शेयर ब्रोकरहरुको संयुक्त लगानीमा नयाँ कम्पनी स्थापना भएको छ। असोज ११ गते कम्पनी रजिष्ट्रार कार्यालयमा क्यापटेक नेपाल नामक प्राइभेट कम्पनी दर्ता भएको हो ।
कम्पनीमा ब्रोकरहरुको ८० प्रतिशत लगानी छ भने बाँकि २० प्रतिशत सिटी टेक सोलुसनको लगानी छ । कम्पनीमा ५० वटै शेयर ब्रोकरहरुको बराबरी हिस्सेदारी छ। कम्पनीको अध्यक्षमा स्टक ब्रोकर नम्बर ४८ त्रिशक्ति सेक्युरिटीजका अध्यक्ष टंकप्रसाद गौतम रहेका छन्। कम्पनी गौतम सहित ५ जना संचालक छन् ।
अध्यक्ष गौतमका अनुसार हाल कम्पनीको चुक्ता पुँजी १० करोड कायम गरिएको छ । हाल कम्पनी मात्र दर्ता भएको र अब क्रमश अन्य कार्य जाने उनले बताए ।
अध्यक्ष गौतमले पुँजीबजारमा देखिएका टिएमएस तथा डाटा सेन्टरमा देखिएका समस्या समाधान गर्नु कम्पनीको पहिलो काम हुने बताए । कम्पनीले डाटा सम्बन्धि कार्य गर्ने भएको र ब्रोकरहरुलाई टेक्निकल विशेषज्ञता नभएकोले सिटी टेकलाई साझेदारको रुपमा राखिएको उनले बताए।
पुँजीबजारमा देखिएका टिमएस र डाटा सेन्टरका समस्या समाधान गरेपछि कम्पनीले 'फाइनानसियल टेक्नोलोजी', 'सफ्टवेयर सोलुसन', 'डाटाबेस सोलुसन', तालिम, परामर्श लगायतका कार्य गर्ने अध्यक्ष गौतमले बताए ।