नेप्सेमा ८१ अर्बको शेयर सुचिकृत, बजार पुँजीकरण १६०० अर्ब

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

May 18, 2020 | 11:30:54 AM मा प्रकाशित

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ९ महिनाको अवधिमा ८१ अर्ब ५५ करोडको शेयर सुचिकृत भएको छ  । आर्थिक वर्ष २०७६÷७७ को नौ महिनामा रु.२६ अर्ब २५ करोड बराबरको बोनस शेयर, रु.२१ अर्ब ४६ करोड बराबरको डिबेन्चर, रु.१२ अर्ब १६ करोड बराबरको साधारण शेयर, रु.५ अर्ब ७५ करोड बराबरको म्युचअल फण्ड, रु.४ अर्ब ११ करोड बराबरको हकप्रद शेयर र रु.११ अर्ब ८३ करोड बराबरको अन्य गरी कुल रु.८१ अर्ब ५५ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

 समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.२१ अर्ब ४५ करोड बराबरको डिबेन्चर, रु.४ अर्ब ४१ करोड बराबरको हकप्रद शेयर, रु.३ अर्ब २३ करोड बराबरको साधारण शेयर र रु.१ अर्ब ८० करोड बराबरको म्युचुअल फण्ड गरी रु.३० अर्ब ८९ करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ ।

२०७५ चैत मसान्तमा ११८४ विन्दु रहेको नेप्से सूचकाङ्क २०७६ चैतमा १२५१.५ विन्दु कायम भएको छ । २०७६ असार मसान्तमा यस्तो सूचकाङ्क १२५९ रहेको थियो । २०७६ चैत मसान्तमा धितोपत्र बजार पँुजीकरण रु. १६०० अर्ब २० करोड कायम भएको छ । २०७६ असार मसान्तमा बजार पुँजीकरण रु. १५६७ अर्ब ५० करोड रहेको थियो ।

नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको छ । सूचीकृत कम्पनीहरूमध्ये १४८ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३३ जलविद्युत कम्पनी, १९ उत्पादन र प्रशोधन उद्योग, ४÷४ होटल तथा व्यापारिक संस्था र ४ अन्य समूहका रहेका छन्। २०७६ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१५ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ८०.१ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ५.९ प्रतिशत, उत्पादन र प्रशोधन उद्योगको हिस्सा ३.७ प्रतिशत, होटेलको हिस्सा १.३ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.३ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.८ प्रतिशत रहेको छ । नेप्सेमा २०७६ चैतसम्ममा सूचीकृत ४ अर्ब ७० करोड शेयर संख्याको चुक्ता मूल्य रु.४६० अर्ब ४६ करोड रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved