पीएमएस सेवा लिएका लगानीकर्ताले कसरी आफै शेयर कारोबार सुरु गर्ने ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2020 | 09:00:08 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयरबजारमा लगानी गर्न चाहने तर विविध कारणले आफु स्वयंले नै खरिद बिक्रि निर्णय गर्न नसक्ने लगानीकर्ताहरुले लगानी व्यवस्थापन सेवा (पीएमएस) लिएर धितोपत्र बजारमा लगानी गरिरहेका हुन्छन् । धितोपत्र बोर्डबाट अनुमति प्राप्त मर्चेन्ट बैंकरहरूले (पीएमएस) सेवा दिने गरेका छन् ।

यसमा मर्चेन्ट बैंकरहरूले निश्चित सेवा शुल्क र मुनाफामा हिस्सेदारी सहित लगानीकर्ताको तर्फबाट धितोपत्रमा लगानी, जोखिम र प्रतिफल व्यवस्थापन गरिदिन्छन् ।

सुरुमा बजार प्रवेश गर्दा ज्ञानको अभाव, समय अभाव, जोखिमको विश्लेषणको अभाव, लगायतका विविध समस्याले लगानीकर्ताले पीएमएस सेवा लगायतका सेवा लिएका हुन्छन्। तर निश्चित समयपछि पीएमएस सेवा लिएका लगानीकर्ताले आफै लगानी गर्न चाहेमा आफैले शेयर खरिद बिक्रिको कार्य गर्न सक्छन् । 

यसको दुई वटा विकल्प छ । पहिलो पीएमएस संचालन गरिरहेकै खाता मार्फत शेयर कारोबार गर्ने । तर पीएमएस सेवा निश्चित वर्षको लागि गरिएको छ र सम्झौता अनुसार अहिले नै त्यो खाता लगानीकर्ताले संचालन गर्न नमिल्ने हुन सक्छ । यो लगानीकर्ताले पीएमएस गर्दाका शर्तमा भर पर्छ ।

यदि शर्त अनुसार सोहि खाता मार्फत लगानी गर्न तत्काल नमिल्ने भएमा लगानीकर्ताले अर्को खाता खोलेर लगानी सुरु गर्न सक्छन् । त्यसको लागि छुट्टै डिम्याट खाता आवश्यक पर्छ । लगानीकर्ताले पीएमएस सेवाको लागि जहाँ डिम्याट खोलेको छ, त्यो भन्दा फरक ठाउँमा नयाँ डिम्याट खाता खोलेर आफै कारोबार गर्न सक्छन्। नेपाल धितोपत्र बोर्डले एक लगानीकर्ताले २ वटासम्म डिम्याट खाता खोल्न सक्ने ब्यबस्था गरेकोले २ वटा डिम्याट खाता हुँदा समस्या हुदैन । 

त्यस्तै आफैले शेयर कारोबार गर्नेभएपछि आफ्नै नाममा छुट्टै अर्को बैंक खाता खोल्नु पर्छ । पीएमएस सेवाको लागि प्रयोग गरिरहेको बैंक खाता पनि प्रयोग गर्न सकिन्छ, तर नगद लाभांश आउने बेलामा झुक्किन सक्छ । त्यस्तै आईपिओमा आवेदन दिने बेलामा पनि पीएमएसले पनि सोहि खाता प्रयोग गर्ने भएकोले छुट्टै बैंक खाता खोल्नु उपयुक्त हुन्छ।

त्यस्तै डिम्याट खाता र बैंक खाता भएपछि तेस्रो नम्बरमा सीआरन नम्बर चाहिन्छ । सीआरएन नम्बर आफ्नो खाता भएको बैंकबाट लिनु पर्छ । सार्वजनिक निष्काशनमा आवेदन दिंदा सीआरएन नम्बरको आवश्यकता पर्छ ।

त्यस्तै दोस्रो बजारमा कारोबार गर्नको लागि दोस्रो बजारमा धितोपत्र किनबेच गर्नको ब्रोकर आईडी खोल्नु पर्छ। यसको लागि आफुले कुन ब्रोकर मार्फत करोबार गर्ने हो, सो ब्रोकरमा केवाईसी फारम भरेर ब्रोकर आईडी लिनु पर्छ।

ब्रोकर आईडी मात्र हुँदा ब्रोकरलाई फोन वा एसएमएस वा इमेल मार्फत शेयर खरिद बिक्रिको अर्डर दिन सकिन्छ । तर आफैले अनलाइन मार्फत शेयर खरिद बिक्रि गर्ने भए अनलाइन आईडी र पासवर्डको लागि अर्को फारम भर्नु पर्छ।

सम्बन्धित ब्रोकरको टिएमएस वेबसाइटमा गई अनलाइन मार्फत नै यसको लागि आवेदन दिन सकिन्छ । आवेदनपछि सबै प्रक्रिया पुरा भएको भए आइडी पासवर्ड आउँछ भने केहि प्रक्रिया नपुगेको भए इमेल मार्फत जानकारी प्राप्त हुन्छ। त्यसपछि ब्रोकरको निर्देशन अनुसार त्यसलाई पुरा गर्नु पर्छ । त्यस्तै  एक पटकमा ५ लाखभन्दा बढीको शेयर किनबेच गर्ने भए स्थायी लेखा नम्बर (प्यान) अनिवार्य छ । तर प्यान लिंदा कुनै शुल्क नलाग्ने भएको र आफुले कारोबार गर्दा कति कर तिरिएछ भन्ने हेर्नको लागि पनि प्यान लिनु लाभदायक हुन्छ । प्यान भएको खण्डमा कर चुक्ता प्रमाणपत्र लिन पनि सहज हुन्छ ।

यसका साथै आफ्नो डिम्याट खातामा भएको धितोपत्रको जानकारी लिन र बिक्री गरिएको सेयर कम्प्युटर प्रणालीबाट हस्तान्तरण गर्न सीडीएस एन्ड क्लियरिङ (सीडीएससी) ले उपलब्ध गराउने ‘मेरो सेयर’को सेवा लिंदा झनै सहज हुन्छ । डिम्याट खाता खोलिएको डिपी सेवा प्रदायकलाई थप शुल्क रु. ५० तिरेर ‘मेरो सेयर’को सुविधाका लागि पासवर्ड र युजर आईडी पाउन सकिन्छ । यसका लागि पनि आफ्नै इमेल ठेगाना हुनुपर्छ ।

यी सबै आधारभुत कुरा भएपछि लगानीकर्ताले घर, कार्यालय वा जहाँबाट पनि अनलाइन मार्फत आफैं शेयर कारोबार गर्न सक्छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved