सगुनको मिनी आइपिओमा लगानी गर्दै हुनुहुन्छ ? जान्नुहोस, १० भ्रम र १० यथार्थ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 23, 2017 | 10:50:55 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकामा बस्ने नेपालीहरुले संचालनमा ल्याएको आइटी स्टार्ट अप कम्पनी सगुन डटकमले यहि फेब्रुवरी ९ तारिखबाट पहिलो चरणको मिनी आईपिओ जारी गरेको छ ।

अमेरिकाको ‘जब्स एक्ट’ अनुसार अमेरिकाको कम्पनी ऐन अन्तर्गत रही सगुन इनकर्पोरेशन नामको यस कम्पनीले अमेरिकी धितोपत्र बोर्डको अनुमतिमा मिनी आईपिओ निष्काशन गरेको हो । नेपालीले स्थापना गरेको कम्पनी सगुनले अमेरिकी बजारमा सेयर निस्कासन गर्न पाउनु आफैं गौरवको कुरा हो 

कम्पनीले प्रति कित्ता २३ डलर मूल्य पर्ने गरी ८ लाख ६९ हजार ५ सय ६४ कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीको शयर खरिद गर्न चाहनेले न्यूनतम १३ कित्ता अर्थात् २ सय ९९ डलरको शेयर किन्नु पर्ने हुन्छ ।

सगुनले जारी गरेको यस मिनी आईपीओबारे केहि भ्रम छरिएका छन् जसलाई लगानी गर्नु अघि चिर्नु आवश्यक छ।

भ्रम : नेपालीहरुले सगुनको मिनी अईपियोमा लगानी गर्नु गैर कानुनि हो

यथार्थ : नेपालीहरुले मिनी अईपियोमा लगानी गर्नु गैर कानुनी होईन तर नेपालबाट लगानी गर्नु गैर कानुनि हो । नेपालको कानुनले कुनै पनि नागरिकलाई नेपालबाट विदेशमा लगानी गर्न बन्चित गरेको छ । सगुनमा नेपालबाट लगानी गर्न मिल्दैन र उसको वेबसाइट मै नेपालबाट लगानी गर्न नसक्ने प्रष्ट रुप मै उल्लेख छ । तर विदेशमा रहेका नेपालीहरुले भने यसमा लगानी गर्न सक्छन ।

भ्रम : यो आईपिओ शेयर बजारमा लिस्टिंग हुदैन र बेच्न सकिदैन

यथार्थ : तत्काल यी शेयरलाई बजारमा लिस्टिंग गर्ने योजनामा सगुन छैन ।  सगुनले अहिले सार्बजनिक नगरे पनि यी शेयरहरु प्रमोटर शेयरको रुपमा निष्काशित गरेको हो। अहिले बिक्रिमा राखिएका सगुनका सेयरहरु ओभर दि काउन्टर मार्केटबाट खरिद बिक्रि हुन सक्ने सगुनले जनाएको छ। सगुनले केहि समयपछि ति शेयर बजारमा लिस्टिङ हुने बताएको छ। लिस्टिङ हुना साथ लगानीकर्ताले अन्य सेयर जस्तै गरि अमेरिकाको सेयर बजारमा सजिलै खरिद बिक्रि गर्न सकिन्छ ।

अर्को तर्फ सगुनमा अहिले गरिने लगानी संस्थापक सेयरमा गरेका लगानी हो । संस्थापक सेयर साधारण सेयर निस्कासन नगरी बेच्न पाइंदैन । यसको अर्थ उनीहरुको सेयर किनबेच भएकै छैन त ? उनीहरुले बैंकले गरेको नाफाबाट लाभांश पाएका छैनन त ? अबस्य छन् । कम्पनीले गरेको नाफाअनुसार उनीहरुले लाभांश पाउँछन् ।

भ्रम: लिस्टिंग नै भएन भने नाफा कमाईदैन

यथार्थ : सगुन अमेरिकी ऐन अन्तर्गत दर्ता भएको कम्पनी हो । जस अनुसार सगुनले हरेक ६ महिनामा आफ्नो वित्तीय बिवरण सार्बजनिक गरेर आएको नाफा लगानीकर्तालाई बाध्नु पर्ने हुन्छ ।यदि कम्पनीले नाफा कमाएको खण्डमा तपाइले शेयर लिस्टिंग नभएपनि नाफा कमाउन सक्नु हुन्छ । कम्पनीले तपाईललाई आफ्नो शेयरको अवस्था हेर्न सक्ने ब्यबस्था गरेको छ ।  जुन ईमेल मार्फत जानकारी गराइने कम्पनीले जनाएको छ ।

भ्रम : सगुन कम्पनी नै बेचियो भने लगानी डुब्छ

यथार्थ : कुनै पनि कम्पनी नाफामा वा घाटामा जाने पहिले नै भन्न सकिदैन । तर सगुनले यदि भविष्यमा कम्पनी कसैसँग मर्जरमा गए वा बेचिए कम्पनीको त्यस समूको वित्तीय बिवरण अनुसार लगानीकर्ता उचित रिटर्न दिने प्रष्ट पारेको छ । सामान्यतया उदाउँदो रुपमा रहेका र सम्भावना बोकेका स्टार्टअप कम्पनीहरु महँगोमा बेचिने गरेको बिगतको अभ्यासलाई हेर्दा समेत यदि सगुन पनि ठुलो कम्पनीको हातमा गएको अवस्थामा लगानीकर्तालाई राम्रै हुने अपेक्षा गर्न सकिन्छ। 

भ्रम : नेपालमा तरलता अभाव भएको बेला नेपालको पैसा सगुनको अईपियो मार्फत बाहिर गएको छ

यथार्थ: नेपालमा रहेका नेपालीहरुले यस आइपियो भर्न नै नसक्ने भएकाले नेपालबाट पैसा बाहिर जाने प्रश्न नै आउदैन । त्यस्तै चेक , कुनै क्रेडिट कार्डबाट पनि आईपियो भर्न नपाइने हुँदा  नेपालको पैसा बाहिर नगएकोमा बिश्वस्त हुन् सकिन्छ ।

अर्को तर्फ सगुनको सेयर खरिद गर्नका लागि इच्छुक व्यक्तिले आफ्नै बैंक खाता प्रयोग गर्नु पर्ने भएकाले पनि बाहिर नेपालबाट बाहिर पैसा गयो भन्नु तथ्यपरक देखिदैन। होंडी या अन्य गैर कानुनी बाटोबाट रकम बाहिर लगिएको छ भने त्यसको अनुगमन गरेर रोक्ने काम सरोकारवालाको हो।

भ्रम : नेपालबाट लगानी गर्न नपाइने हुँदा हुदै पनि नेपाली मिडियामा बिज्ञापन गरेर नेपालीलाई उल्लु बनाई रहेको छ

यथार्थ : सगुनले नेपालका अनलाइन मिडियामा मात्र बिज्ञापन गरेर अईपियो भर्न आह्वान गरेको छ । यी अनलाइनहरु नेपालमा मात्र नभएर विदेशमा रहेका नेपालीले पनि पढ्छन् । त्यहाँ रहेका नेपालीहरुले त्यो देखेर लगानी गरुन भनेर नै सगुनले नेपाली मिडियामा बिज्ञापन गरेको जनाएको छ । त्यस्तै नेपालमा रहेका नेपालीहरुलाई यस बारे प्रचार गर्दा यी नेपालीहरुले विदेशमा रहेका आफ्ना आफन्त र परिवारजनलाई यस बारे जानकारी दिनेछन् र विदेशमा रहेका नेपालीहरुले लगानी गर्न सक्छन । नेपाली प्रोडक्ट भएकाले सुरुवाती चरणमा धेरै भन्दा धेरै भन्दा नेपालीहरुले लगानी गरुन भन्ने सगुनको चाहना रहेको हुनसक्छ।

 

भ्रम : सगुनमा गरिएको लगानी डुब्छ

यथार्थ : लगानी गर्दा जोखिम जहाँ पनि हुन्छ । जोखिम लिन डराउनेले शेयर बजारमा लगानी नगरेकै बेश । सुरुवाती चरणमा आईपियो निष्काशन गर्दा जोखिम अबश्य हुन्छ । बजारमा लिस्टिंग भएपछि त्यसको मूल्य घट्न पनि सक्छ बढ्न पनि सक्छ । नेपालमै पनि केहि संस्थाका शेयर मूल्य अहिले १०० भन्दा कम छ भने केहि बैंकको हजार भन्दा बढी छ । सबैले सुरुवातमा १०० रुपियाँ कै आईपियो ल्याएका हुन् र कुनैले पनि सुरुमा रकम नडुब्ने ग्यारेन्टी गरेका थिएनन् । शेयरबजारमा जोखिम लिएरै लगानी गर्ने हो सबैले ।

 

भ्रम : विदेशमा भएको मान्छे नेपाल आउँदा ति शेयर आफ्नो स्वामित्वमा रहने छैन

यथार्थ: तपाई जुन सुकै देशमा रहेर सगुनको शेयर किनेको भए पनि तपाई नेपाल आउँदा त्यस शेयरबाट आउने नाफा तपाईले नेपाल मै पाउनु हुनेछ । जस्तै यदि तपाईले अमेरिकामा रहंदा बैंक अफ अमेरिकाबाट सगुनको शेयर किन्नु भएको भए तपाई अमेरिकामा हुँदा सम्म सगुनले त्यहि बैंकमा तपाईलाई नाफा पठाईदिन्छ । यदि तपाई नेपाल आउनु भयो भने तपाइले राष्ट्र बैंकलाई एक ईमेल/पत्र मार्फत अब सगुनलाइ तपाइको नेपालको रहेको बैंकमा नाफा पठाउन अनुमति दिन आग्रह गर्नु पर्ने छ । त्यसको एक प्रतिलिपि सगुनलाई समेत पठाउनु पर्ने हुन्छ ।

राष्ट्र बैंकले सबै सहि भएको निरीक्षण गरेपछि सगुनले सिधै तपाइको नेपाली बैंक मै नाफा पठाई दिने छ । बैंकिङ प्रणाली मार्फत कारोबार हुने भएकाले नेपालले कर मार्फत आउने पैसा प्राप्त गर्न सक्छ भने अर्को तर्फ कारोबारमा समेत पारदर्शीता देखिनेछ ।

स्मरण रहोस , बिशेष कारणबश कनकमणि दीक्षितले मात्रै विदेशमा गरेको आम्दानीको स्रोत खुलाएका छन । विदेश रकम लैजाने र भित्र्याउने अन्य अधिकांशले अहिलेसम्म सार्वजनिक रुपमा आम्दानीको स्रोत खुलाएका छैनन ।

नोट: नेपालबाट बाहिर पैसा लैजान कठिन हुन्छ तर बाहिरबाट नेपाल ल्याउन पठाउनेको तुलनामा केहि सहज छ ।

 

भ्रम : सगुनलाई नेपाल धितो पत्र बोर्डले नियमन गर्छ

यथार्थ : सगुन अमेरिकी कम्पनी ऐन अन्तर्गत अमेरिका मै दर्ता भएको कम्पनी हो । नेपाल धितो पत्र बोर्डले नेपाली शेयर बजारमा लिस्टिंग भएका नेपाली कम्पनीहरु नियमन गर्ने हो । यसर्थ नेपाल धितो पत्र बोर्डले सगुनलाई नियमन गर्न सक्दैन ।

भ्रम : यो आईपिओका कारण नेपालमा आउने पैसा विदेश मै रोकियो ।

यथार्थ: यदि तपाई विदेशमा हुनुहुन्छ र तपाईले नेपालमा नियमित रुपमा नेपाल पठाउने पैसा आईपिओमा लगानी गर्नु भयो त्यो तत्कालको लागि बाहिर नै रहन्छ । तर यो तपाईको लगानी हो । यो लगानी र त्यस लगानी बाट हुन सक्ने नाफा र घाटा हकदार तपाई नै हो र तपाई नेपाल आउँदा तपाईसंगै आउने छ ।

 

अन्त्यमा

स्मरण रहोस, हरेक कम्पनीमा लगानी गर्नुको राम्रो र नराम्रो दुवै पक्ष अवश्य हुन्छन । सेयरमा लगानी आफैमा जोखिमयुक्त हुन्छ, चाहे त्यो अन्तराष्ट्रिय सेयर बजारमा होस या नेपालको सेयरबजारमा नै ।

लगानीको उचित निर्णय र केहि मोखिम मोलेर माइक्रोसफ्ट, फेसबुक, ट्वीटरजस्ता चर्चित कम्पनीहरुमा लगानी गर्नेहरु आज मालामाल भएका छन । त्यो बेला प्रति कित्ता १ सय रुपैयाँका दरले फेसबुकको सेयर किन्नेहरुसंग अहिले प्रति कित्ता १२०० डलर पर्ने सेयर हातमा छ। तर त्यो बेला उदाउँदो अवस्थामा रहेको फेसबुकको सेयरमा लगानी गर्ने जोखिम नलिनेले आज प्रति कित्ता १२ सय डलरमा सेयर उठाइरहेका छन। 

सगुनमा लगानी आफैमा जोखिम मुक्त अवश्य छैन र कम्पनीले समेत यस बारेमा स्पष्ट पारेको छ । यद्दपी केहि जोखिम मोलेर आफ्नो कमाईको केहि अंश लगानी गर्ने निर्णयले भविष्यमा यसबाट फाइदा हुने अवसर पनि उत्तिकै हुन्छ ।

गैरआवासीय नेपाली, विदेशमा रहेका नेपाली वा अरु देशका नागरिकले सगुनको मिनी आईपीओमा लगानी गरुन या नगरुन त्यो हाम्रो चाँसोको बिषय होइन तथापि मिडियामा आएका केहि भ्रम र यथार्थबारे पाठक बर्गलाई जानकारी दिनु हाम्रो कर्तब्य हो

आफ्नो देश र परिवारबाट टाढा बसी मिहिनेत साथ काम गरि कमाएको धन कहीं लगानी गर्नु पुर्व सोच बिचार गर्नु अत्यावश्यक छ हरेक लगानी जति जोखिम युक्त हुन्छन त्यति नै फाइदा मुलक पनि तसर्थ भ्रम र यथार्थको सहि विश्लेषण गरि लगानी गर्नु नै लगानीकर्ताको धर्म हो

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved