नेप्सेको स्पष्ट निर्देशन नहुँदा 'नेटिङ' सुविधाबाट लगानीकर्ता बन्चित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2020 | 10:17:06 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले आम लगानीकर्तालाई पनि 'नेटिङ' सुविधा प्रदान गर्नको लागि बाटो खुला गरिदिएको जनाएको छ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले लगानीकर्तालाई 'नेटिङ' सुविधा प्रदान गर्नको लागि सिस्टममा फिचर थप गरिएको बताएका हुन् ।

सीइओ साउदले अहिले कारोबार गर्ने टिएमएसमा  'नेटिङ'को सुविधा प्रदान गर्न सकिने गरि फिचर थप गरिएको बताए  । उनले लकडाउन कै बीचमा यो सुविधा थपिएको बताए । यस संगै अब ब्रोकरले लगानीकर्तालाई आपसी समझदारीमा  'नेटिङ'को सुविधा प्रदान गर्न सक्ने साउदको भनाई छ । 

यद्यपि उनले नेप्सेले ब्रोकरलाई 'नेटिङ'को सुविधा प्रदान गर्न निर्देशन दिन नमिल्ने बताए ।  उनले भने 'हामीले टिएमएसमा सुविधा थप गरेका छौ, अब ब्रोकरले लगानीकर्तासँग गरिएको कारोबार समबन्धि सम्झौता अनुसार 'नेटिङ'को सुविधा प्रदान गर्न सक्छन् । यो सुविधा देउ भनेर नेप्सेले निर्देशन दिन मिल्दैन' । 

तर ब्रोकरहरुले भने  यसबारे आफुहरुलाई नेप्सेले केहि जानकारी नदिएको बताएका छन् । स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले भने 'हामीले लगानीकर्तालाई 'नेटिङ' सुविधा पहिलेदेखि नै दिदै आएका छौ, नेप्सेले के फिचर थप गरेको हो र के सुविधा प्रदान गर्न खोजेको हो, त्यसबारे जानकारी छैन।'

अध्यक्ष रानाभाटले भने झैँ केहि ब्रोकरहरुले अहिले पनि चिनेका तथा विश्वास गरिएका  लगानीकर्तालाई यो सुविधा प्रदान गर्दै आएका छन् । तर यो सुविधा पनि सबै ब्रोकरले दिएका छैनन् ।

अहिलेको सुविधा ब्रोकर र लगानीकर्ताको आपसी समझदारीमा हुदै आएको भएपनि अब भने नेप्सेले सिस्टमबाट नै यो सेवा प्रदान गर्न खोजेको जनाएको छ । तर नेप्सेले ब्रोकरलाई स्पष्ट निर्देशन दिन नसक्दा लगानीकर्ता भने अन्योलमा परेका छन् ।

के हो नेटिङ ?

नेटिङ राफसाफसँग सम्बन्धित विषय हो । उदाहरणको लागि यदि कुनै लगानीकर्ताले कुनै एक दिन २७ हजारको खरिद गरे र सोहि दिन २० हजारको शेयर बिक्रि गरे भने उसले ब्रोकरलाई २७ हजार तिर्नुपर्छ भने २० हजार लिनु पर्छ । तर  'नेटिङ'को सुविधा भएमा बाँकि हिसाब मात्र मिलान गरे पुग्छ । अर्थात यस उदाहरणमा अब लगानीकर्ताले ब्रोकरलाई हिसाब मिलान हुने गरी ७ हजार मात्र तिरे पुग्छ भने ब्रोकरले रकम तिर्नु पर्दैन । 

त्यस्तै यदि लगानीकर्ताले कुनै एक दिन ५ हजारको शेयर खरिद गरे  र सोहि दिन ११ हजारको शेयर बिक्रि गरे भने लगानीकर्ताले ब्रोकरलाई ५ हजार दिनु पर्थ्यो र ब्रोकरले लगानीकर्तालाई ११ हजार तिर्नु पर्थ्यो । तर नेटिङ सुविधा भएमा यस उदाहरणमा ब्रोकरले लगानीकर्तालाई ६ हजार तिरे पुग्छ भने लगानीकर्ताले ब्रोकरलाई रकम तिर्नु पर्दैन । यहि सुविधालाई नेटिङ भनिएको हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved