ऊर्जा चुहावटलाई नियन्त्रण गर्न कार्यदल गठन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 25, 2017 | 06:24:41 AM मा प्रकाशित

laxmi  sunrise bank

उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री कमल थापाले मुलुकका ३५ प्रतिशत जनताको पहुँचमा विद्युत् पुर्‍याउने बताएका छन्। उर्जा पुग्न नसकेका जनताबीच ऊर्जा उपलब्ध गराउन ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणको संयुक्त प्रयासबाट युद्धस्तरमा कामको थालनी गर्न सम्बन्धित पदाधिकारीले चिन्तन गर्नुपर्नेमा थापाले जोड दिए।

उपप्रधानमन्त्री थापाले नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय हेटौंडाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै, मुलुकमा अहिले ऊर्जा शक्ति थप उत्पादन गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई ऊर्जा मन्त्रालयले आह्वान गरिसकेको बताए।

मुलुकमा लोडसेडिङ सधैँका लागि घटाउन अहिले निर्माणधीन कुलेखानी तेस्रो आयोजनालाई यथाशीघ्र निर्माण सम्पन्न गर्न उच्च प्राथमिकताका साथ लाग्नुपर्नेमा थापाले जोड दिएका छन्।

उनले कुलेखानी तेस्रो आयोजना निर्माण शुरु गरिएको १० वर्ष बितिसकेको भए पनि अहिले सम्म विद्युत् उत्पादन गर्न नसक्नु, आयोजनाका पदाधिकारी र निर्माण कम्पनीबीच समझदारी अनुसार निर्माण कार्य शुरु नहुँदा आयोजनाले निकै क्षति व्यहोर्नु परेकोमा चिन्ता व्यक्त गरे।

सो अवसरमा ऊर्जा सचिव अनुप उपाध्यायले देशको विभिन्न क्षेत्रमा विद्युत् उपलब्ध गराईएको भए पनि तराई क्षेत्रमा अवैध रुपमा विद्युत् चुहावट गर्ने प्रविधिलाई नियन्त्रण गर्नुपर्ने र साना जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन गर्न सरकारले दीर्घकालीन योजना बनाई कार्यान्वयन गर्नुपर्ने बताए।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकमा लोडसेडिङ घटाउन ऊर्जा चुहावटलाई कडाइका साथ नियन्त्रण गर्न कार्यदलको गठन गरिएको बताए। ऊर्जालाई थप उत्पादन गर्न मन्त्रालयबाट अनुमति पाएका साना आयोजनालाई यथाशीघ्र विद्युत् उत्पादन गर्ने कार्यलाई सञ्चालनमा ल्याउन र विदेशबाट थप ऊर्जा ल्याई आँद्योगिक क्षेत्रलाई, उपभोक्तालाई विद्युत् वितरण गर्न ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरण लागिपरेको घिसिङले बताए।

मन्त्री थापाले मकवानपुरको भिमफेदी गाउँपलिका–१ सानुटारस्थित निर्माणाधिन कुलेखानी तेस्रो आयोजनाको आज स्थलगत निरीक्षण गरि निर्माण कार्यबारे जानकारी लिएका छन्।

कुलेखानी तेस्रो आयोजनाका प्रमुख सुभाष मिश्रले माघको पहिलो साताबाट सो आयोजनाबाट १४ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिए। चार अर्ब ५२ करोड रुपैयाँको लागतमा कुलेखानी तेस्रो आयोजनाको निर्माण भइरहेको छ। रासस 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved