के के भयो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 18, 2018 | 03:27:17 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसको नेतृत्वमा निर्माण भएको संविधान कार्यान्वयनको एउटा महत्वपूर्ण चरण काँग्रेसकै नेतृत्वमा पूरा भएको बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको पार्टी केन्द्रीय कार्यसमिति बैठकको प्रारम्भमा उहाँले संविधान निर्माणपछि तराई मधेशमा उत्पन्न समस्यालाई समाधान गरी निर्वाचन प्रक्रियामा सबैलाई सहभागी गराउनसक्नु काँग्रेसको सफलता हो भन्नुभयो ।

बैठकमा उहाँले लामो संक्रमणकाल अन्त्य गर्न प्राप्त सफलताका लागि सभापतिको हैसियतले सम्पूर्ण नेता कार्यकर्तामा बधाई ज्ञापन गर्नुभएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

सभापति देउवाले बैठकमा हालै सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको परिणाम काँग्रेस अनुकूल आउन नसकेका कारणबारेमा व्यापक छलफल र अन्तक्र्रिया गर्न जरुरी रहेको बताउनुभएको थियो ।

“निकट भविष्यमा पार्टीको महासमिति बैठक बस्नेछ, राज्यको पुनःसंरचनाअनुसार पार्टीको विधानमा संशोधनका साथै पार्टीको आगामी रणनीति तय गर्न उक्त बैठकले दिशानिर्देश गर्नेछ, पार्टीका सबै तह र भ्रातृ एवं शुभेच्छुक संस्थासमेतमा नवीन रक्तसञ्चार गर्न केही नयाँ योजना र कार्यक्रमका साथ अघि बढ्ने छौँ”, प्रधानमन्त्री देउवाको सम्बोधनलाई उद्धृत गर्दै प्रवक्ता शर्माले भन्नुभयो ।

माघ २४ गते निर्धारित राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी दर्ता माघ १० गते हुन लागेको सन्दर्भमा तत्कालै उम्मेदवारी चयन र निर्वाचनको तयारीमा बैठक केन्द्रित हुनुपर्ने बताउँदै प्रधानमन्त्री एवं सभापति देउवाले तत्काल केहीदिनमै केन्द्रीय कार्यसमितिको अर्को बैठक बोलाई पुनः लामो छलफल र बहस गरिने जानकारी गराउनुभएको थियो ।

बैठकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टीको पराजयका बारेमा अर्को बैठकमा विस्तृत समीक्षा गर्नुपर्ने बताउँदै राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन, अन्य दलसँगको सहकार्य, आसन्न निर्वाचनमा पार्टीका उम्मेदवार र मतदातालाई प्रशिक्षण दिनुपर्नेलगायत विषयमा धारणा राख्नुभएको थियो ।

बैठकमा पार्टी नेताहरु विमलेन्द्र निधि, चन्द्र भण्डारी, दीपक गिरी, शंकर भण्डारी, कल्याण गुरुङलगायतले निर्वाचनमा पार्टीको पराजयका कारणबारे समीक्षा र राष्ट्रियसभा निर्वाचनमा पार्टीको तयारीबारे धारणा राख्दै पार्टीको रुपान्तरण आवश्यक रहेकामा जोड दिनुभएको थियो ।

मधेशी जनाधिकार फोरम लोकतान्त्रिक काँग्रेसमा समाहित भएपछि सो पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदार आज पहिलोपटक काँग्रेस केन्द्रीय समिति बैठकमा विशेष आमन्त्रित सदस्यका रुपमा सहभागी हुनुहुन्छ । पार्टीको आगामी बैठकले महासमितिको बैठकको मिति तय गर्ने प्रवक्ता शर्माले बताउनुभयो । रासस

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved