गोविन्द केसीका विषयमा सर्वोच्च अदालतले आफ्नो निर्णय पूर्नविचार गरोस् : खाँण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 09, 2018 | 02:19:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेसका नेता एवम् पूर्व रक्षामन्त्री बालकृष्ण खाँणले सरकारले चाँडै प्रदेश प्रमुख नियुक्त गर्नेगरि आन्तरिक गृहकार्य सुरु गरिसकेको स्पष्ट पारेका छन्।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा खाँणले भने,‘सरकारले प्रदेश प्रमुख तोक्ने गृहकार्य सुरु गरिसकेको छ, धेरै अघि नै भैसक्थ्यो तर वाम गठबन्धनका नेताहरुले हामी यो सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुबाट सपथ नै खाँदैनौं भनेर भन्नुभएकोले ढिलाई भएको हो, अब फेरी हालै भएको प्रमुख दलहरुको बैठकमा उहाँहरुले यो काम त सरकारको हो भनेर जिम्मेवारी दिनुभयो, अब हामी प्रक्रिया अघि बढाउँछौं।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आफूहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्काल साझा व्यक्तित्व, समाज र देशको लागि योगदान पुर्याएका लब्धप्रतिष्ठित महानुभावहरुलाई नियुक्त गर्नुहोस् भनेर सुझाव दिएको पनि जनाए । उनले भने,‘नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु चाहीँ नियुक्त नगर्न हामीले सुझाव दिएका छौं, लब्धप्रतिष्ठित व्यक्तिलाई ल्याउँदा राम्रो निर्णय हुन्छ भनेका छौं, जनतालाई पनि यो सरकारले राम्रो मान्छेलाई ल्यायो भनेर छाप परोस् भन्ने हाम्रो सुझाव छ, सायद प्रधानमन्त्रीले चाँडै नै नियुक्त गर्नुहुन्छ।’

नेता खाँणले अस्थायी राजधानी तोक्ने तयारीमा समेत सरकार जुटिरहेको सुनाए । उनले थपे,‘प्रदेशको अस्थायी राजधानी तोक्नेगरि आन्तरिक गृहकार्य सुरु भैसकेको छ, हामीले त कामचलाउ मात्रै तोक्छौं, तर प्रदेशको राजधानी त प्रदेश सभाले मात्रै तोक्ने संवैधानिक प्रावधान छ, हामी पनि त्यही अनुसारको कामचलाउ राजधानी तोक्छौं, ताकि सपथग्रहण गर्न सजिलो होस्।’

यो निर्वाचनमा पार्टी हार्नुको कारणबारे तत्काल केन्द्रिय कार्यसमितिको बैठक आह्वान गरेर समिक्षा गरिने पनि उनको भनाई थियो । खाँणले थपे,‘पार्टीले निर्वाचनमा पराजय भोग्नु भनेको यो सबैको जवाफदेहिताभित्र पर्छ, हाम्रो पार्टी सामुहिक जिम्मेवारीले चलेको छ, कि त अब अध्यक्षतात्मक विधान (प्रिसिडेन्सियल फर्म) मा जाने कि कुन स्वरुपमा लिएर जाने भन्नेबारे बहस छ, केन्द्रिय समितिको बैठकमा निर्वाचनको परिणाम र राष्ट्रिय राजनीतिको बारेमा बहस हुन्छ, समिक्षा गर्छौं र उचित निर्णय लिन्छौं।’ त्यस्तै उनले महासमिति बैठक बोलाउन पनि तयारी भैरहेको जानकारी दिए ।

नेताहरुवीच पछिल्लो समय देखिएका मतमतान्तरको पनि उचित व्यवस्थापन गरिने खाँणले विश्वास दिलाए । उनले भने,‘सबै खाले चूनौतिहरु सामना गर्नको लागि एकता र अनुशासन दुवै आवश्यक छ, कांग्रेसले अब गम्भिर निचोड निकाल्छ, पार्टीलाई पूर्ववतः अवस्थामा शक्तिशाली पार्टी बनाउनेगरि रिफर्म गर्नुपर्छ, देशभरिका नेता तथा कार्यकर्तालाई एकजुट बनाएर अघि बढ्नुपर्छ, संगठनहरु बलियो, चुस्त, दुरुस्त बनाउनुपर्छ, हाम्रो ध्यान अहिले यतातिर छ।’

खाँणले नयाँ पुस्ताका साथीहरुको जोश, जाँगर र क्रान्तिकारितालाई सम्मान गर्दै अघि बढ्ने जोड दिँदै भने,‘पुस्ताको झगडा हुनुहुँदैन्, हाम्रो पार्टीभित्र चार पुस्ता छ, ०१७ साल, ०३६ साल, ०४६ साल र ०६२ सालगरि चार पुस्ताका साथीहरु छौं, सबैलाई उचित जिम्मेवारी दिने र सबैको साथ र सहयोगले पार्टीलाई बलियो बनाउने वातावरण बनाउनुपर्छ।’

उनले सरकार, प्रधानमन्त्री देउवा वा निर्वाचन आयोगको कारणले नयाँ सरकार गठनमा ढिलाई नभएको पनि स्पष्ट पारे । खाँणले थपे,‘हामी चाँडोभन्दा चाँडो नयाँ सरकार गठन होस् भन्ने चाहाना राख्छौं, तर हाम्रोमात्रै चाहानाले केही हुँदैन्, संवैधानिक प्रावधान अनुसार चल्नुपर्छ।’ उनले सरकार संविधानको आधारमा सरकार निर्माण हुने जिकिर गर्दै भने,‘निर्वाचन सम्पन्न भएको छ, प्रतिनिधि सभामा वाम गठबन्धनले सफलता प्राप्त गरेको छ, निर्वाचनमा झैं उहाँहरु मिल्नुभयो भने वाम गठबन्धनको सरकार बन्छ, सरकार निर्माणमा हाम्रो सहयोग रहन्छ।’

राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएपछि निर्वाचनको एउटा चक्र पूरा हुने उल्लेख गर्दै नेता खाँणले थपे,‘हामी सबैले मिलेर नै यो संविधान बनाएका हौं, त्यसैले प्रतिनिधि सभाले पूर्णता पाउन राष्ट्रिय सभाको निर्वाचन हुनुपर्छ, यो कुरा सबैले बुझ्नुपर्छ।’

त्यस्तै उनले डाक्टर गोविन्द केसीलाई आफूहरुले सम्मान गर्ने बताउँदै भने,‘उहाँप्रति हाम्रो सम्मान, आदर मान छ, सर्वोच्च अदालतले आफ्नो निर्णय पूर्नविचार गरोस्, तर न्यायलयप्रति पनि हाम्रो सम्मान छ।’ डाक्टर केसीले जनजीवनसम्बन्धी खासगरी स्वास्थ्य र शिक्षासम्बन्धी महत्वपूर्ण मुद्दाहरुको उठान गरेको उनको भनाई थियो । उनले भने,‘उहाँका जायज विचारलाई राज्यले सम्बोधन गर्नुपर्छ।’

पछिल्लो समय अदालत र केसीवीच भएको घट्ना दुःखदायी रहेको पनि उनले सुनाए । उनले थपे,‘अदालत र केसी दुवैप्रति हाम्रो सम्मान छ, चाँडै समस्या समाधान गर्न पाईयोस्, हाम्रो कामना यही छ।’ उनले न्यायलय अभिन्न अंग भएको उल्लेख गर्दै भने,‘कमीकमजोरी होलान तर कसैले सडकमा आएर स्टण्ट् पैदा गर्नेगरि बोल्नुहुँदैन्, न्यायलय निश्पक्ष हुन्छ, पद्धतीको रक्षा गर्ने थलो हो, न्यायलयका प्रमुखहरुले आँफै गर्नुहुन्छ, न्यायलयप्रतिको विश्वास घटेर जान दिनुहुँदैन्, तर न्यायलयको विरुद्धमा हल्का फुल्का टिप्पणी गर्नु राम्रो हुँदैन्।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved