्दै ब्रोकरले सेवा बन्द गर्ने निर्णय गरेका थिए । 

ब्रोकरले कारोबार नगर्ने घोषणा गरेपनि नियामक निकाय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज नेप्सेले बजार खुल्ने वा नखुल्ने विषयमा केहि सूचना जारि गरेका थिएनन् । आइतबार बिहान बसेको नेप्सेको संचालक समितिको बैठकले बजार सुचारु नै राख्ने निर्णय गरेपछि बजार बन्द गर्न नेप्से कार्यालय मै पुगेका थिए ।  

त्यस बेलासम्म बजारमा कारोबार सुरु भईसकेको थियो । बजार सुरु भए पनि लगानीकर्ताका नेताहरुले बजार बन्द गर्न माग गर्दै नेप्से प्रमुख चन्द्र सिंह साउदलाई कुरा राखे । संचालक समितिले नै बजार खुला राख्ने निर्णय गरेको साउदले लगानीकर्तालाई सुनाए । 

त्यति बेलासम्म बजारमा थप कारोबार भईसकेको थियो ।  केहि ब्रोकरहरुले बिहिबार टिएमएस सर्भर लग आउट गर्न बिर्सेको र अनलाइनबाट अर्डर राखेर बजारमा कारोबार सम्भव भएको चर्चा चलेको थियो ।  तर नेप्सेले नै कारोबारको लागि सर्भर अन गरेपछि ब्रोकरहरुलाई कारोबार गर्न नैतिक दबाब पर्यो ।  बिस्तारै ब्रोकरहरुले आफ्नो सर्भरमा लग इन् गरेर अर्डर लिन थाले ।  

कसरी युटर्न भए ब्रोकर ? 

नेपाल स्टक ब्रोकर संघका अध्यक्ष भरत रानाभाट आफुहरुले सेवा बन्द गर्ने घोषणा गरेपनि नियामकबाट केहि थप निर्देशन आएमा सोहि अनुसार गर्ने पहिले नै उल्लेख गरेको बताउछन् ।  नेप्सेले सर्भर अन गरेपछि त्यसलाई नै बजार खुला राख्नु भन्ने निर्देशनको रुपमा लिएर अर्डर लिएको उनी बताउछन् ।  उनले भने 'हामीलाई बजार बन्द हुन्छ भन्ने लागेको थियो, तर नेप्सेले सर्भर अन गरेपछि त्यसलाई नै निर्देशनको रुपमा लिएर कारोबार गरेका हौ' ।  भोलीलाई भने नियामकले निर्देशन दिए अनुसार नै काम गर्ने उनले बताए । नेप्सेले सर्भर अन गरेपनि आज सबै ब्रोकरले भने कारोबार गरेनन् । संघका अध्यक्ष रानाभाट ' सेवा बन्द गर्ने भनिएको तर नेप्सेले सर्भर अन गरेपछि कारोबार हुने नहुनेमा कन्फ्युज भएर सबैले कारोबार गर्न नसकेको' बताउछन् । 

रानाभाटले कन्फ्युजनको कुरा गरेपनि नेप्सेले भने कारोबार नगर्ने ब्रोकरको सुची तयार पार्न थालेको थियो ।  नेप्से प्रमुख साउदले कारोबार नगर्ने ब्रोकरलाई कारवाही गर्नुपर्छ भन्दै कारोबार नगर्ने ब्रोकरको सुची तयार पार्न निर्देशन दिएका थिए ।  सुची तयार पार्ने जिम्मा पाएका कर्मचारीले सिस्टम अफ राखेर अन राखेका छौ भन्ने ब्रोकरहरु पनि फेला पारेका थिए ।  सीइओ साउदलाई पनि सोहि अनुसार रिपोर्टिंग भएपछि कारवाही हुने डरले ब्रोकरहरु बाध्य भएर कारोबार गर्न थालेको स्रोत बताउछ ।  

२ वटाले गरेनन् कारोबार 

आइतबार २ वटा ब्रोकरले भने कारोबार गरेनन् ।   पुरानो बानेश्वरमा रहेको ब्रोकर नम्बर १९ (नेपाल इन्भेस्टमेन्ट एण्ड सेक्युरिटीज ट्रेडिङ) र पुतलीसडकमा रहेको ब्रोकर नम्बर २१ ( मिदास स्टक ब्रोकिंग ) ले कारोबार नगरेका हुन् ।  नेप्से प्रमुख साउदले कारोबार नगर्ने ब्रोकरहरुलाई ऐनमा ब्यबस्था भए अनुसार कारवाही गर्ने बताएका छन् । यद्यपि उनले कारोबारको प्रकृतिबारे खुलाएनन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved