सर्वोच्चको आदेश पाएका छैनौ, प्रत्यक्षतर्फको मतपत्रको छपाइ शुरु भैसक्यो : प्रमुख निर्वाचन आयुक्त यादव

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 27, 2017 | 02:41:03 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले सर्वोच्च अदालतको आदेश आफूहरुले नपाएकोले आजैबाट प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ शुरु भएको स्पष्ट पारेका छन् । उनले भने,‘सर्वोच्च अदालतले के आदेश पठाएको छ, हामीलाई थाहा छैन, पहिलो आदेशको जवाफ हामीले कार्तिक ७ गते नै पठाईसकेको छु, अहिले आयोगलाई कुनैपत्र आएको छैन, हामी आफ्नो पूर्वनिर्धारित कार्यक्रम अनुसार नै मतपत्र छपाईलाई अघि बढाएको छौं, जनक शिक्षा कार्यालयले काम सुरु गरिसक्यो, अब रोकिँदैन्।’

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख निर्वाचन आयुक्त यादवले अदालतको आदेश अहिलेसम्म आफूहरुले प्राप्त नगरेको भन्दै मतपत्र छपाईको काम आजबाट नै सुरु भएको जानकारी दिए । उनले भने,‘मतपत्रको बारेमा सर्वाेच्च अदालतबाट भएको आदेशलाई सम्मान गर्दै हामी पूर्वनिर्धारित कार्यक्रमअनुसार नै आयोग अघि बढ्छ ।’ उनले अदालतको पछिल्लो आदेश औपचारिकरूपमा आयोगमा प्राप्त भइनसकेको बताए ।

  साक्षात्कारमा उनले समानुपातिकतर्फको मतपत्र छपाइको काम आजैबाट सकिएको उल्लेख गर्दै भने,‘समानुपातिकतर्फको मतपत्र छपाईको काम आजबाट सकियो, अब आजैबाट प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ शुरु भयो, अब काम रोकिँदैन।’’

यादवले निर्वाचन पूर्वनिर्धारित मितिमै हुने बताउँदै अब पनि यसबारेमा कतैपनि अन्यौलता हुन नहुने धारणा राखे । उनले थपे,‘चुनाव कसैले रोक्न सक्दैन, निर्वाचन आयोग चुनाव गराएरै छोड्ने पक्षमा छ।’

पत्रकार धमलाले अदालतको आदेश बाध्यकारी छ अरे नि भनेर सोधेको प्रश्नमा यादवले आक्रोश पोख्दै भने,‘ऋषिजी म सँग अनुमानको प्रश्न नगर्नुहोस्, म अनुमानित प्रश्नको जवाफ दिने पक्षमा छैन, पहिलो कुरा अदालतको आदेश के छ भन्ने कुरा नै हामीले पाएका छैनौं ।’

त्यस्तै उनले मतपत्र कति वटा हुन्छ नि भनेर सोधेको अर्को प्रश्नमा भने,‘मतपत्रबारे पहिला जे सहमति भएको थियो त्यही हुन्छ, मतपत्र एउटा हो, तर प्रत्यक्ष र समानुपातिकको आधारमा चार वटा नै हुन्छ, प्रत्यक्षमा पहिलो क खण्डामा प्रदेश सभा र ख खण्डामा प्रतिनिधि सभा हुन्छ, त्यसैले यसलाई दुईवटै मतपत्रको रुपमा लिन सकिन्छ, ।’

व्यवस्थापकीय र प्राविधिक दृष्टीकोणबाट ज्यादै जटिल भए पनि राष्ट्रको आवश्यकता, राजनीतिक दलको सहमति र सरकारको आग्रहमा दुुवै निर्वाचन एकैसाथ गर्न आयोगले सहमति जनाएको उल्लेख गर्दै उनले भने,‘निर्वाचनका बारेमा आलोचना, प्रतिआलोचना र अनुमानको कुरा आइरहेकोछ, निर्वाचनको वातावरण अस्थिर तुल्याउने काम कही कतैबाट नहोस्, निर्धारित समयमै निर्वाचन गर्न हामी प्रतिबद्ध छौँ।’

यादवले आफूहरुलाई बजेटको कुनै अभाव नरहेको समेत जानकारी दिए । उनले भने,‘निर्वाचनको लागि बजेटको कुनै अभाव छैन, हामीले मितव्ययी ढंगबाट नै बजेटलाई उपयोग गरेका छौं ।’

यादवले निर्धारित मितिमै निर्वाचन गर्ने सन्दर्भमा पहिलो चरणको निर्वाचनको उम्मेदवारको मनोनयन र निर्वाचन चिन्ह प्रदान भई प्रचारप्रसारको काम शुरु भइसकेको, समानुपातिकतर्फको मतपत्र छाप्ने काम पूरा भएको, दोस्रोचरणको लागि समेत निर्वाचन अधिकृतको कार्यलय खोलिसकिएको हुँदा विश्वासका साथ निर्वाचन सञ्चालन गर्न आयोग अघि बढेकाले अन्यौलको वातावरण नरहेको स्पष्ट पारे ।

निर्वाचन तोकिएकै मितिमा सफलतापूर्वक सम्पन्न गराउन आयोग प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले अदालतको आदेशलाई सम्मान गर्दै मतपत्रका सम्बन्धमा आयोगले गठन गरेको समितिको सुझावका आधारमा आयोग अघि बढेको समेत जानकारी दिए ।

पहिलो चरणको उम्मेदवारी मनोनयनका सिलसिलामा राजनीतिक दल र सुरक्षा निकायबाट निर्वाह भएको भूमिका सरहाहनीय रहेको उल्लेख गर्दै मंसिर १० र २१ गते हुने निर्वाचनको लागि उच्च स्तरको सुरक्षा प्रबन्ध भएको समेत उनले विश्वास दिलाए । उनले भने,‘सुरक्षाको बलियो प्रबन्ध छ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved