२० बर्षपछि इतिहास दोहोर्याउने दाउमा रहेको फ्रान्स अब्बल कि २० औ बरियताको क्रोएसिया ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 15, 2018 | 09:22:45 AM मा प्रकाशित

laxmi  sunrise bank

यो एकदमै थौरै मानिसले परिकल्पना गरेको विश्वकपको फाइनल हो। आइतवार हुने विश्वकप फाइनलमा पहिलो पटक उपाधि चुमेर इतिहास रच्ने लक्ष्य लिएको क्रोएसियाले दोस्रो पटक विश्वकप विजेता बन्न आतुर फ्रान्सको सामना गर्दैछ। क्रोएसिया पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो। तेस्रो पटक विश्वकपको फाइनलमा पुगेको फ्रान्सले २० वर्षअघि प्यारिसमा प्राप्त सफलता दोहोर्‍याउन चाहेको छ।

फ्रान्सलाई नेतृत्व दिइरहेका डिडे डेसाँले तेस्रो ठूलो प्रतियोगितामा टोलीको जिम्मेवारी वहन गरिरहेका छन् र उनी खेलाडी र व्यवस्थापकका दुवैका रुपमा उपाधि उचाल्ने तेस्रो व्यक्ति बन्ने दाउमा छन्। उनका समकक्षी ज्लाट्को डालिक जम्मा नौ महिनादेखि क्रोएसियाली टोलीका व्यवस्थापक छन्। उनी विश्व फुटबलको सबैभन्दा ठूलो सफलताबाट मात्रै ९० मिनेटको दूरीमा छन्। र, त्यसो भयो भने त्यो विश्वकप इतिहासकै सबैभन्दा अविश्वसनीय जित हुनेछ।

४१ लाख ७० हजार जनसंख्या रहेको क्रोएसिया विश्वकप फुटबलको फाइनलमा पुग्ने सबैभन्दा सानो देश हो भन्ने तपाईँलाई लाग्नसक्छ। तर त्यो कीर्तिमान युरुग्वेले राखेको छ। सन् १९३० मा विश्वकपको उपाधि जित्दा युरुग्वेको जनसंख्या लगभग १७ लाख थियो। फिफाको विश्व वरीयतामा २०औँ वरीयतामा रहेको डालिक नेतृत्वको क्रोएसिया विश्वकपको फाइनलमा पुग्ने सबैभन्दा कम वरीयतामा रहेको टोली हो। विश्वकपको फाइनलमा पुग्ने १३ देशमध्ये एक क्रोएसिया हो। अहिलेसम्म फुटबलमा पाएको यो उनीहरूको सबैभन्दा ठूलो सफलता हो। २० वर्षअघि उनीहरू विश्वकप फुटबलमा तेस्रो स्थानमा पुगेका थिए। तर त्यसबेला पनि उनीहरू सेमिफाइनलमा फ्रान्सबाट पराजित भएका थिए।

यसपटक उनीहरूको फाइनलसम्मको यात्राले इङ्ग्ल्याण्डको सपना समाप्त पारिदियो। साथै त्यसले जाग्रेब र अन्यन्त्र व्यापक हर्षबढाइँ गरिएको थियो। हजारौँ समर्थकले चोकमा आएर नाचगान गर्नुका साथै रातो, सेतो र निलो बुट्टा भएको झण्डा र पताका फहराएका थिए। "सपना, सपना, सपना! क्रोएसिया अब विश्वकपको फाइनलमा पुगको छ," स्पोर्ट्सकी नोभोस्ती समाचारपत्रले लेखेको छ, सन् १९९८ को भन्दा ठूलो उपलब्धितर्फ डोर्‍याएर डालिकले आफूलाई 'दन्त्यकथाको नायक' जस्तो स्थानमा पुर्‍याएका छन्। "हाम्रो तेजिलो टोली फाइनलमा पुगेको छ, हामी सपनामा छौँ र अब एक पाइलामात्रै अघि बढ्यौँ भने पनि उपाधि उचाल्नेछौँ," युटार्नयी लिष्टले लेखेको छ। 

फ्रान्स स्वदेशमै भएको युरोपेली च्याम्पियनशीपको फाइनलमा पुगेको थियो र उत्कृष्ट टोली भनिएको भए पनि त्यसबेला पोर्चुगलबाट पराजित भएको थियो। त्यसबेलाको पराजयको सम्झनाले अहिले राष्ट्रिय टोलीलाई थप बलियो बनाइरहेको छ। सुड ओएस्ट अखबारले आइतवार दुई वर्षको घाउ निको पार्ने अवसर भएको उल्लेख गरेको छ।

उसले भनेको छ, "यसबेलाको सन्दर्भ फरक छ, खेलाडीहरू थप परिपक्व भएका छन् र हामीसँग किलियान एमबाप्पे पनि छन्।" अग्रपङ्क्तिबाट खेल्ने एमबाप्पे एकदमै लयमा छन् र उनी विपक्षी क्रोएसियाले 'खडा गर्ने घेरा तोड्ने फ्रान्सको बलियो हतियार बन्नसक्ने' मध्येका एक खेलाडी हुन्। फ्रान्सका सञ्चारमाध्यमहरूले विश्वकप फाइनलका लागि टोलीले गरिरहेको थप प्रशिक्षणको पनि चर्चा गरिरहेका छन्।

उनीहरूले क्रोएसियाभन्दा २४ घण्टा अगावै सेमिफाइनल खेल्न पाए र उनीहरूले नकआउट चरणका आफ्ना सबै खेलहरू निर्धारित ९० मिनेटकै समयमा जिते। तर क्रोएसियालाई समूह चरणपछिका तीनवटै खेल जित्न अतिरिक्त समय आवश्यक पर्‍यो। दुईवटा प्रतिस्पर्धाको टुङ्गो पेनाल्टीमार्फत लागेको थियो। ले फिगरोका अनुसार क्रोएसिया एकदमै शक्तिशाली प्रतिस्पर्धा हो जोसँग क्षमतावान् खेलाडीहरू छन् र उसले जुनसुकै बेला समस्या निम्त्याउन सक्छ। ले पोइन्टले भने खेलाडीहरूको मनस्थितिलाई जोड दिएको छ। थप गरिएको समयमा खेल्दा पनि क्रोएसियाका खेलाडीहरूको मानसिक अवस्था 'त्रुटिरहित' रहेको छ र उक्त टोली 'अपराजित रहनसक्ने" देखिन्छ। सम्भवतः फाइनलमा कुनै एक खेलाडीको प्रतिभाले खेलको छिनोफानो गर्नेछ। विश्वकप शुरू हुँदा यो प्रतियोगिता पछिल्लो पुस्ताकै दुई महान् खेलाडीहरू पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र आर्जेन्टिनाका लियोनल मेस्सीबीचको प्रतिस्पर्धा बन्ने ठानिएको थियो। तर दुवै टोली अन्तिम १६ बाट अघि बढ्न सकेनन् र अन्य खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने र सम्मानित सुनको बलको उपाधि जित्ने अवसर खुल्यो।

अहिलेसम्म केही खेलाडीहरूले उत्कृष्ट खेल देखाए पनि कुनै पनि खेलाडीले उक्त पुरस्कार प्राप्त गर्ने शैलीको खेल कौशल देखाएका छैनन्। के उसो भए उक्त सम्मानका लागि फाइनल खेल नै निर्णायक बन्ने हो त? रोचक के छ भने पछिल्लो ६ संस्करणमा सुनको बल जित्ने खेलाडीहरू विश्वकप विजेता टोलीका सदस्यहरू थिए। यो वर्ष त्यो परिवर्तन पनि हुनसक्छ। क्रोएसियाका मध्यपङ्क्तिका खेलाडी लुका मोडरिचले अहिलेसम्मको आफ्नो खेलका लागि व्यापक प्रशंसा पाएका छन्। आर्जेन्टिनाविरुद्ध समूह चरणमा उत्कृष्ट खेल्दा उनले म्यान अफ द म्याचको पुरस्कार पाएका थिए।

फ्रान्सका अग्रपङ्क्तिका खेलाडी एमबाप्पेले आर्जेन्टिनाविरुद्ध दुई गोल गर्दै आफूलाई अब्बल खेलाडीको कोटीमा उभ्याए। उनले सन् १९५८ को विश्वकप फाइनलमा किशोर उमेरका ब्रजिलका महानतम खेलाडी पेलेले गरे जस्तो प्रदर्शन क्रोएसियाविरुद्ध चाहना राखेका छन्। फाइनलमा एमबाप्पेसँगै फ्रान्सका लागि तीन गोल गरेका आन्ट्वान ग्रिजम्यानले कस्तो खेल देखाउलान भन्ने चासो पनि सर्वत्र छ। दुवै खेलाडीलाई फाइनलमा उनीहरूले हयाट्रिक अर्थात् तीन गोल गरे भने सुनको जुत्ताका लागि उनीहरूले ६ गोल गरेका इङ्ग्ल्याण्डका हेरी केनकै स्थानमा आफू उक्लिनसक्ने थाहा पाएका छन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved