विवेकशील साझा पार्टीद्वारा काठमाडौँ र ललितपुरमा थप ६ उम्मेदवारी घोषणा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 31, 2017 | 03:43:04 PM मा प्रकाशित

laxmi  sunrise bank

विवेकशील साझा पार्टीले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि प्रदेश ३ अन्तर्गत काठमाडौँ र ललितपुरमा थप उम्मेदवारी घोषणा गरेको छ।

यस पटकको चुनावमा राष्ट्रिय पार्टी बन्ने र अर्को पटक देशको नेतृत्व गर्ने लक्ष्य लिएको विवेकशील साझा पार्टीका थप जिल्लाका उम्मेदवारहरूको परिचय यस्तो छ -

डा. सूर्यराज आचार्य, काठमाडौँ क्षेत्र नं २

भारतबाट सिभिल इन्जिनियरिङमा स्नातक, एआईटी बैंककबाट स्रोत व्यवस्थापनमा स्नातकोत्तर तथा जापानको टोकियो विश्वविद्यालयबाट ‘पूर्वाधार र क्षेत्रीय विकास'मा विद्यावारिधि गरेका डा. आचार्य सार्वजनिक नीति तथा पूर्वाधार विज्ञ हुन्। उनी लामो समय जापानको 'इन्स्टिच्युट फर ट्रान्सपोर्ट पोलिसी स्टडिज'मा 'सिनियर रिसर्च फेलो' र टोकियो विश्वविद्यालयमा अतिथि प्राध्यापकका रूपमा कार्यरत रहेका थिए। विगत केही वर्ष अगाडिदेखि डा. आचार्यले इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकमा अतिथि प्राध्यापकका रूपमा प्राध्यापन गरिरहेका थिए। साथै उनले नेपालका पूर्वाधार विकासका विभिन्न महत्त्वपूर्ण विषयहरूमा राष्ट्रिय बहसको उठान गरेका थिए। पेशागत जीवनको सुरुमा नेपाल सरकार र संयुक्त राष्ट्रसंघको कार्यानुभव संगालेका डा. आचार्यका दर्जनौं शोधपत्रहरू प्रकाशित छन्।


समिक्षा बास्कोटा, काठमाडौँ क्षेत्र नं १ (क)

अमेरिकाबाट कानुनमा स्नातकोत्तर गरेपछि 'डिन्स फेलो' मनोनीत भई केही समय त्यहीँ काम गरेर आफ्नै देशमा केही गर्ने चाहनाले सन् २०१० मा नेपाल फर्किएकी बास्कोटाले केही समय एउटा बैंकको कानुनी शाखामा काम गरिन्। तर त्यहीँ मात्र आफूलाई सीमित राख्न नचाहेपछि उनले आफ्नै ल फर्म दर्ता गर्नुका साथै विभिन्न शैक्षिक संस्थाहरूमा शिक्षण तथा प्राज्ञिक कार्यमा संलग्न भइन्। त्यसैबीच उनी आफ्नो बुवाले साढे तीन दशकअघि शुरू गरेको चिया तथा अन्य कृषिजन्य वस्तुको उत्पादन तथा बजारीकरणमा लागिन्। सम्भवत: बाल्यकाल पारिवारिक राजनीतिक पृष्ठभूमिकै वरिपरि ग्रुजिएको हुनाले उनको पनि राजनीतिमा विशेष लगाव छ र उनी राष्ट्रलाई बृहत्तररूपमा योगदान पुर्‍याउने सबैभन्दा सशक्त माध्यम इमानदार राजनीति हो भन्नेमा विश्वस्त छिन्।


पुरूषोत्तम ढुंगेल, काठमाडौँ क्षेत्र नं १ (ख)

विद्यार्थीकालदेखि नै राजनीति शुरू गरेका ढुंगेल २०३६ सालपछि लगातार दुई कार्यकाल नेपाल विद्यार्थी संघ, धनुषाका जिल्ला सभापति थिए। धनुषाबाट काठमाडौँ आएपछि २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका उनी २०६२/६३ सालको जनआन्दोलनताका वडा नम्बर ३४ (हाल ३१) मा नेपाली काँग्रेसको जनआन्दोलन परिचालन कमिटीका संयोजक थिए। तर पुरानो राजनीतिबाट दिक्क भएका ढुंगेलले वैकल्पिक राजनीतिको रूपमा विवेकशील साझा पार्टी अगाडि आएपछि आशावादी हुँदै आफ्नो आबद्धता परिवर्तन गरेका थिए। राजनीतिबाट लिने होइन, दिनुपर्छ भन्ने उनको विश्वास रहेको छ।


ऋषिका भट्टराई, काठमाडौँ क्षेत्र नं २ (क)

अमेरिकाबाट व्यवस्थापन र नेतृत्व विषयमा स्नातकोत्तर गरेर हालै नेपाल फर्किएकी भट्टराई हाल विभिन्न सामाजिक सेवाका अतिरिक्त अध्ययन तथा अध्यापन कार्यमा संलग्न छिन्। सानैदेखि राजनीतिमा रुचि राख्ने  उनी राज्यको सबैभन्दा ठूलो नीति अर्थात् राजनीतिमा युवाहरूको उल्लेखनीय सहभागिता तथा योगदान हुनुपर्ने कुरामा विश्वास राख्छिन्। देशमा राष्ट्रपति, सभामुख र प्रधान न्यायाधीश जस्ता उच्च पदमा महिला पुगे पनि राजनीतिमा अझै महिलाको अर्थपूर्ण सहभागिता नभएकोले राजनीति तथा राज्यका नीति निर्माण गर्ने निकायहरूमा महिलाको सहभागिता बढाई समावेशी, समतामूलक र संवृद्ध नेपाल बनाउने अभियानमा योगदान पुर्‍याउने उद्देश्यले भट्टराई राजनीतिमा होमिएकी हुन्।


आमिर राज महर्जन, ललितपुर क्षेत्र नं २

विद्यालय कालदेखि काष्ठ फर्निचर सीप सिकेका महर्जन अहिले कृषि उत्पादन व्यवसाय गर्दै समयसापेक्ष विविध उद्योग व्यवसायमा संलग्न हुँदै आएका छन्। महर्जन २०४१ सालदेखि राजनीतिक तथा परम्परागत क्षेत्रका विविध सामाजिक कार्य तथा समितिमा आबद्ध छन्।


उज्ज्वल कृष्ण श्रेष्ठ, ललितपुर क्षेत्र नं ३

पाटनको मंगलबजारमा जन्मिएका ४६ वर्षीय श्रेष्ठको १९९९ ए. डी. नामक आफ्नै पार्टी प्यालेस रहेको छ। उनले स्नातक तहसम्म अध्ययन गरेका छन्। वर्तमान राजनीतिक अवस्था देखेर वाक्क दिक्क भएकोले देशको सेवा गर्न आफू अघि सरेको उनले बताए। थुप्रै संघसंस्थाका बोर्डमा रहेर समाजसेवी काम गरिसकेका श्रेष्ठ आफ्नो उद्देश्य स्वच्छ राजनीति गरेर निस्वार्थ भावले देश र जनताको सेवा गर्नु रहेको बताउँछन्।

अन्य उम्मेदवारहरु पनि क्रमश: घोषणा गर्दै जाने पार्टीको नीति रहेको प्रबक्ता सुर्य राज आचार्यले बताएका छन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved