यस्ता छन् हाइड्रोको शेयर मूल्य बढ्नुको ४ कारण, हौसिएर लगानी नगर्न सुझाव

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 01, 2020 | 10:54:47 AM मा प्रकाशित

laxmi  sunrise bank

करिब २ महिना यता नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हाइड्रोपावर कम्पनीहरुको शेयर मूल्य निरन्तर बढिरहेको छ। साउन २२ गते ९४१.१४ को बिन्दुमा रहेको हाइड्रोपावरको उपसुचक २ महिनाको अवधिमा बुधबारसम्ममा १२९२.७७ बिन्दुमा पुगेको छ । अर्थात् २ महिनाको अवधिमा हाइड्रोको उपसूचक ३५१ अंकले बढेको छ ।

पछिल्लो समय हरेक दिनजसो प्रतिशतको आधारमा सबैभन्दा बढी कमाउने कम्पनीको सुचीमा अधिकांश हाइड्रो नै रहदै आएका छन् आखिर किन यसरी लगातार बढ्दै छ हाइड्रो कम्पनीको शेयर मूल्य ।

उर्जा उद्यमी ज्ञानेन्द्र लाल प्रधान हाइड्रोको शेयर मूल्य बढ्नुमा मुख्यत: ४ कारण रहेको बताउछन् उनक अनुसार पहिलो कारण लगानीकर्ताको सेन्टिमेन्ट नै हो हाइड्रो कम्पनीहरुको मूल्य अंकित मूल्यबाट तल झरेको र लाभांश  दिन नसकेपनि मूल्य बढेर केहि नाफा गर्न सकिन्छ भन्ने आशाले काम गरेको उनी बताउछन् यस्तो सेन्टिमेन्ट बीमा, बैंक, हुदै हाइड्रोमा आएको उनको भनाई छ

ब्याजदर घट्नु दोस्रो कारण भएको प्रधान बताउछन् उदाहरण दिदै उनी भन्छन् ' यदि कुनै आयोजनाको लागत ४०० करोड छ भने ३०० करोड ऋण हुन्छ, जब १२ प्रतिशतको ब्याज ८ प्रतिशतमा झर्छ भने १२ करोड रुपैयाँ ब्याज बच्यो, यस हिसाबमा सय करोडको इक्विटीमा १२ प्रतिशत लाभांश आउँन सक्ने सम्भावना बन्यो' उनका अनुसार हाइड्रोको शेयरमा उछाल आउनुको सबै भन्दा ठुलो कारण ब्याजदर नै हो

थप उदाहरण दिदै उनी भन्छन् 'यदि कुनै आयोजनाको कुल लागत १५० छ भने करिब ६५ रुपैयाँ ब्याज नै हुन्छ, त्यो सबै बैंकले लिन्छ, ब्याजदर घटेपछि बैंकलाई तिर्नु पर्ने ब्याज कम भई त्यो रकम बचत हुन्छ'।

कहिलेसम्म यसै गरी मूल्य बढ्ने भन्ने विषय अहिले घटेको ब्याजदर कहिलेसम्म निरन्तर हुन्छ भन्नेमा भर पर्ने उनी बताउछन् घटेको ब्याजदर १ वर्ष रहेमा मुनाफा लिन सकिने र केहि महिनामात्र रहे त्यसको फाइदा छोटो समयको लागि हुने उनको भनाई छ ।

असारदेखि असोजको पहिलो सातामा पर्याप्त वर्षा हुनु तेस्रो कारण भएको उनको भनाई छ उनी भन्छन् 'असारमा पानी नै नपरेर कुनै पनि हाइड्रोको कन्ट्रयाक्ट इनर्जी नपुगेर नेपाल विद्युत प्राधिकरणलाई जरिवाना तिर्नु पर्थ्यो, यस वर्ष अगाडीदेखि नै बर्षा सुरु भएको र असोज पहिलो सातासम्म निरन्तर रहेकोले उत्पादन बढेको छ' उनका अनुसार औसतमा १० देखि १५ प्रतिशतसम्म विद्युत उत्पादन बढेको छ र त्यसले कम्पनीको आम्दानी बढाउने उनी बताउछन् ।

तर नेप्सेमा सुचिकृत सबै कम्पनीको उत्पादन सुरु भईनसकेको र उत्पादन भएका मध्ये पनि प्रसारण लाइनको अभावमा केहि कम्पनीले पुरै विद्युत बेच्न नसकेकोले यसको फाइदा भने सबैले लिन नसकेको उनी स्वीकार गर्छन् तर जति नै वर्षा भएपनि कम्पनीले आफ्नो उत्पादन क्षमता भन्दा बढी उत्पादन गर्न नसक्ने तथ्यलाई भने विचार गर्नु पर्छ

चौथो कारण शेयरबजारका खेलाडीले हाइड्रो सस्तो छ, छिट्टै बढ्छ भनेर हल्ला गरेकोले पनि मूल्य बढेको उनको बुझाई छ

नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार पनि हाइड्रोको मूल्य धेरै घटेको र कोभिडले पनि यो क्षेत्रलाई कम असर गरेकोले त्यसतर्फ लगानीकर्ता आकर्षित भएको बताउछन् ब्याजदर घटेको र नेपाल राष्ट्र बैंकले पनि हाइड्रोको लागि विभिन्न सुविधा प्रदान गरेकोले हाइड्रोपावरतर्फ लगानी आकर्षित भएको उनको भनाई छ सरकारले हाइड्रो कम्पनीलाई दिने भनेको विभिन्न सुविधा पनि कार्यन्वयन हुने तर्फ अगाडी बढेकोले पनि आकर्षण बढेको उनको भनाई छ ।  उनी पनि मुख्य कारण कम मूल्य, ब्याजदर, र सेन्टिमेन्ट नै रहेको बताउछन्  

तर मूल्य बढ्यो भन्दैमा हौसिएर लगानी नगर्न उनको सुझाव छ उनी भन्छन् ' भाउ बढ्यो भनेर जुन पायो त्यहि हाइड्रो किन्नु हुदैन, कम्पनीको अध्ययन गर्नै पर्छ' उत्पादन सुरु गरिसकेका,  आम्दानी गर्न थालेका, नाफामा रहेका, नियमित वित्तीय विवरण प्रकाशन गरेका, थोरै भए पनि नाफा दिन सक्ने अवस्थामा रहेका कम्पनीको तुलनात्मक चार्ट बनाएर विश्लेषण गरेर मात्र लगानी गर्न उनको सुझाव छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved