अर्थतन्त्र सुधारको बाटोमा, निर्वाचनपछि आर्थिक गतिबिधि सकारात्मक बन्ने राष्ट्र बैंकको विश्लेषण

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 01, 2017 | 06:32:04 AM मा प्रकाशित

laxmi  sunrise bank

मङ्सिर १० र २१ का लागि निर्धारण गरिको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको आर्थिक गतिबिधिमा सकारात्मक प्रभाव पर्ने विश्लेषण गरिएको छ। निर्वाचनको कारणले उपभोग खर्चमा वृद्धि हुने, समग्र आन्तरिक माग बढ्ने र यसबाट उपभोक्ता एवम् लगानीकर्ताको आत्मवलमा सुधार आई आर्थिक वृद्धि गतिशिल हुने राष्ट्र बैंकले विश्लेषण गरेको छ।    

व्यवस्थापिका संसदबाट हालै अन्तर सरकारी वित्त व्यवस्थापन विधेयक, २०७४ का साथै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयक, २०७४ र कर्मचारी समायोजन विधेयक पारित भएका छन्। यी कानूनी व्यवस्थाले स्थानीयस्तरको पुँजीगत खर्च वृद्धि हुने र देशव्यापी रुपमै आर्थिक क्रियाकलापहरुमा विस्तार हुने अपेक्षा गरिएको छ। 

चालु आर्थिक बर्षको पहिलो दुई महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै राष्ट्र बैंकले भनेको छ, समीक्षा अवधिमा होटल वेड अकुपेन्सी दरमा वृद्धि भएको र होटल वुकिङ्ग एवम् होटल तथा रेष्टुरेण्टको दर्ता उत्साहप्रद रहेकोलेपर्यटन क्षेत्रको वृद्धि सन्तोषप्रद हुने अनुमान छ।

उपभोक्ता मुद्रास्फीति

अत्यधिक मनसुनी बर्षाले सिर्जना गरेको बाढी पहिरो तथा डुवानले तरकारीको मुल्यमा उच्च वृद्धि भएकाले समिक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति केही वृद्धि भई ३.४ प्रतिशत कायम भएको राष्ट्र बैंकको भनाई छ। तर अघिल्लो बर्षको यस अवधिमा मुद्रास्फीति ७।९ प्रतिशत रहेकोमा तुलनात्मक रुपमा समीक्षा अवधिको मुद्रास्फीति भने कम हो ।   

सरकारी खर्च 

चालु आर्थिक बर्षको पहिलो दुई महिनाको अवधिमा नगद प्रवाहमा आधारित सरकारी खर्च बिगतको तुलनामा दुई गुणाले बढेको छ। समिक्षा अवधिमा सरकारी खर्च ७२ अर्ब ३८ करोड पुगेको छ। अघिल्लो बर्षको यस अवधिमा सरकारी खर्च ३१ अर्ब ५५ करोड थियो। 

त्यस्तै चालु खर्च समेत दुई गुणा बढीले बढेको राष्ट्र बैंकले जनाएको छ। यस अवधिमा चालु खर्च ७० अर्ब २६ करोड पुगेको छ। अघिल्लो बर्षको यस अवधिमा यस्तो खर्च २९ अर्ब ५८ करोड थियो। 

साथै समिक्षा अवधिमा पुँजीगत खर्च २० प्रतिशतले बढेर १ अर्ब ५५ करोड पुगेको छ। अघिल्लो बर्षको यस अवधिमा पुँजीगत खर्च १ अर्ब २९ करोड थियो। 

सरकारी राजस्व

समिक्षा अवधीमा राजश्व संकलन १०.३ प्रतिशतले वृद्धि भई ८८ अर्ब ७९ करोडमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व ५१.६प्रतिशतले वृद्धि भई रु. ८० अर्ब ४७ करोड पुगेको थियो। समीक्षा महिनामा राजस्व संकलन लक्ष्यभन्दा कम रहेको छ ।   

सरकारको नगद मौज्दात

स्रोत परिचालनको तुलनामा सरकारी खर्च न्यून भएकोले २०७४ भदौ मसान्तसम्ममा सरकारी ढुकुटीमा २ खर्ब ५८ अर्ब ३८ करोड नगद मौज्दात कायम रहेको छ।

निक्षेप संकलन

समिक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १.२ प्रतिशतले बढेको थियो । 

वार्षिक बिन्दुगत आधारमा २०७४ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १५.४ प्रतिशतले बढेको छ । २०७४ भदौमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ८.३ प्रतिशत, ३५.६ प्रतिशत र ४३.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.६ प्रतिशत, ४३.९ प्रतिशत र ३०.१ प्रतिशत रहेको थियो ।

कर्जा प्रवाह

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा२.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षकोसोही अवधिमा यस्तो कर्जा ३.५ प्रतिशतले बढेको थियो । 

निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १.८ प्रतिशत, विकास बैंकहरुको ४.८ प्रतिशत र वित्त कम्पनीहरुको १.३ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७४ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ  प्रवाहित कर्जा १६.६ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा कृषि क्षेत्रतर्फको कर्जा २.१ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २.४ प्रतिशत, निर्माण क्षेत्रतर्पmको कर्जा ३.० प्रतिशत, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा ३.३ प्रतिशत, सेवा तथा उद्योगतर्फको कर्जा २.८ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २.८ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६०.९ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.२ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०.६ प्रतिशत र १५.२ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा हायर पर्चेज कर्जा १.४ प्रतिशतले बढेको छ भने ओभरड्राफ्ट कर्जा १.६ प्रतिशतले घटेको छ । त्यसैगरी समीक्षा अवधिमा रु. १ करोड ५० लाख सम्मको व्यक्तिगत आवासीय कर्जा ३.८ प्रतिशतले बढेको छ भने रियल स्टेट कर्जा ०.४ प्रतिशतले घटेको छ।

रेमिट्यान्स 

चालु आर्थिक बर्षको पहिलो दुई महिनामा रेमिट्यान्समा सामान्य वृद्धि देखिएको छ। समिक्षा अवधिमा ०.७ प्रतिशतले रेमिट्यान्स बढेर १ खर्ब १५ अर्ब ५५ करोड पुगेको छ। अघिल्लो बर्षको यस अवधिमा ६.६ प्रतिशतले रेमिट्यान्स बढेको थियो। 

समीक्षा अवधिमा खुद ट्रान्सफर आय ०.४ प्रतिशतले वृद्धि भई १ खर्ब ३० अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३.७ प्रतिशतले बढेको थियो ।

बैदेशिक रोजगारीमा जानेको संख्यामा गिरावट 

समिक्षा अवधिमा बैदेशिक रोजगारिमा जानेको संख्यामा गिरावट आएको छ। श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ७.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १० प्रतिशतले घटेको थियो । 

समीक्षा अवधिमा मलेसिया जाने कामदारको संख्यामा उच्च वृद्धि भएको तर साउदी अरेविया र कतार जानेको संख्यामा उल्लेख्य गिरावट आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved