वायु प्रदूषण नियन्त्रण गर्न कार्यदल गठन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 17, 2017 | 03:24:18 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्दै गएपछि त्यसलाई तत्काल नियन्त्रण गर्न र सरोकारवाला निकायबीच समन्वय गर्न सरकारले ‘शीघ्र कार्यदल’ गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपत्यकाको वायु प्रदूषण नियन्त्रण गर्ने सम्बन्धमा सम्बन्धित निकायका प्रतिनिधिको उपस्थितिमा आज भएको बैठकपछि सो कार्यदल गठन गरिएको हो । 

सरकारी निकायबीच समन्वय गरी तत्काल वायु प्रदूषण समाधान गर्न प्रधानमन्त्री कार्यालयका सहसचिव नारायणप्रसाद रेग्मीको संयोजकत्वमा वातावरण, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायत सम्बन्धित निकायका प्रतिनिधि रहेको कार्यदल गठन गरिएको हो । 

बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रमान गुरुङले उपत्यकाको वायु प्रदूषण नियन्त्रण सम्बन्धमा जनसंख्या तथा वातावरण मन्त्रालयले तयार गरेको कार्ययोजना तत्काल स्वीकृत गरी अघि बढाइने बताए । 

सवारीसाधन जाँच प्रणालीलाई कडाइका साथ लागू गर्न निर्देशन दिँदै सचिव गुरुङले प्रदूषण शुल्कबाफत जम्मा भएको बजेट तत्काल प्रदूषण नियन्त्रणमा परिचालन गर्ने र आवश्यक उपकरण तथा सामग्री खरिद गरिने जानकारी गराए   । 

कचौरा आकारको काठमाडौँ उपत्यकामा धेरै हावाको बहाव नहुने, कम पानी पर्ने, जाडो याममा वायु प्रदूषण बढी हुनेगर्छ । त्यसैमा थप यो वर्ष मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन र सडक विस्तारले गर्दा धुलोको मात्रा झनै वृद्धी भएको छ । 

वातावरण मन्त्रालयले १० वर्षअघि गरेको अध्ययनअनुसार काठमाडौँको वायु प्रदूषणको प्रमुख स्रोत यहाँको यातायात प्रणालीसँग सम्बन्धित छ । सो अध्ययनअनुसार काठमाडौँमा करिब ३८ प्रतिशत वायु प्रदूषण गाडीको धुवाँ, करिब २५ प्रतिशत सडकको धुलो, करिब १९ प्रतिशत फोहर कृषिजन्य अवशेष बाल्नाले र करिब ११ प्रतिशत इँट्टाभट्टाको कारण हुनेगर्छ । तर हाल सडकको धूलो प्रमुख कारक रहेको विभिन्न तथ्यांकमा उल्लेख छ । 

काठमाडौँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले सडकमा बढारेको धुलो तत्काल उठाउने, पाइप खनेको स्थानमा तत्काल अस्थायी पिच गर्ने, सबै घर वा गमलामा रुख रोप्नेलगायतका काम गर्न सके वायु प्रदूषणबाट तत्काल केही राहत हुने बताए   । 

उपत्यका महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले उपत्काका सडकको धुलो कम गर्न तत्काल कालोपत्रे गर्नुपर्ने बताउँदै गाडीको प्रदूषण जाँच गर्ने आवश्यक मेसिन नहुँदा त्यसमा अपेक्षाअनुसार काम गर्न नसकेको गुनासो गरे   । 

बैठकमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा दीपेन्द्ररमण सिंह, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक रामप्रसाद रेग्मी, एकीकृत विकासका लागि अन्तर्राष्ट्रिय केन्द्रका कार्यक्रम व्यवस्थापक अरनिकोकुमार पाण्डे, उद्योग मन्त्रालयका सहसचिव ऋषिराज कोइराला, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटा, काठमाडौँ महानगरपालिकाका निमित्त प्रमुख उत्तर रेग्मीलगायतले वायु प्रदूषण समाधानमा आ–आफ्ना निकायबाट गरेका कामको जानकारी गराउँदै वायु प्रदूषण समाधानका उपायका बारेमा सुझाव दिएका थिए । 

बैठकमा वातावरण विभागका महानिर्देशक दुर्गाप्रसाद दवाडीले सरकारका तर्फबाट उपत्यकाको वायु प्रदूषण नियन्त्रण सम्बन्धी विस्तृत कार्ययोजना प्रस्तुत गरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved