सोमबारको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख नियुक्त गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 07, 2018 | 01:01:23 PM मा प्रकाशित

laxmi  sunrise bank

कानुनमन्त्री यज्ञबहादुर थापाले भोली (सोमबार) बस्ने मन्त्रीपरिषदको बैठकले प्रदेश प्रमुख नियुक्ति गर्ने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री थापाले प्रदेश प्रमुखको अपरिहार्यता सबै दलले बुझिसकेकाले सरकारले योग्य व्यक्तिलाई प्रमुखमा नियुक्ति गर्ने बताए ।

केही दिनअघिसम्म यो सरकारले प्रदेश प्रमुख तोक्न पाउँदैन, तोक्यो भने सपथ खादैनौँ भनेर खबरदार गरेका वाम गठबन्धनका नेताहरु नै अहिले छिटो प्रदेश प्रमुख तोक्नुपर्यो भनेर दबाब दिइरहेको थापाले उल्लेख गरे । मन्त्री थापाले पछिल्ला दिनमा सरकारले लिएका सबै अडान सही प्रमाणित भएको दाबी समेत गरे । कार्यक्रममा बोल्दै मन्त्री थापाले पूर्व प्रशासक, विज्ञ, उच्च पदमा काम गरेर अनुभव लिएका सेवा निवृत्त धेरै व्यक्तिहरुको बारेमा प्रदेश प्रमुख तोक्नका लागि सरकारले गृहकार्य गरिरहेको बताए ।

प्रदेश प्रमुख तोक्दा अब आउने सरकारले पनि निरन्तरता दिन व्यक्ति छानिने मन्त्री थापाले बताए । वाम गठबन्धनका नेताहरुसँग छलफल गरेर निर्णय गछौँ । अहिलेको सरकारले तोकेको प्रमखहरु अब बन्ने नयाँ सरकारले फेरबदल गर्ने चेतावनी दिइरहेका बेला मन्त्री थापाले सबैलाई पाच्य हुने व्यक्तिलाई नियुक्ति गरिने दाबी गरे ।

प्रदेश प्रमुख सोमबार तोक्ने जानकारी दिएका मन्त्री थापाले प्रदेशको अस्थायी राजधानी भने नतोकिने स्पष्ट पारेका छन् । कुनै पनि सरकार वा निकायलाई अस्थायी राजधानी तोक्ने अधिकार नभएको थापाको जिकिर छ ।

संचारमाध्यम, जनता, ठूला नेता तथा कानुनविदहरुलेसमेत अस्थायी राजधानीको कुरा गरेको देखेर आफू आश्चर्यमा परेको मन्त्री थापाको भनाई थियो । “संविधानले कसैलाई पनि अस्थायी राजधानी तोक्ने अधिकार दिएको छैन । यो सरकारलाई पनि त्यो अधिकार छैन । अब आउने सरकारलाई पनि छैन ।” मन्त्री थापाले भने । “संविधानको धारा २८८ को उपधारा ख मा प्रदेशसभाको दुई तिहाई बहुमतले राजधानी छनौट गर्ने व्यवस्था छ । सोही धाराको उपधारा ग मा प्रदेशसभाले राजधानी नछानेसम्मका कार्यसम्पादनका लागि सरकारले सभा बस्ने ठाउँ निर्धारण गर्न सक्छ । तर कुनै पनि ठाउँलाई अस्थायी राजधानी भनेर तोक्न पाउँदैन ।”

उपधारा ३ मा टेकेर सभा बस्ने ठाउँ तोक्नका लागि सर्बदलीय बैठकमा सहमति खोज्ने प्रयास सरकारले गरे पनि सहमतिका लागि अन्य दलले चासो नदिएको थापाले आरोप लगाए ।

“वाम गठबन्धनका नेताहरुले तँ गर हामी हेरौँला भनेर बसेका छन् । तर हामी व्यवस्थापनका लागि मध्यमार्गी बाटो खोजिरहेका छौँ ।” थापाले भने । “प्रदेशको राजधानीको विषयलाई लिएर जनता आन्दोलनमा छन् । हामी गम्भीर भएर सपथ खाने ठाउँ तोक्छौँ । यो सरकार संविधानभन्दा बाहिर गएर केही काम पनि गर्दैन ।” थापाले भने । “प्रदेश प्रमुख जङ्गल वा अन्तरिक्षमा गएर त बस्दैनन् । हामीलाई हेक्का छ ।”

प्रदेशसभाका सदस्यहरुलाई काठमाण्डौमा नै सपथ खुवाउने विषयमा छलफल भइरहेको उनको भनाई थियो ।
सबै संवैधानिक प्रक्रिया पूरा गरेर अहिलेको सरकार बाहिरिने थापाले स्पष्ट पारेका छन् । “सबै प्रक्रिया पूरा गर्दा फागुनको पहिलो हप्तासम्म काम सकिन्छ । त्यसपछि हामी घर जान्छौँ ।” मन्त्री थापाले भने ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved