हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपति भन्छिन-उर्जाको विकास अपेक्षित भएन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 05, 2018 | 07:00:32 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा उर्जाको विकास अपेक्षित रुपमा हुन नसकेको बताएकी छन् । उर्जा उत्पादन सुरु भएको एक सय सात वर्षको इतिहासमा जम्मा ९ सय मेगावाट मात्र जलविद्युत उत्पादन भएको भन्दै राष्ट्रपति भण्डारीले सरकार, निजी क्षेत्र सबै एक भएर लाग्नु पर्ने बताएकी हुन् । 

शुक्रबार हिमालयन हाइड्रो एक्स्पो २०१८ को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले उर्जाको विकास नभएकाले समग्र मुलुकको विकास अपेक्षित हुन नसकेको बताएकी हुन् । नेपालमा उर्जा उत्पादन सुरु भएको १०७ बर्ष भएको स्मरण गरिंदै राष्ट्रपति भण्डारीले १०७ वटा बटन भएको स्विच  'क्लिक' गर्दै एक्स्पोको उद्घाटन गरेकी हुन। उनले पर्याप्त जलस्रोतको अधिकतम सदुपयोग गर्दै उर्जा विकासमा लाग्न सरकार तथा सम्बद्ध पक्षसँग आह्वान गरेकी छन् । हाइड्रो एक्स्पोले उर्जा विकासका लागि सहजीकरण गर्ने मार्ग पहिचान गरि समस्या समाधानमा योगदान पुग्ने राष्ट्रपतिको अपेक्षा छ ।

नेपालमा पहिलो पटक आयोजना भएको अन्तराष्ट्रियस्तरको हाइड्रो एक्स्पोलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले मुलुकको विकासको सूचक उर्जा खपत भए पनि अवस्था निराशाजनक भएको बताइन् । जलविद्युतको विकासमा बाधक बनेको प्रशासनिक र कानुनी प्रकृया सहज बनाउन उनले सरकारसँग आग्रह गरिन् । नवीकरणीय उर्जाको विकासलाई उत्तिकै प्राथमिकतामा राख्नु पर्ने बताएकी राणाले निजी क्षेत्र जलविद्युत विकासमा प्रतिबद्ध रहेको बताइकी थिइन् । 

नेपाल उद्योग परिसंघका अध्यक्ष हरीभक्त शर्माले देशमा अधिक मात्रामा रोजगारी श्रृजना गर्न उर्जा विकासलाई पहिलो प्राथमिकता दिनु पर्ने बताए । उर्जा विकासबाट तिब्र औधोगिकरण गरी विश्वमा उदाहरण प्रस्तुत गर्न सकिने उनको भनाई थियो । 

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रा लिको आयोजनामा हाइड्रो एक्स्पो सुरु भएको हो । एक्स्पोलाई सम्बोधनगर्दै इपानका अध्यक्ष गुरागाईले राजनितिक दल, सरकार र सम्बन्ध पक्षले उर्जा विकासमा प्रतिबद्धता जनाउनु पर्ने बताए । उर्जा विकासमा प्रयोग हुने प्रविधि दशकौं पुरानो हुनुले लागत धेरै हुने तथा नतिजा राम्रो नआउने गरेको इपान अध्ष्यक्ष गुरागाईको भनाई छ । लगानी, इन्जिनियरिङ र प्रविधिलाई एकै थलोमा ल्याउन हिमालयन हाइड्रो एक्स्पोको आयोजना गरिएको उनको भनाई छ।  


अन्तर्राष्ट्रिय बजारमा प्रचलनमा रहेका आधुनिक प्रविधिलाई नेपालमा भित्र्याउनका लागि हाइड्रो एक्स्पोको आयोजना गरिएको उनको भनाई छ । यसले विभिन्न मुलुकसँग उर्जा उत्पादनका नयाँ प्रविधिको ज्ञान लिने अवसर श्रृजना गर्दै उर्जा विकासमा महत्वपुर्ण योगदान पुग्ने उनको भनाई छ । 

पुस २१ गते देखि २३ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने हाइड्रो एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक÷वित्त कम्पनीहरु लगायत झण्डै सय वटा भन्दा बढी स्टल रहेका छन् । जसमध्ये पचास प्रतिशत स्टल विदेशी कम्पनीहरुको छ ।

एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरुको सहभागिता छ । 

विशेष गरी CMC Italy , VOITH- Germany, CRYSTAL - India, FLOVEL-India, VAPTECH- Bulgaria, MAVEL- Czech Republic , BFL-India, Powerchina – China, CSEC – China जस्ता बहुर्राष्ट्रिय कम्पनी पनि एक्स्पोमा सहभागी छन् । 

७ वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने नेपाल सरकारको लक्ष्यलाई यो मेलाले विशेष सहयोग पुरयाउने एक्स्पोको आयोजक एक्स्पो एण्ड इभेण्ट म्यानेजमेण्ट सर्भिसेज प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए । सबै नेपाली एक भएर जुटेको खण्डमा कम लागतमा अधिक उर्जा उत्पादन सम्भव रहेको उनको भनाई छ ।

एक्स्पो अवधीमा हाइड्रो पावरका मुख्य मुख्य विषयमा सेमिनार समेत संचालन गरिएको छ । पहिलो दिन पुष २१ गते हाइड्रो टनेलिङ, दोस्रो दिन पुष २२ गते बैंकिंग तथा इन्स्योरेन्स र अन्तिम दिन पुष २३ गते हाइड्रो पावर सम्बन्धि सेमिनारहरु संचालन हुनेछन् । एक्स्पो अवधिभर दैनिक रुपमा फरक फरक बिषयमा ६ वटा भन्दा  बढी सेमिनार संचालन गरिने छ।

यसै गरी हाइड्रो पावरको विकास र विस्तारमा सहयोग पुग्नेगरी हाइड्रो पावर सम्बन्धी नयाँ अवधारणा बारे विद्यार्थीहरु एवं व्यक्तिगत तवरवाट आविष्कार भएका वस्तु तथा सेवा बिच प्रतिस्पर्धा समेत हुँदैछ । यस क्षेत्रसँग सम्बन्धित नयाँ वस्तु तथा अवधारणा विकास गर्नेहरु मध्येबाट उत्कृष्ट छनोट गरी पुरस्कृत समेत गरिने छ । 

उक्त प्रतियोगितामा प्रथम हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँ पचपन्न पैसा तथा द्वितीय र तृतीय हुनेलाई क्रमश २२ हजार २२२ रुपैयाँ २२ पैसा र ११ हजार १११ रुपैयाँ ११ पैसा नगद पुरस्कार प्रदान गरिने छ ।

एक्सपोलाई नेपाल सरकार राष्ट्रिय योजना आयोग, उर्जा मन्त्रालय, जनसंख्या तथा वातावरण मन्त्रालयको संरक्षकत्व रहेको छ । नेपाल विद्युत प्राधिकरण, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसन्स, युथ कम्युनिटी फर नेपलिज कन्ट्राक्टर्सले एक्स्पोलाई सहयोग गरेका छन् ।

नेपाल टनेलिङ एसोसिएशन, नेपाल जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज, नेपाल–भारत उद्योग बाणिज्य संध, नेपाल युरोपियन चेम्वर अफ कर्मश एवं स्वदेशी तथा विदेशी कम्पनीहरुको पनि एक्स्पोलाई सहयोग रहेको छ । एक्स्पोको प्लाटिनियम प्रायोजक इटलीको सिएमसी दी रभेन्ना कम्पनीले गर्ने भएको छ । अफिसियल पार्टनरको रुपमा होटल अन्नपूर्ण, नेपाल सिपिङ एण्ड एयर लजिस्टिक प्रा ली र एनएमबि बैंक लिमिटेड रहेका छन् ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved