४ निर्णय गर्दै एकता संयोजन समितिको बैठक सम्पन्न, अध्यक्षबारे अझै कुरा मिलेन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 21, 2018 | 04:09:36 PM मा प्रकाशित

laxmi  sunrise bank
एमाले र माओबादी केन्द्रको पार्टी एकता संयाेजन समितिकाे बैठक सम्पन्न भएको छ ।  एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सम्पन्न बैठकले ४ महत्वपूर्ण निर्णय गरेको छ ।

बैठकले प्रदेश सरकार गठन र राष्ट्रिय सभा निर्वाचनका लागि गठित कार्यदलकाे रिपाेर्ट अनुमाेदन गर्ने निर्णय गरेको छ। त्यस्तै बैठकले साझा चुनावी घाेषणा पत्रमा उल्लेखित विकास र समृद्धिकाे एजेण्डाकाे कार्यान्वयनका लागि गृहकार्य गर्न नयाँ कार्यदल गठन गरेको छ। 

जसले चुनाव अगाडि एमाले र माओवादी केन्द्रलगायतका वामपन्थी पार्टीले बनाएको साझा घोषणापत्रलाई आधार मानि समाजवाद उन्मुख राज्यव्यवस्था निर्माणका लागि दिशाबोध गर्ने ठोस कार्यकम बनाउने जिम्मेवारी दिइएको छ ।

त्यस्तै, पार्टी एकतापछिको एकीकृत पार्टीको संगठनात्मक दाँचाका कस्ता हुन भन्ने बारेमा पनि आज छलफल भएको छ । दुई पार्टीले यसअघिका बैठकमा प्रस्ताव गरेका विभिन्न मोडालिटीमा छलफल भएको बताइएको छ । तर यस विषयमा अन्तिम टुंगो लागिसकेको छैन । दुबै पार्टीमा आन्तरिक छलफल र थप गृहकार्यपछि संयुक्त कार्यदलले तयार पारेको मोडालिटीमा संयोजन समितिले थप छलफल गर्ने र टुंग्याउने विषयमा पनि आज सहमति भएको बताइएको छ ।

एकतापछिको पार्टीका अध्यक्ष को हुने भन्ने विषयमा आज पनि छलफल भएको तर यसमा कुनै प्रगति नभएको बताइएको छ । दुबै अध्यक्ष कार्यकारी अध्यक्ष रहने, ओली प्रधानमन्त्री भए प्रचण्ड पार्टी अध्यक्ष हुनेलगायतका नेतृत्वको मोडलमा पनि छलफल भएको बताइएको छ ।

तर कुनैपनि मोडलमा अहिलेसम्म सहमति भने नभएको अवस्था छ । एकदुई दिनमै फेरि ओली र प्रचण्डबीच वार्ता हुने बताइएको छ । भने ओली र प्रचण्डबीचको छलफल पछि फेरि छिटै एकता संयोजन समितिको बैठक बस्ने छ ।

बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको थियो । बैठकमा एमालेबाट अध्यक्ष ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र महासचिव ईश्वर पोखरेल सहभागी थिए भने माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, नेता रामबहादुर थापा ‘बादल’ र नारायणकाजी श्रेष्ठ सहभागी थिए ।

एमाले नेता बामदेव गौतमको संयोजकत्वमा सात सदस्यी कार्यदल गठन भएको हो ।कार्यदलमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, भिम रावल, विजय पौडेल, युवराज खतिवडा र मिन बहादुर श्रेष्ठ रहेका छन्। बैठकले अध्यक्षद्वयबीच जारी छलफललाई निष्कर्षमा पुर्‍याएर वैचारिक र सांगठानिक कार्यदल बनाउने निर्णय समेत गरेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved