मर्चेन्ट बैंकरलाई कडाई: तोकियो सीइओको योग्यता, थपिए दर्जन ब्यबस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2020 | 06:24:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकर कम्पनीहरुको प्रमुख कार्यकारी अधिकृतको योग्यता तोकेको छ । बोर्डले मर्चेन्ट बैंकर कम्पनीको सीइओ हुनको लागि ' अर्थशास्त्र वा वाणिज्य वा वित्त वा लेखा वा व्यवस्थापन वा वाणिज्य कानून विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातक वा चार्टर्ड एकाउन्टेन्सी उपाधि हासिल गरेको' हुनु पर्ने ब्यबस्था गरेको छ ।

त्यस्तै सीइओ बन्ने व्यक्ति 'उद्योग, वाणिज्य वा धितोपत्र बजार वा वित्तीय क्षेत्रमा लेखा वा वित्त वा वाणिज्य कानून वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तिमा तीन वर्ष कार्य गरेको अनुभव भएको' हुनु पर्ने बोर्डले जनाएको छ । 

त्यस्तै बोर्डले कार्यस्थलको मापदण्ड पनि तोकेको छ ।  जस अनुसार आगन्तुक प्रतिक्षा, ग्राहक सेवा, स्टोर, सूचना प्रविधि सहित व्यवसाय संचालन सम्बन्धी कार्य संचालन गर्न छुट्टाछुट्टै कक्ष भएको कम्तिमा १,००० वर्ग फिट क्षेत्रफल हुनु पर्ने छ । त्यस्तै कार्यालय भवन वा क्षेत्रफल भाडामा लिने भए कम्तिमा दुई वर्ष अवधिको बहालसम्बन्धी सम्झौता गरेको हुनु पर्ने, संचार साधनः टेलिफोन, फ्याक्स सहित इमेल÷इन्टरनेटको व्यवस्था भएको हुनु पर्ने,  सूचना प्रविधिः आवश्यक कम्प्युटर सफ्टवेयर, सर्भर र हार्डवयर भएको हुनु पर्ने ब्यबस्था बोर्डले गरेको छ । 

त्यस्तै कार्यालयमा कम्प्युटर÷ल्यापटपः जनशक्ति व्यवस्था अनुसार कम्प्युटर, प्रिन्टर, सिसिटिभी, पावर व्याकअप, हाजिरी मेशिन, हुनु पर्ने र कार्यालयको लागि आवश्यक पर्ने फर्निचर, फिक्सचर्स तथा अन्य कार्यालय सामाग्री हुनु पर्ने ब्यबस्था बोर्डले गरेको छ ।

त्यस्तै धितोपत्र व्यवसाय संचालन सम्बन्धी परामर्श सेवाका लागि आवश्यक जनशक्ति सम्बन्धमा कार्य विभाजन तथा कार्य विवरण सहितको विभाग प्रमुखको ब्यबस्था गरिएको छ  । विभाग प्रमुखले कम्तिमा वाणिज्यशास्त्र, अर्थशास्त्र, व्यवस्थापनमा स्नातकोत्तर गरेको, कम्तिमा कानून विषयमा स्नातकोत्तर गरेको र चार्टर्ड एकाउन्टेन्सी वा फाइनान्सियल एनालिष्ट गरेको हुनु पर्ने ब्यबस्था गरिएको छ । 

त्यस्तै कम्पनीले अनुपालना अधिकृत राख्नु पर्ने भएको छ  । अर्थशास्त्र वा वाणिज्य वा वित्त वा लेखा वा व्यवस्थापन वा कानून विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक वा चार्टर्ड एकाउन्टेन्सी गरेको एक जना अनुपालना (कम्प्लाइन्स) अधिकृत राख्नु पर्ने ब्यबस्था गरिएको हो ।

त्यस्तै संस्थाबाट प्रदान गरिने परामर्श सेवाको लागि सम्पत्ति तथा दायित्व मूल्यांकनसम्बन्धी परामर्शका लागि चार्टर्ड एकाउन्टेन्सी वा फाइनान्सियल एनालिष्ट गरेको कम्तिमा एक जना कर्मचारी, र अचल सम्पत्ति मूल्यांकनसम्बन्धी परामर्शका लागि सम्बन्धित विषयमा इन्जिनियरिङ्गमा स्नातक गरेको कम्तिमा एक जना कर्मचारीको ब्यबस्था गर्नु पर्ने भएको छ  । 

त्यस्तै कम्पनीहरुले संचालक, प्रमुख कार्यकारी अधिकृत तथा कर्मचारीका लागि संस्थागत सुशासन सम्बन्धी आचार संहिता वा कार्यविधि, कर्मचारी सेवा, शर्त र सुविधा सम्बन्धी विनियमावली तथा आर्थिक प्रशासन सम्बन्धी विनियमावली, परामर्श सेवा सम्बन्धी शुल्क निर्धारण तथा सेवा संचालनसम्बन्धी कार्यविधि, र कार्यालय संचालनका क्रममा आउन सक्ने संचालन जोखिम, बजार जोखिम, ख्याती सम्बन्धी जोेखिम तथा अन्य जोखिम न्यूनीकरणका लागि जोखिम पहिचान तथा व्यवस्थापन कार्यविधि बनाउनु पर्ने भएको छ ।

यी व्यवस्था लागू भएसँगै संस्थागत परामर्श सेवा थप व्यवस्थित, प्रभावकारी तथा व्यवसायिक रुपमा संचालन भई उक्त सेवा विस्तार हुने बोर्डको अपेक्षा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved