समानुपातिक मतपत्र छापियो, प्रत्यक्षको आजैदेखि शुरु हुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 27, 2017 | 11:51:06 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मतपत्रको बारेमा सर्वाेच्च अदालतबाट भएको आदेशलाई सम्मान गर्दै निर्वाचन पूर्वनिर्धारित कार्यक्रमअनुसार नै अघि बढ्ने बताएका छन् । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि आज आयोजित निर्वाचन र सुरक्षा विषयक दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुभारम्भ गर्दै उनले भने – “समानुपातिकतर्फको मतपत्र छपाइको काम सकिएको छ, आजैबाट प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ शुरु हुने छ ।” 

व्यवस्थापकीय र प्राविधिक दृष्टीकोणबाट ज्यादै जटिल भए पनि राष्ट्रको आवश्यकता, राजनीतिक दलको सहमति र सरकारको आग्रहमा दुुवै निर्वाचन एकैसाथ गर्न आयोगले सहमति जनाएको उल्लेख गर्दै उनले भने  “निर्वाचनका बारेमा आलोचना, प्रतिआलोचना र अनुमानको कुरा आइरहेकोछ, निर्वाचनको वातावरण अस्थिर तुल्याउने काम कही कतैबाट नहोस्, निर्धारित समयमै निर्वाचन गर्न हामी प्रतिबद्ध छौँ ।” 

प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्धारित मितिमै निर्वाचन गर्ने सन्दर्भमा पहिलो चरणको निर्वाचनको उम्मेदवारको मनोनयन र निर्वाचन चिन्ह प्रदान भई प्रचारप्रसारको काम शुरु भइसकेको, समानुपातिकतर्फको मतपत्र छाप्ने काम पूरा भएको, दोस्रोचरणको लागि समेत निर्वाचन अधिकृतको कार्यलय खोलिसकिएको हुँदा विश्वासका साथ निर्वाचन सञ्चालन गर्न आयोग अघि बढेकाले अन्यौलको वातावरण नरहेको स्पष्ट गरे । 

निर्वाचन तोकिएकै मितिमा सफलतापूर्वक सम्पन्न गराउन प्रधानमन्त्रीले पटक÷पटक प्रतिबद्धता जाहेर गरेको प्रशंग उल्लेख गर्दै उनले सर्वाेच्च अदालतको आदेशलाई सम्मान गर्दै मतपत्रका सम्बन्धमा आयोगले गठन गरेको समितिको सुझावका आधारमा आयोग अघि बढेको जानकारी दिए । 

उनले अदालतको पछिल्लो आदेश औपचारिकरूपमा आयोगमा प्राप्त भइनसकेको बताए । पहिलो चरणको उम्मेदवारी मनोनयनका सिलसिलामा राजनीतिक दल र सुरक्षा निकायबाट निर्वाह भएको भूमिका सरहाहनीय रहेको उल्लेख गर्दै प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्वाचनका समयमा हुनसक्ने लोभ, लालच, डर÷धम्की जस्ता क्रियाकलाप रोक्न तथा आचारसहिताको पालना गर्ने विषयमा सुरक्षाकर्मीलाई व्यवसायिक मर्यादाभित्र रहेर काम गर्न निर्देशन दिए ।  

आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले निर्वाचनको तयारी ७५ प्रतिशतभन्दा बढी पूरा भएको जनाउँदै सुरक्षाकर्मीबीच समान धारणाका साथ निर्वाचनमा सुरक्षा प्रदान गर्न सहयोग पुगोस् भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved