केरा खेतिबाट बार्षिक ५० लाख आम्दानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2019 | 01:40:39 PM मा प्रकाशित

laxmi  sunrise bank

म्याग्दीको बेनी नगरपालिका–२ खबरामा केरा खेतीबाट वार्षिक ५० लाखसम्म आम्दानी हुने गरेको छ । केरा खेतीबाट राम्रो आम्दानी हुन थालेपछि गाउका सबै कृषकले केरा खेति गर्न थालेका छन् ।   

खबरा गाउँमा करीब १८ हेक्टर क्षेत्रफलमा केरा खेती गरिएको छ । धान, गहुँ, मकै, कोदो बालीको विकल्पमा यहाँका कृषकले केरा खेती गरेको डेढ वर्षमै लाखौँ रुपैयाँ आम्दानी लिन थालेका छन् । अन्नबालीलाई जस्तो धेरै मेहनत र श्रम खर्च गर्नु नपर्ने केरा खेती आम्दानीको गतिलो माध्यम बनेको स्थानीय कृषकले बताएका छन् । खबराका अगुवा कृषक शोभित सापकोटाका अनुसार यहाँका कृषकले केरा बेचेर मात्रै गाउँमा वार्षिक ५० लाख भित्र्याउने गरेका छन् । 

केही वर्षअघिसम्म परम्परागत खाद्यान्न बालीको खेती हुने खबरा अहिले केराको बगैँचामा परिणत भएको छ । अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केरा खेतीतर्फ आकर्षण बढेको अगुवा कृषक नारायण सापकोटाको भनाई छ । 

उनले भने, “खबराको मुख्य आम्दानीको स्रोत भनेकै केरा खेती हो ।” सापकोटाका अनुसार विगत तीन वर्षदेखि यहाँका कृषकले व्यावसायिक केरा खेती शुरु गरेका हुन् । करीब १५० घरधुरीको बसोबास रहेको खबराका बासिन्दाले केही वर्षयता खेतबारी, कान्ला, खोल्सा, खरबारी जताततै केरा खेती गरेका छन् । 

वार्षिक तीन लाखको केरा बिक्री गर्दै आएको खबराकी तारा  कुँवर बताउछिन्  केरासँगै तरकारी खेती पनि गर्नुभएको छ । “वार्षिक रु दुई लाखदेखि तीन लाखसम्म केरा बेचेर कमाइ हुन्छ, यहाँको आम्दानीको मुख्य माध्यम भनेकै केरा खेती हो”, उनले भनिन् । करीब ५० घरले बगैँचा नै बनाएर व्यावसायिक केरा खेती गरेका छन् । 

मजदुर अभावमा खाद्यबाली हुने जमीन बाँझिन थालेको अवस्थामा केरा खेती प्रभावकारी विकल्प बनेको स्थानीयवासी बलबहादुर कुँवर बताउछन्  । खबराको केरा बेनीमा खपत हुन्छ । “केरा बेचेर वार्षिक ५० हजारदेखि ६० हजार आम्दानी नगर्ने खबरामा कुनै घर नै छैन”, कुँवरले भने । दैनिक पाँचभारीका अनुपातमा खबराबाट बेनीमा केरा बिक्रीका लागि ल्याउने गरेका छन् । पकाएको प्रति १२ कोसाको १०० का दरले बिक्री हुने गरेको छ । एउटै घारीबाट एक हजार कोसासम्म उत्पादन लिन सकिने कृषकले बताएका छन् । 

बेनी नगरपालिकाले खबरालाई केरा गाउँ बनाउने लक्ष्यसहित ‘एक वडा एक उत्पादन कार्यक्रम’ सञ्चालन गरेको वडाध्यक्ष हीराबहादुर थापाले बताए । केराखेतीसम्बन्धी कार्यक्रमका लागि यस वर्ष पनि तीन लाख विनियोजन भएको छ । 

 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved