कसरी बढ्यो विश्व बैंकको अनुमान बिपरित नेपाल भित्रिने रेमिट्यान्स ?

समुन्द्र घिमिरे

समुन्द्र घिमिरे

Aug 26, 2020 | 06:31:25 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्व बैंकको एउटा अध्ययनले विश्वभर फैलिएको कोरोना महामारीको कारण नेपाल आउने रेमिट्यान्स २० प्रतिशतले घट्ने अनुमान गरेको थियो । चैत ११ गतेदेखी चार महिनासम्म नेपालमा पूर्ण रुपमा लकडाउन हुनु, खाडी मुलुकमा रहेका नेपाली श्रमिकले रोजगारी गुमाउने लगायतका विषयलाई अनुमान गरेर गत आबको तुलनामा रेमिट्यान्समा कमी आउने जनाईएको थियो । 

नेपाल राष्ट्र बैंकले पनि रेमिट्यान्स घट्ने प्रक्षेपण गरेको थियो ।  तर राष्ट्र बैंकले नै सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदनमा अनुमान गरेभन्दा बढी रेमिट्यान्स आएको देखिएको छ ।  

नेपाल सहित अधिकांश देशमा कोरोना भाइरसका कारण आर्थिक मन्दी आउँदा पनि रेमिट्यान्स रकम नघट्नुको पछाडी अनौपचारिक रुपबाट नेपाल भित्रने रकम रोकिएको रेमिट्यान्स कम्पनीका अधिकारीहरु बताउँछन् । बन्दाबन्दी अघिसम्म कम मात्रामा रेमिट्यान्स रकम आउने देशबाट बन्दाबन्दीको समयमा धेरै रकम भित्रिएको उनीहरुको भनाई छ । 

रेमिट्यान्स संघका पूर्व अध्यक्ष एवं हुलास रेमिट्यान्सका प्रबन्ध निर्देशक दिवाकर थापा चार महिना लामो बन्दाबन्दीको समयमा अनौपचारिक बाटो बन्द हुनु नै नेपालमा रेमिट्यान्स रकम नघट्नुको कारण भएको बताउँछन् । उनका अनुसार बन्दाबन्दी अघिसम्म अनौपचारीक रुपबाट नेपालमा रकम आउने गरेको थियो  ।  तर बन्दाबन्दीसगैँ उडान देखि सम्पूर्ण व्यवसाय बन्द हुँदा औपचारिक रुपमा आउने रकम बढेको हो ।

‘पहिला नगन्य मात्रामा रेमिट्यान्स आउने देशबाट हाल सबैभन्दा धेरै रकम आएपछि हामीले अनौपचारिक बाटो बन्द भएको अनुमान गरेका हौँ। हङकङ, अष्ट्रेलिया, सिंगापुर, जापान तथा कोरिया लगायतका देशबाट बन्दाबन्दीको समयमा सबैभन्दा धेरै रेमिट्यान्स आएको छ ।' उनले भने, 'बन्दाबन्दीको एक महिनामा ४० प्रतिशतमा झरेको व्यवसाय बैशाखदेखि सयमाथि पुग्यो । सबै क्षेत्र ठप्प भएपछि रेमिट्यान्स रकममा बृद्धि भएको हो ।’

उनका अनुसार जुलाईसम्म सय माथि पुगेको रेमिट्यान्स अगष्ट लागेपछि पुनः ओरालो लागेको छ । उनले भने 'हामीले अनुमान गरेअनुसार डलरको मूल्यमा फेरबदल हुँदा कम भएको छ । तर उडान सुरुहुन थालेपछि पनि कमी आएको हुनसक्छ ।' 

बैंकिङ विश्लेषक विएन घर्ति पनि अनुमान गरिएकोभन्दा धेरै रेमिट्यान्स रकम नेपाल भित्रिनुको पछाडी अनौपचारिक क्षेत्रबाट आउने रकम थपिएको अनुमानलाई नर्कान नसकिने बताउँछन् । उनले रेमिट्यान्स रकम बढ्नुको पछाडी नेपालमा बन्दाबन्दी भएतापनि धेरै देशमा रहेका कम्पनीले काम नहुँदा पनि तलव दिएको, डलरको मूल्य बढेको र जापान लगायताका देशमा व्यवसाय गर्नै नेपालीलाई सरकारले नै अनुदान दिई श्रमिकको तलव नकाटिदा नेपालमा आउने रकम कम नभएको बताए । 

नेपाल राष्ट्र बैंकका प्रबक्ता डा. गुणाकर भट्ट कुन देशबाट कति रेमिट्यान्स भित्रियो भन्ने यकिन जानकारी आईनसकेकोले अहिले नै कुनै पनि निष्कर्षमा पुग्न नसकिने बताउछन् । लकडाउन र निषेधाज्ञाका कारण बैंक तथा वित्तीय संस्थाहरुले सिमित कर्मचारीहरुबाट सेवा प्रदान गरेकोले पूर्ण विवरण आउँन समय लागेको हो । 

नेपाल राष्ट्र बैंकका अनुसार गत आवमा कुल ८ खर्ब ७५ अर्ब ३ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । जुन अघिल्लो आवको भन्दा ०.५ प्रतिशत मात्र कम हो ।  अघिल्लो आवमा कुल ८ खर्ब ७९ अर्ब २७ करोड रुपियाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो । त्यस्तै गत असारमा असार महिनामा नेपालमा एक खर्ब भन्दा बढी रेमिट्यान्स भित्रिएको छ ।  एकै महिनामा यतिधेरै रेमिट्यान्स भित्रिएको यो पहिलो पटक हो ।

यस अघि गरिएको एउटा अध्ययन प्रतिवेदनले नेपालमा अनौपचारिक रुपमा ३० देखि ४० प्रतिशत सम्म रकम नेपाल आउने गरेको पाइएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved