एभरेष्ट बैंकको बिशेष साधारण सभा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 17, 2017 | 11:52:50 AM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंकले मर्ज तथा एक्विजिशनको बाटो रोज्ने प्रक्रियामा लागेसंगै यस बैंकका सर्वसाधारण लगानीकर्ता झस्किएका छन। बैंकले मर्ज तथा एक्विजिशनको लागि उपयुक्त प्रस्ताव आएको भन्दै उक्त प्रस्ताब पारित गराउन बैशाख २० का लागि बिशेष साधारणसभा डाकेको छ। 

राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन ३ महिना मात्रै रहेको अवस्थामा संस्थापक सेयरधनीहरुले आफै पुंजी थप्नु पर्ने अवस्थामा बैंकले उक्त प्रस्ताब पारित गराउन बिशेष साधारणसभा डाक्नुलाई महत्त्वपूर्ण मानिएको छ। बैंकले बैशाख २० गते लैनचौर ब्यान्केट, लैनचौरमा बिहान ११ बजेका लागि बिशेष साधारणसभा डाकेको छ।

बैंकले गत फागुन ११ मा नै ३३.३३ प्रतिशत हकप्रद जारी गर्ने स्वीकृति लिनका लागि नेपाल धितोपत्र बोर्डमा आबेदन दिएको छ। बोर्डबाट प्रतिक्रिया प्राप्त भई उक्त हकप्रद प्रस्ताब स्वीकृतिको अन्तिम तयारिमा रहेको छ।  एभरेष्ट बैंकले वितरण गरेको बोनस सेयर नेप्सेमा सुचिकृत भएकै दिन धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको अनुमति पाउने स्रोतले बताएको छ। हकप्रद तथा आकर्षक बोनस सेयर वितरण गरि चुक्ता पुंजी ८ अर्ब पुर्याउने आशामा महँगोमा सेयर खरिद गर्नेहरुलाई भने बैंकको यस प्रस्ताबले भने झड्का दिएको छ।

बैंकले प्रवन्धपत्र नियमावलीमा अत्यावश्यक संशोधन तथा पुंजी संरचना समायोजन गर्नको लागि प्रस्ताव बिशेष साधारणसभामा लैजाने भएको छ। बैंकले हाल कायम रहेको संस्थापक ७० र साधारण तर्फको ३० प्रतिशत सेयर स्वामित्व अनुपातलाई संस्थापक ५१ तथा साधारण ४९ प्रतिशत बनाउने प्रस्ताब साधारणसभामा लैजाने भएको छ। बिशेष साधारणसभामा १९ प्रतिशत प्रमोटर सेयरलाई साधारण सेयरमा परिणत गर्ने, हकप्रद सेयर किन्नको लागि हक हस्तान्तरणको व्यवस्था गर्ने प्रस्ताब बिशेष साधारणसभामा लगिने भएको छ।

बिशेष साधारणसभाका लागि बैंकले बैशाख ११ लागि बुक क्लोज गर्ने निणर्य गरेको छ। बैशाख १० सम्म कायम सेयरधनीहरुले मात्रै बैंकको बिशेष साधारणसभामा भाग लिन पाउने छन। 

हाल बैंकको चुक्ता पुंजी ४ अर्ब ६० करोड रुपैयाँ रहेको छ। प्रस्तावित हकप्रद बिक्रि तथा वितरणपश्चात बैंकको चुक्ता पुंजीमा १ अर्ब ५०  करोड थप हुने छ। बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ९७ करोड १५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ।

यो पनि:

राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउनका लागि बैंकले यस अघि एक ठुलो औधोगिक घराना तथा नागरिक लगानी कोषको लगानी रहेको   कमर्शियल बैंकलाई गाभ्ने प्रक्रिया थालेको थियो। आन्तरिक कारणले गर्दा उक्त कमर्शियल बैंकलाई गाभ्ने प्रक्रिया बिचैमा रोकिएको थियो। यद्दपी उक्त बाणिज्य बैंकलाई एभरेष्ट बैंकले गाभ्न सक्ने सम्भावना अहिले पनि जिवितै रहेको बताइएको छ। 

राष्ट्र बैंकले मर्जरलाई प्रोत्साहन गर्नका लागि दिएको छुटको फाइदा लिएर भारि मात्रामा कर छुट पाउनका लागि पनि बैंकले एक फाइनान्सलाई गाभ्ने तयारी पनि गरेको छ। बिजपाटीलाई प्राप्त जानकारी अनुसार बैंकले उक्त फाइनान्ससंगको स्वाप रेसियो समेत टुंगो लगाएको छ।  उक्त तयारीलाई अन्तिम रुप दिनका लागि बैंकले मर्ज तथा एक्विजिशनको लागि उपयुक्त प्रस्ताव आएको भन्दै उक्त प्रस्ताब पारित गराउन बैशाख २० का लागि बिशेष साधारणसभा डाकेको स्रोतले बिजपाटीलाई बताएको छ।   

अन्य बैंक तथा वित्तीय संस्थालाई गाभेपछि एभरेष्ट बैंकको चुक्ता पुंजी सजिलै ८ अर्ब पुग्ने छ। भारतीय पन्जाब नेशनल बैंकको समेत साझेदारी रहेकाले बैंकले राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याए पश्चात बोनस भन्दा नगद लाभांशमा जोड दिने निश्चित प्राय नै रहेको छ।   यस्तो अवस्थामा बोनस मार्फत चुक्ता पुंजी ८ अर्ब पुर्याउँछ भन्ने सर्वसाधारणको अनुमान गलत साबित हुने छ।  





 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved