निर्वाचन तयारी र आचारसंहिताबारे सरकारका मुख्य सचिव र सचिवहरूलाई जानकारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 09, 2017 | 03:20:21 PM मा प्रकाशित

laxmi  sunrise bank

 प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी निर्वाचनलाई ऐतिहासिकरुपमा सफल तुल्याउन निर्वाचन आयोग दृढता र प्रतिबद्धताका साथ अघि बढिरहेको बताएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गरिएका तयारी तथा निर्वाचन आचारसंहिताका बारेमा नेपाल सरकारका मुख्य सचिव र सचिवहरूलाई जानकारी दिन आज काठमाडौंमा आयोजित छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचन जसरी पनि जित्नुपर्छ भन्ने सोचलाई निरुत्साहन गर्न र निर्वाचन आचारसंहिता पालनामा जोड दिन आवश्यक रहेको बताए   ।

निर्वाचनमा खटिने कर्मचारीहरूले निष्पक्ष एवं स्वतन्त्र भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुहुँदै प्रमुख निर्वाचन आयुक्त डा. यादवले मतदानपछि मतपेटिकालाई सुरक्षितरूपमा निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन र मङ्सिर २१ गते दोस्रो चरणको मतदान सम्पन्न भएपछि मतगणना शुरू हुने भएकाले त्यस अवधिसम्म मतपेटिकालाई व्यवस्थित एवं विश्वसनीय तरिकाबाट सुरक्षित गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे   । प्रमुख निर्वाचन आयुक्त डा. यादवले प्रभावकारी मतदाता शिक्षा, निर्वाचन सामग्रीहरू तथा मतदान केन्द्रको व्यवस्थापनसमेत अहिलेको  चूनौति रहेको बताउनुहुँदै आगामी निर्वाचनलाई सफल तुल्याउन आयोगले सवैबाट सहयोगको अपेक्षा गरेको बताए ।

कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले मुलुकको प्राथमिकताको सूचिमा रहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई सफल तुल्याउन आवश्यक शान्ति सुरक्षा, स्रोतसाधन र जनशक्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए । मुख्य सचिव रेग्मीले भने – निर्वाचन हामी सवैको साझा लक्ष्य हो, निर्वाचनलाई सफल तुल्याउन हामी सतर्क र दत्तचित्त छौ, आयोगसँग एकाकार भएर काम गर्ने छौ, निर्वाचनमा खटिएका राष्ट्रसेवकबाट भइरहेको कार्य सम्पादनको अनुगमन भइरहेको छ ।

  निर्वाचन आयुक्त सुधीरकुमार शाहले आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा  निर्वाचनलाई सफल तुल्याउन नेपाल सरकारका तर्फबाट आवश्यक सहयोग प्राप्त भइरहेको र सरकारबाट यस्ता किसिमका सहयोग, सद्भाव  र प्रतिबद्धता निरन्तर प्राप्त भइरहने विश्वास व्यक्त गरे   । उनले निर्वाचन आचारसंहिता नैतिकता तथा सदाचारसँग समेत जोडिएकाले लोकतन्त्रको सुदृढीकरणका लागि आचारसंहिता पालना अत्यावश्यक रहेको बताए   ।

कार्यक्रममा निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले आगामी निर्वाचनलाई ध्यानमा राखेर सवारी साधन, टेलिफोन, विद्युत, एम्बुलेन्स, हेलिकोप्टर चालू अवस्थामा राखी त्यस्ता साधनको सहज एवं सुव्यवस्थित प्रयोग गर्न तथा आममतदाता, कर्मचारी र उम्मेदवारलाई सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक रहेको बताए  । आयोगका सह–सचिव एवम प्रवक्ता नवराज ढकालले समग्र निर्वाचन प्रकृया र निर्वाचनका लागि भइरहेको तयारीका विविध पक्षमा जानकारी दिए  ।

कार्यक्रममा माननीय निर्वाचन आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल तथा इश्वरीप्रसाद पौड्याल र विभिन्न मन्त्रालयका सचिव एवं सहसचिवहरूको सहभागिता रहेको थियो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved