कांग्रेसको ८४ पन्ने घोषणापत्रः कम्युनिष्टले जिते राज्य आतंक र भ्रष्टाचार बढ्ने

५ बर्षमा प्रति व्यक्ति आय डेढ लाख पुर्याउने
मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 30, 2017 | 10:00:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कांग्रेसले आसन्न आम निर्वाचनका लागि घोषणा पत्र तयार गरेको छ। प्रदेश र प्रतिनिधिसभा चुनावका लागि कांग्रेसले तयार पारेको ८४ पृष्ठ लामो घोषणापत्रमा एमालेलाई राष्ट्रिय एकताको बाधक र माओवादीलाई लाभ खोज्ने अवसरवादीको संज्ञा दिएको छ। 

वाम गठबन्धनप्रति निकै कठोर आक्रमण गर्दै कांग्रेसले कम्युनिष्टहरुलाई ‘हत्यारा र राज्य आतंकका पक्षपाती’ को संज्ञा दिएको छ। कांग्रेसले ०४८ को चुनावी नाराको झल्को दिंदै घोषणापत्र तयार पारेको छ। कांग्रेसले घोषणापत्र मंगलबार सार्वजनिक गर्दैछ। 

०४८ मा ‘कम्युनिष्टहरुले जिते ६० वर्षमाथिका बुढाबुढीलाई मार्छन्’ भन्दै भोट मागेको कांग्रेसले झन्डै २६ बर्षपछि पुन: उस्तै चुनावी नारा दिएको छ। ‘कम्युनिष्टहरु लोकतन्त्रलाई उपयोग गरेर साम्यवाद ल्याउने चेष्टा गर्छन्’ कांग्रेसले भनेको छ, ‘कम्युनिष्टहरु शान्तिका पक्षधर हुँदैनन्- तिनले हिंसा, व्यक्ति हत्या र राज्य आतंक सिर्जना गर्ने गर्छन।’ 

एमाले राष्ट्रिय एकताको बाधक

कांग्रेस एमाले प्रति निकै कठोर देखिएको छ। कांग्रेसले एमालेलाई राष्ट्रिय एकता र सम्बृद्धिको वाधक भनेको छ। एमालेले मधेस आन्दोलनलाई विखण्डनको आन्दोलन भन्दै अशोभनीय टिप्पणी गरेको र अहिले अतिवाद एवं नक्कली राष्ट्रवादको पासोमा पर्दै गरेको कांग्रेसको भनाई छ।   

माओवादी लाभ खोज्ने अवसरवादी

कांग्रेसले माओवादीको बारेमा समेत कठोर टिप्पणी गरेको छ। माओवादीमा अस्थिर राजनीतिको लाभ खोज्ने अवसरवादी प्रवृत्ति देखिएको कांग्रेसको विश्लेषण छ। प्रचण्ड नेतृत्वको माओवादी अस्थिर राजनीतिक समीकरण, सत्ता स्वार्थको गठबन्धन, वैचारिक अस्पष्टता र असफलताको केन्द्र बनेको कांग्रेसको विश्लेषण छ।

मधेश केन्द्रित दल संवाद र सहकार्यको बाटोमा

कांग्रेस मधेश केन्द्रित दल प्रति नरम देखिएको छ। तराई मधेशको भोट तान्न मधेश केन्द्रित दलसंग सहकार्य गर्ने 'तानाबाना' बुनेको कांग्रेसले मधेस केन्द्रित दल सम्बाद र सहकार्यको बाटोमा रहेको विश्लेषण गरेको छ। 

राप्रपा (प्रजातान्त्रिक) र राप्रपा नेपालसँग विश्वसनीय सहकार्य 

देशको नयाँ संविधान प्रतिको गम्भीर प्रतिबद्धता तथा लोकतन्त्रका विश्वव्यापी मूल्य–पद्धति माथिको विश्वास नै नेपाली कांग्रेस तथा राप्रपा (प्रजातान्त्रिक) एवं राप्रपा नेपालको सहकार्यको आधार रहेको कांग्रेसको विश्लेषण छ। 

कम्युनिष्टले जिते अस्थिरता र भ्रष्टाचार बढ्ने दाबी

कम्युनिष्ट गठबन्धन निर्माण गर्ने प्रयासले नयाँ संविधानका उपलब्धि, आर्थिक प्रगति, राष्ट्रिय एकता र सामाजिक सद्भाव जोखिममा परेको कांग्रेसको दाबी छ ।

कार्यकारी राष्ट्रपतीय प्रणालीले स्थिरता ग्यारेन्टी नगर्ने भन्दै कांग्रेसले भनेको छ, ‘संसदमा कम्युनिष्टहरुको वर्चश्वले स्थिरताको ग्यारेन्टी गर्दैन । देशलाई निरंकुश कम्युनिष्ट शासनतर्फ लैजाने र द्वन्द्व सिर्जना गर्ने खतरनाक प्रयोग मात्र हुन सक्छ ।’

कम्युनिष्ट सरकारले राष्ट्रिय/अन्तराष्ट्रिय लगानी घट्ने र पूँजी पलायन हुने कांग्रेसको दाबी छ । एमाले र माओवादी सुनियोजित तवरबाट संस्थागत भ्रष्टाचारलाई संरक्षित गर्ने पार्टी प्रमाणित भएको कांग्रेसले घोषणापत्रमा दाबी गरेको छ।

'सत्ता र स्वार्थको यो कम्युनिष्ट गठबन्धनको पनि नेपाली कांग्रेसले डटेर सामना गर्नेछ तथा लोकतन्त्र र आर्थिक समृद्धिका लागि निजी क्षेत्रको उत्साहपूर्ण भूमिका र क्षमता तथा सामाजिक न्याय र समतामूलक विकास सहितको लोकतान्त्रिक समाजवाद स्थापनाको अभियानलाई अवरुद्ध हुन दिनेछैन' कांग्रेसले घोषणापत्रमा उल्लेख गरेको छ। 

वृद्धभत्ता बढाउने, राज्यलाई भ्रष्टाचारमुक्त बनाउने

०४८ को चुनावमा ‘कम्युनिष्टहरुले जिते ६० वर्षमाथिका बुढाबुढीलाई मार्छन्’ भनेर भोट बटुलेको कांग्रेसले अहिले त्यहि बुढापाकाहरुलाई फकाउन बृद्धभत्ता बढाउने सपना बाडेको छ।  

नेपाली कांग्रेसले जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्तामा उल्लेख्य वृद्धि गर्ने बाचा घोषणापत्रमा गरेको छ । प्रत्येक स्थानीय तहमा जेष्ठ नागरिक सेवा आश्रम बनाउने र आवास, भोजनदेखि सबै सेवा निःशुल्क उपलब्ध गराउने बताएको छ ।

साथै कांग्रेसले नेपाली समाज र राज्यलाई भ्रष्टाचारमुक्त बनाउन संकल्प पनि व्यक्त गरेको छ । अख्तियार, सतर्कता केन्द्रलाई प्रभावकारी बनाउने, भ्रष्टाचारमुक्त समाज बनाउन सामाजिक-राजनीतिक अभियान चलाउने उसले बताएको छ । राजनीतिक भागवण्डाका आधारमा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्ने प्रचलन रोक्ने बाचा पनि कांग्रेसले आफ्नो घोषणापत्रमा गरेको छ ।

कांग्रेसको विकास दृष्टि र लक्ष्य:  अबको १० वर्षमा नेपाल


१. अधिकांश नागरिक मध्यम-वर्गीय, निजी उद्यम र व्यवसाय-मैत्री भएको गतिशील लोककल्याणकारी राज्य हुनेछ ।

२. द्रुत र फराकिलो आर्थिक बृद्धि हासिल भई अर्थतन्त्रको आकार प्रचलित मुल्यमा रु. १०० खर्वको हाराहारीमा पुग्ने र लाखौं नयाँ रोजगारी सिर्जना हुनेछ ।

३. कुल गार्हस्थ्य उत्पादनको अनुपातमा औसत पाँच प्रतिशत -वाषिर्क रु. १ खर्बदेखि ५ खर्व बराबरको विदेशी प्रत्यक्ष लगानी भित्रिनेछ । अर्थतन्त्रमा नेपाली उत्पादनमूलक उद्योगको अंश ५ बाट १५ प्रतिशत पुगी अन्तर्राष्ट्रिय उत्पादन सञ्जालमा गाँसिएको हुनेछ ।

४. गरिबीको रेखामुनि रहेका जनताको हिस्सा ३ प्रतिशत भन्दा कम हुनेछ । जीवनचक्रका जोखिमपूर्ण अवधिहरुमा केन्दि्रत भई सशर्त नगद हस्तान्तरण, न्यूनतम रोजगारी ग्यारेन्टी र आधारभूत आय निश्चित गरिएको बृहत सुरक्षा प्याकेजको कार्यान्वयन हुनेछ ।

५. नेपालमा कुपोषण र भोकमरी निर्मूल भएको हुनेछ ।

६. औपचारिक क्षेत्रका श्रमजीवी कोही पनि गरिबीको रेखामुनि नभएको र अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा सञ्जालमा आवद्ध गराई निवृत्तिभरणको व्यवस्था भएको हुनेछ ।

७. सबै युवाहरु साक्षर भएका र कुनै न कुनै विषयमा सीप र दक्षता हासिल गरेका हुनेछन् ।

८. प्रत्येक नेपालीको स्वास्थ्य बीमा गरिएको हुनेछ । औसत नेपालीको आयु ७७ वर्ष नाघ्ने, शिशु मृत्यु दर ३३ -प्रति १००० जीवित जन्म) बाट घटेर एकल अंकमा सीमित हुने र मातृ मुत्युदर २५८ (प्रति एक लाख जीवित जन्म) बाट घटेर ५० पुगेको हुनेछ ।

९. १५,००० मेगावाट भन्दा बढी ऊर्जाको उत्पादन हुनेछ । आन्तरिक खपत भन्दा बढी ऊर्जा निर्यात गरिनेछ र नेपालको अन्तर्राष्ट्रिय छवि “शत प्रतिशत स्वच्छ उर्जामा आधारित वातावरण मैत्री अर्थतन्त्र” को हुनेछ । प्रमुख पर्यटकीय नगरहरुमा शतप्रतिशत र अन्य सहरहरुमा वहुसंख्यक सवारी साधन विद्युतीय हुनेछन् ।

१०. काठमाडौं-मधेस एक्सप्रेसवे लगायत ४ देखि ६ लेनका १००० कि.मी भन्दा बढी द्रुत-मार्ग, ५०० कि.मी. भन्दा बढी रेल्वे लाइन, ५०,००० भन्दा बढी किमी कालोपत्रे सडक सञ्जालले राष्ट्रलाई जोडेको हुनेछ ।

११. पाँचवटा अन्तर्राष्ट्रिय विमानस्थलहरु निर्माण भएका हुनेछन् । प्रत्येक बर्ष ३२ लाखभन्दा बढी पर्यटक नेपाल भित्रिनेछन् र पचास लाख नेपालीहरुले पर्यटन उद्योगमा प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी पाउनेछन् ।

१२. तराई-मधेश र पहाडका १८ लाख हेक्टरभन्दा बढी खेतीयोग्य जमीन बाह्रै महिना सिञ्चित हुनेछन् । प्रमुख तरकारी र खाद्यान्नहरुमा नेपाल आत्मनिर्भर बन्नेछ । हालको कृषि उत्पादकत्व दोब्बर भएको हुनेछ ।

१३. मोबाइल फोन र इन्टरनेटको पहुँच सबै नेपाली जनतामा पुगेको हुनेछ ।

१४. सोह्र वर्षभन्दा माथिका सबै नेपालीको बैंक खाता हुनेछ भने ऋण लिएका ८० प्रतिशत भन्दा बढी घरधुरीको स्रोत औपचारिक वित्तीय क्षेत्र हुनेछ ।

१५. नेपालको ७५ प्रतिशतभन्दा बढी जनसंख्या व्यवस्थित, सुविधा सम्पन्न, आधुनिक सहरहरुमा बसोबास गर्नेछ ।

१६. सुरक्षित आवासमा बस्ने नेपाली घरपरिवारको हिस्सा तीन गुणाले बृद्धि हुनेछ । सबै नयाँ भवनहरु अनिवार्यरुपले भूकम्प-प्रतिरोधी हुनेछन् । बाढी, पहिरो, आगलागी जस्ता प्राकृतिक विपदका कारण अकालमा मृत्यु हुनेको संख्या न्यून हुनेछ ।

१७. नेपालको ४५ प्रतिशत भू-भाग वनले ढाकेको हुने र जलवायु परिवर्तन र अल्प-कालीन जलवायु प्रदुषकहरुको नकारात्मक प्रभावलाई यथासम्भव न्यूनीकरण गरिएको हुनेछ ।

१८. सबै तहका सरकारी निकाय निजी क्षेत्र र सामाजिक संस्थाहरु वातावरण संरक्षण, आर्थिक विकास तथा सामाजिक सेवामा तत्परताका साथ सहकार्य गरेका हुनेछन् ।

१९. सबै छिमेकी राष्ट्रहरुसंग असल सम्वन्ध र सार्वभौम समानताका आधारमा स्वतन्त्र परराष्ट्र नीति अवलम्वन गर्दै गैरआवासीय नेपालीहरुलाई मुलुकको विकास मूलधारमा समाहित गर्न उनीहरुको सीप र पूँजीको अधिकतम उपयोग भएको हुनेछ ।

२०. संसदीय लोकतन्त्रको जगमा समावेशी, न्यायपूर्ण, उत्तरदायी, भ्रष्टाचार-रहित शासन व्यवस्था सुदृढ भएको हुनेछ ।

कांग्रेसका प्रमुख नाराहरु:

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved