कर्मचारी संचय कोषले निर्माण गर्न लागेको ४३९ मेगावाटको बेतन कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाले जग्गा प्राप्तिको कार्य थालेको छ । आयोजनाले जिल्ला प्रशासन कार्यालय अछाम मार्फत आयोजनाको मुख्य संरचना, आवास गृह, कार्यालय भवन तथा बाँध निर्माण हुने स्थानको जग्गा प्राप्तिको लागि सुचना निकालेको हो ।
आयोजनाले अछामको ढकाली गाउँपालिका, तुम्माखांद गाउँपालिकाको जग्गा प्राप्ति गर्न लागेको हो । आयोजनाले जग्गाधनीको नाम सार्वजनिक गर्दै मुआब्जा लिनको लागि आफुले जग्गा भोगचलन गरिरहेको प्रमाण सहित सूचना प्रकाशित भएको ३५ दिन भित्र जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित गाउँपालिकामा निवेदन दिन आग्रह गरेको हो ।
यस आयोजना अछामको ढकारी गाउँपालिका–६ मा विद्युत्गृह (पावरहाउस) तथा सुर्खेतको चौकुने गाउँपालिका–६ मा बाँध (ड्याम) स्थल बन्नेछ । आयोजना निर्माणमा ७६ अर्ब लगानी हुनेछ । सुर्खेत, अछाम जिल्लाको सिमाना हुँदै बगिरहेको कर्णाली नदीमा अर्धजलाशययुक्त आयोजना निर्माण गर्न सरकारी स्वामित्वको कर्मचारी सञ्चय कोषले कम्पनी मोडलबाट लगानी जुटाएको छ । कर्मचारी सञ्चय कोषको १५ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत, विद्युत् उत्पादन कम्पनी लिमिटेडको १० प्रतिशत, छ लाख सञ्चयकर्ताको ४० प्रतिशत, साधारण नागरिकको १५ प्रतिशत, आयोजना प्रभावित क्षेत्रका बासिन्दाको आठ प्रतिशत र अति विपन्न परिवारको दुई प्रतिशत शेयर रहनेछ ।
आयोजनाले निजामती कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र कोषमा कोष कट्टी गर्दै आएका करिब छ लाख सञ्चयकर्तालाई लगानी गर्न अवसर प्रदान गर्नेछ । नाफाको ८० प्रतिशत आफ्ना सञ्चयकर्तालाई प्रदान गर्दै आएको सञ्चयकोषले अब नाफा वितरण नगरी अलग्गै खातामा जम्मा गरेर बेतन कर्णालीमा लगानी गर्नेछ । सञ्चयकर्ताले नाफाबापत पाउने रकमको ब्याजसमेत जोडेर सो बराबरको शेयर बाँडिनेछ ।